अझ उल्लेखनीय कुरा, यहाँ दलित महिला पुजारीको भूमिकामा हुनुहुन्छ। जुन नेपाली समाजमा सामाजिक समावेशिता र समानता स्थापनाको दृष्टिकोणले प्रेरणादायी उदाहरण हो।
घोराही उपमहानगरपालिका–१८ मा अवस्थित नागेश्वर महादेव पार्वती मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, यो क्षेत्रको पर्यटकीय, सांस्कृतिक र सामाजिक समृद्धिको सम्भावना बोकेको स्थल पनि हो। वनको काखमा रहेको यो मन्दिरको सौन्दर्य, हावापानीको हिसाबले पनि अत्यन्त अनुकूल छ।
अझ उल्लेखनीय कुरा, यहाँ दलित महिला पुजारीको भूमिकामा हुनुहुन्छ। जुन नेपाली समाजमा सामाजिक समावेशिता र समानता स्थापनाको दृष्टिकोणले प्रेरणादायी उदाहरण हो। हाल मन्दिरको सर्वाङ्गीण विकासका लागि जेठ १३ गतेसम्म सञ्चालन हुने महायज्ञले यो क्षेत्रको समग्र रूपान्तरणको थालनी गर्ने अपेक्षा गरिएको छ।
तर, महायज्ञलाई सफल बनाउन धार्मिक क्रियाकलापमा मात्र सीमित नरही सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य छ।
सर्वप्रथम, स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुन्छ। यो मन्दिर केही व्यक्तिको सम्पत्ति नभएर सम्पूर्ण समुदायको साझा सम्पदा हो। त्यसैले, स्थानीयवासीले महायज्ञको आयोजनामा भौतिक, आर्थिक र स्वयंसेवकका रूपमा सहभागी हुनुपर्छ।
सबै जातजाति, लिङ्ग र वर्गका व्यक्तिको सहकार्यले महायज्ञलाई सशक्त बनाउँछ, जसले सामाजिक एकता र ऐक्यबद्धतालाई पनि बलियो बनाउँछ। घोराही उपमहानगरपालिकाको जिम्मेवारी पनि उल्लेखनीय छ। नगरपालिकाले मन्दिरलाई स्थानीय पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सक्ने सम्भावना छ।
त्यसका लागि मन्दिरसम्मको बाटोको सुधार, सूचना बोर्डको स्थापना, पार्किङ, खानेपानी, शौचालय, बत्ती जस्ता आधारभूत पूर्वाधारको विकास आवश्यक छ। यस्ता संरचनाहरू महायज्ञको सन्दर्भमा मात्र नभई दीर्घकालीन फाइदाका लागि पनि अपरिहार्य छन्।
मिडिया र सामाजिक संस्थाहरूको साथ पनि महायज्ञलाई सफल बनाउन जरूरी छ। मिडियाले महायज्ञको उद्देश्य, महत्व र प्रभावबारे जनचेतना फैलाउन सक्छ भने सामाजिक संस्थाहरूले आर्थिक सहयोग, सांस्कृतिक कार्यक्रमको आयोजना र वातावरण संरक्षणमा योगदान दिन सक्छन्।
धार्मिक संस्था तथा धर्मगुरुहरूको योगदान पनि मूल्यवान् हुन्छ। उनीहरूले महायज्ञलाई शुद्ध, अनुशासित र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ। मन्दिर व्यवस्थापन समितिले पारदर्शी हिसाबकिताब राखी जनविश्वास जित्न सक्नुपर्छ।
नागेश्वर मन्दिरबाट प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी तीन घण्टाको दूरीमा छ। यदि यो मार्गलाई स्तरोन्नति गरियो भने दाङ र प्युठानलाई जोड्ने प्रमुख धार्मिक पर्यटकीय मार्ग बन्न सक्छ। यसले आर्थिक गतिविधि र रोजगारी सिर्जनामा पनि टेवा पुग्नेछ।
मन्दिरको विकास महायज्ञबाट मात्र सम्भव छैन, तर महायज्ञले चेतना, प्रतिबद्धता र सहकार्यको सूत्रपात गर्न सक्छ। समावेशी नेतृत्व, दिगो सोच र स्थानीय स्रोतहरूको सदुपयोगमार्फत नागेश्वर मन्दिर केवल धार्मिक स्थल नभई सामाजिक रूपान्तरणको केन्द्र बन्न सकोस्।
मसिना क्षेत्रले दशकौँदेखि घोराही बजारका लागि पिउने पानीको स्रोतका रूपमा योगदान दिइरहेको छ। अहिले पनि त्यो क्षेत्रबाट घोराही बजारमा पानी आपूर्ति भइरहेको छ। साथै, तरकारी पनि बजारमा उपलब्ध गराइरहेको छ।
तसर्थ, चौतर्फी योगदान दिइरहेको मसिनास्थित नागेश्वर महादेव पार्वती मन्दिरको विकासका लागि हुन गइरहेको महायज्ञमा सिङ्गो घोराही र दाङको सहभागिता आवश्यक छ। महायज्ञको सफलताको शुभकामना।