मंगलवार, ३ असार, २०८२

सुर्खेतकी विनिता बस्नेत कर्णाली प्रदेश छोरी सञ्जालको अध्यक्षमा सर्वसम्मत

प्रथम कर्णाली छोरी सम्मेलनले कर्णालीका छोरीहरूको सशक्तीकरण र उनीहरूका मुद्दालाई नीतिगत तहमा लैजान महत्त्वपूर्ण भूमिका खेलेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न प्रथम कर्णाली छोरी सम्मेलनले प्रदेशस्तरीय छोरी सञ्जाल गठन गरेको छ।

वैशाख २७ देखि २९ गतेसम्म श्री ज्योति फाउन्डेसनको आयोजनामा भएको यो सम्मेलनबाट सुर्खेतकी सामाजिक कार्यकर्ता विनिता बस्नेतलाई कर्णाली प्रदेश छोरी सञ्जालको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।

सम्मेलनले २१ सदस्यीय कार्यसमिति गठन गरेको छ, जसमा उपाध्यक्षमा प्रिन्सा बम, सचिवमा यमुना थापा मगर, सहसचिवमा सन्तोषी भग्री र कोषाध्यक्षमा रेजिना सिंह चयन भएका छन्।

कार्यसमितिका अन्य सदस्यहरूमा सुस्मा हमाल, स्माइल रेग्मी, लक्ष्मी बस्नेत, सपना शाही, जेनिसा बुढा, विपना खड्का, विनिता विश्वकर्मा, लोकसरा खड्का, धर्मा शाही, विन्दु कोमल राना, निशा पहराई मगर, लक्ष्मी खत्री, हिरा कुमारी, रोशनी रोकाया, दिपा डाँगी र स्मृति बोगटी रहेका छन्।

सम्मेलनमा कर्णालीका १० वटै जिल्लाबाट करिब २०० छोरीहरू सहभागी थिए। विशेषगरी राउटे, राजी, कसुण्डा, वादी र बोटे जस्ता लोपोन्मुख समुदायका छोरीहरूको उल्लेखनीय उपस्थितिले सम्मेलनको समावेशी स्वरूपलाई झल्काएको थियो। कर्णालीका ७९ स्थानीय तहका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए।

श्री ज्योति फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा छोरी सञ्जाल विस्तार गर्ने योजना रहेको बताइन्।

यी सञ्जालहरूले छोरीहरूको हक, अधिकार, शिक्षा, स्वास्थ्य, लैंगिक समानता र उनीहरूले भोग्ने समस्याहरू सम्बोधन गर्न सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।

“हाम्रो लक्ष्य कर्णालीका हरेक छोरीको आवाज बुलन्द गर्नु र उनीहरूको सशक्तीकरणमा योगदान पुर्‍याउनु हो,” कटुवालले भनिन्।

अध्यक्षमा चयन भएकी बस्नेत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छिन्। उनले लैंगिक समानता, महिला सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएकी छिन्।

छोरी सम्मेलनमा उनले प्रस्तुत गरेको सशक्त विचार र नेतृत्वले सहभागीहरूलाई प्रभावित गरेको थियो। “यो जिम्मेवारी मेरो लागि अवसर र चुनौती दुवै हो। कर्णालीका छोरीहरूको हकअधिकारका लागि सञ्जालमार्फत सशक्त पहल गर्नेछु,” विनिताले प्रतिबद्धता व्यक्त गरिन्।

प्रथम कर्णाली छोरी सम्मेलनले कर्णालीका छोरीहरूको सशक्तीकरण र उनीहरूका मुद्दालाई नीतिगत तहमा लैजान महत्त्वपूर्ण भूमिका खेलेको छ।

सम्मेलनले छोरीहरूको नेतृत्व विकास, सामाजिक चेतना अभिवृद्धि र लोपोन्मुख समुदायका मुद्दालाई समेटेर समावेशी मञ्च प्रदान गरेको आयोजकको भनाइ छ।

छोरी सञ्जालले कर्णालीका हरेक स्थानीय तहमा सञ्जाल विस्तार गरी छोरीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीका अवसर सिर्जनामा काम गर्ने योजना बनाएको छ।

साथै, लैंगिक हिंसा, बालविवाह र सामाजिक विभेदविरुद्ध सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार