नेपाल पत्रकार महासंघका निवर्तमान कोषाध्यक्ष कलेन्द्र सेजुवालले जुम्लामा पत्रकारहरूको एकताले आफूलाई प्रभावित पारेको बताए।
नेपाल प्रेस यूनियनको ३४औं स्थापना दिवसको अवसरमा जुम्ला शाखाले पत्रकारहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै विशेष स्वास्थ्य जाँच तथा मनोपरामर्श कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित यो कार्यक्रमले पत्रकारहरूको कल्याणमा नयाँ आयाम थपेको छ।
कार्यक्रममा जुम्लाका २० जना पत्रकारहरूले स्वास्थ्य जाँच गराए, जसमा १७ पुरुष र ३ महिला सहभागी थिए। सबैको रक्तचाप र सुगरको जाँच गरिएको थियो, र परिणाम सामान्य देखिएको छ।
साथै, मनोपरामर्शदाता नन्दराज आचार्यले पत्रकारहरूलाई तनाव व्यवस्थापनको महत्त्वबारे प्रशिक्षण दिए। उनले समाचार संकलन र रिपोर्टिङका क्रममा उत्पन्न हुने मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरे।
प्रेस यूनियन जुम्लाका अध्यक्ष प्रकाश उपाध्यायले पत्रकारहरूले विभिन्न विषयमा तनावको सामना गर्नुपर्ने भएकाले यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए। “हामीले स्थापना दिवसलाई समयसापेक्ष र अत्यावश्यक विषयमा केन्द्रित गरेर पत्रकारहरूको हितमा काम गरेका छौं,” उनले भने।
नेपाल पत्रकार महासंघका निवर्तमान कोषाध्यक्ष कलेन्द्र सेजुवालले जुम्लामा पत्रकारहरूको एकताले आफूलाई प्रभावित पारेको बताए। “संगठनात्मक विचारभन्दा माथि उठेर पत्रकारहरूको हितमा गरिएको यो कार्य प्रशंसनीय छ,” उनले भने।
उनले मनोपरामर्श सेवामार्फत पत्रकारहरूको मानसिक स्वास्थ्यमा ध्यान दिएकोमा प्रेस यूनियनलाई धन्यवाद दिए।
त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले पत्रकारहरूको हितका लागि संगठनहरूबीचको एकता अपरिहार्य रहेको जोड दिए। “विचार फरक भए पनि पत्रकारहरूको कल्याणका लागि सधैं एकजुट हुनुपर्छ,” उनले भने।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष मानदत्त रावल, प्रेस यूनियन जुम्लाका संस्थापक अध्यक्ष हंशराज न्यौपाने र पत्रकार महासंघका सल्लाहकार महेश नेपालीले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै पत्रकारहरूको स्वास्थ्य र मनोबल वृद्धिका लागि यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारे।