जुम्लाको गुठिचौर गाउँपालिका-१, मणि गाउँका ३५ वर्षीय भिमबहादुर बोहोराको यार्सागुम्बा संकलनका लागि डोल्पा पाटन पुगेका बेला लेक लागेर दुखद निधन भएको छ।
घटना गत जेठ ७ गते दिउँसो २ बजे डोल्पाको जगदुल्ला गाउँपालिका-१, जगदुल्ला मध्यवर्ती पाटन क्षेत्रमा भएको हो। यार्सागुम्बा संकलनका क्रममा बोहोरालाई अचानक लेक लाग्यो।
उनलाई सामान्य बिरामी अवस्थामा उपचारका लागि गाउँ फर्काउने प्रयास गरिए पनि बाटोमै उनको निधन भएको गुठिचौर अस्थायी प्रहरी चौकीका प्रहरी निरीक्षक रसाइलीले बताए।
“बोहोरालाई उनका साथीहरूले तत्काल उद्धार गरी घरतर्फ ल्याउँदै थिए, तर बाटोमै उनको ज्यान गयो,” प्रहरी निरीक्षक रसाइलीले भने।
उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संकलनको जोखिम र स्वास्थ्य सुरक्षाको अभावले यस्ता दुखद घटना दोहोरिने गरेको स्थानीयले बताएका छन्।