शुक्रबार, २१ कार्तिक, २०८२

जन्मदिनको अवसरमा गौरव शाहीको प्रेरणादायी कदम, अनाथ बालबालिकासँग बाँडे खुशी र सपना

शिक्षा केवल किताब पढ्नु होइन, यो जीवन बुझ्ने, सपना देख्ने र तिनलाई साकार गर्ने साहस हो। तपाईंहरूले पाएको यो सानो सहयोग मेरो तर्फबाट विश्वासको उपहार हो।

जुम्लाको हिमा गाउँपालिका–१ का गौरव कुमार शाहीले आफ्नो ३३औँ जन्मदिनलाई स्मरणीय बनाए। यो वर्ष उनले आफ्नो विशेष दिनलाई भव्य पार्टी वा फजुल खर्चमा होइन, बरु हिमा आवासीय विद्यालयका अनाथ बालबालिकासँग बाँडेर नयाँ अर्थ दिए।

जुम्ला जिल्लाभरिका अनाथ बालबालिकाहरू अध्ययन गर्ने यो विद्यालयमा गौरवले ६५ जना विद्यार्थी, आठ शिक्षक र कर्मचारीलाई पोषाक वितरण गरे। साथै, उनीहरूसँगै बसेर केक काट्दै हाँसो र खुशी साटे।

सुर्य लाइफ इन्स्योरेन्सका चिफ एजेन्सि म्यानेजर तथा प्रडक्ट एम्वेष्डर शाही रूपमा कार्यरत गौरवको बाल्यकाल हिमामै बितेको थियो। व्यस्त जीवनशैली र जिल्लाबाहिरको बसाइले उनलाई जुम्लामा धेरै समय बिताउने अवसर कमै मिल्छ।

तर, आफ्नो गृहजिल्लाप्रतिको माया र सामाजिक उत्तरदायित्वले उनलाई सधैँ तानिरहन्छ। बेलाबखत गाउँ फर्केर स्थानीय गतिविधि बुझ्ने र सहयोगको हात बढाउने उनको बानी छ।

यो जन्मदिनलाई उनले समाजसेवाको भावनाले रंगाए। हिमाको दुर्गम बस्तीमा रहेको अनाथ बालबालिकाको विद्यालयमा उनले सहयोगको सानो तर अर्थपूर्ण कदम चाले।

यो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। उनले जन्मदिन, विवाह, व्रतबन्धजस्ता अवसरमा हुने अनावश्यक खर्चलाई कटौती गरी असहाय र कमजोर वर्गको जीवनमा उज्यालो ल्याउनुपर्ने सन्देश दिए।

गौरवले विद्यार्थीहरूसँग भावुक हुँदै भने, “म पनि यही माटोको सन्तान हुँ। मेरो जन्मदिनमा तपाईंहरूजस्ता उज्याला सपना बोकेका बालबालिकासँग समय बिताउन पाउँदा यो दिन विशेष भएको छ।”

उनले थपे, “शिक्षा केवल किताब पढ्नु होइन, यो जीवन बुझ्ने, सपना देख्ने र तिनलाई साकार गर्ने साहस हो। तपाईंहरूले पाएको यो सानो सहयोग मेरो तर्फबाट विश्वासको उपहार हो।”

उनले विद्यार्थीहरूलाई प्रेरित गर्दै भने, “अभावमा हुर्के पनि शिक्षा र आत्मबलले तपाईंहरू सच्चा नायक बन्न सक्नुहुन्छ। एउटा कलमले भविष्य कोर्न सक्छ, एउटा किताबले जीवन बदल्न सक्छ।”

उनले यो विशेष कार्यक्रमको श्रेय आफ्ना मित्र केशर शाहीलाई दिए, जसले जन्मदिनलाई गाउँकै विद्यालयमा मनाउने सुझाव दिएका थिए। गौरवले भने, “मैले विगतमा चर्चित कलाकार राजेश हमालको उपस्थितिमा पनि जन्मदिन मनाएँ, तर त्यो खुशी आजको तुलनामा फिक्का थियो। साँचो सुख त अरूको अनुहारमा मुस्कान ल्याउनुमा रहेछ।”

उनको पहलले अनाथ बालबालिकाहरूलाई मात्र होइन, समाजका अन्य व्यक्तिहरूलाई पनि आफ्ना सुखद क्षणहरूलाई अर्थपूर्ण बनाउन प्रेरित गरेको छ। गौरवको यो कार्यले उनलाई साँचो अर्थमा समाजको नायक बनाएको छ।

गौरवले भने, “मलाई उपहार पाउनु सुख होइन, उपहार दिएर अरूको जीवनमा उज्यालो ल्याउनु साँचो सुख हो।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार