उहाँमा अत्यन्तै समाज चिन्तन र राष्ट्रभक्तिको भावना थियो। भाषा र संस्कृतिको संरक्षणमा सधैं लागिपर्नुहुन्थ्यो। उहाँ प्रकृतिप्रेमी पनि हुनुहुन्थ्यो। नदी, नाला, रूख, चराचुरुङ्गी, फूल, माहुरी, पहाड, पर्वत देख्नासाथ गीत बनाउने, संकलन गर्ने वा गहिराइमा पुगेर सोधखोज गरी लेख, रचना र सृजनाहरू लेखी प्रकाशित गर्नुहुन्थ्यो।
वि.सं. १९९९ साल वैशाख १८ गते वैशाख पूर्णिमा, बुद्ध जयन्ती तथा धन्वन्तरी जयन्तीका दिन मु. रामशंकर उपाध्याय देवकोटाको कान्छो छोराको रूपमा साबिक चन्दननाथ गा.वि.स. हाल चन्दननाथ नगरपालिका वडा नं. १ तलिचौर गाउँमा जन्मनुभएका रत्नाकर देवकोटाको स्वर्गारोहण वि.सं. २०६५ साल पौष १४ गते शिक्षण अस्पताल, काठमाडौंमा उपचारका क्रममा भएको थियो। अन्त्येष्टि आर्यघाटमा भएको थियो। काजकिरिया भने दाङको घरमा सम्पन्न भएको थियो।
देवकोटाले स्थानीय ठाउँमै गुरुकुलबाट प्रारम्भिक शिक्षा आरम्भ गर्नुभयो र नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्दागर्दै वि.सं. २०२८ सालतिर राष्ट्रिय समाचार समितिमा अञ्चल समाचारदाताको रूपमा नियुक्त हुनुभयो।
उहाँमा अत्यन्तै समाज चिन्तन र राष्ट्रभक्तिको भावना थियो। भाषा र संस्कृतिको संरक्षणमा सधैं लागिपर्नुहुन्थ्यो। उहाँ प्रकृतिप्रेमी पनि हुनुहुन्थ्यो प्रकृतिप्रेमी पनि हुनुहुन्थ्यो। नदी, नाला, रूख, चराचुरुङ्गी, फूल, माहुरी, पहाड, पर्वत देख्नासाथ गीत बनाउने, संकलन गर्ने वा गहिराइमा पुगेर सोधखोज गरी लेख, रचना र सृजनाहरू लेखी प्रकाशित गर्नुहुन्थ्यो।
उहाँलाई उखान अत्यन्त मनपर्थ्यो। कहिलेकाहीं आमासँग ठाकठुक परे पनि आमा उखान र गीत हालेर बुवालाई सम्झाउने वा प्रतिवाद गर्नुहुन्थ्यो। जब आमाको मुखबाट उखान र लोकगीत सुन्नुहुन्थ्यो, उहाँ नरम भएर भन्नुहुन्थ्यो, “भन त, फेरि त्यो उखान र गीत। म लेखिहाल्छु।” आमाको मुखबाट निस्केका उखान र टुक्का संकलन गरी अन्ततः उहाँले जुम्लेली शब्द र उखान संग्रह, २०२७ र केन्द्रीय नेपाली भाषिकाका उखान र गाउँखाने कथा (पहिलो संस्करण, २०५८) प्रकाशन गर्नुभयो। यो कुरा उहाँले सन्दर्भग्रन्थ, लेख र स्रोतको सहयोगी स्रोतमा आमा रत्नावती देवकोटा र सानीआमा रत्नगर्भा देवकोटाको नाम उल्लेख गर्नुभएको छ।
प्राज्ञ रत्नाकर देवकोटाको म जेठो छोरा हुँ। उहाँ प्रत्येक पाइलामा कुनै न कुनै कुरा देख्नुहुन्थ्यो। यो कुरा मलाई राम्ररी थाहा छ। साँहिलो बुवाको घरमा अग्लो, ठूलो, लामा सिङ भएको चौँरे बल्ल नामको गोरु थियो। म सानै थिएँ। मैले सोधेँ, “किन चौँरे बल्ल नाम राखिएको होला?” उहाँले चौँरे गोरु, पुच्छर नभएको लिँडे गोरु र डाँस नामको गाईगोरुको ढाडमा बसेर तिनैको शरीरबाट जन्मेर तिनैको रगत खाने, माहुरीजस्तो देखिने डाँस नामको किराको कथा सुनाउन थाल्नुभयो।
कथाको सार यस्तो थियो: एउटा पुच्छर नभएको लिँडे गोरु र अर्को लामा सिङ भएको, झुप्प परेको लामो पुच्छर भएको गोरु हुन्छ। डाँस भन्ने किरालाई भोक लागेपछि तिनको ढाडमा बसेर रगत चुस्न मन लाग्छ। तिनैको शरीरबाट जन्मेकाले लिँडे गोरु र चौँरे गोरुलाई मामा भन्थ्यो।
एक दिन डाँसले लिँडे गोरुलाई भन्यो, “मामा, म तपाईंको ढाडमा आउँछु।” लिँडे गोरुलाई चिन्ता पर्यो, “मेरो ढाडमा बस्यो भने मेरो सबै रगत चुसेर सिध्याउँछ, अब अक्कल निकाल्नुपर्छ।” उसले भन्यो, “भान्ज, मसँग भएको भए केही दिन्थेँ, छैन, खाइजाऊ।” डाँसले यो तात्पर्य बुझेन र सोच्यो, “छैन भन्नेसँग के नै होला र, खान पाउँला।” त्यसपछि चौँरे गोरुकहाँ गएर भन्यो, “चौँरे मामा, म तपाईंको ढाडमा आउँछु है।”
चौँरेले कुरा बुझिहाल्यो र सोच्यो, “आज यो भान्जको रमिता देखाउनुपर्छ।” उसले भन्यो, “आऊ, आऊ भान्ज, मेरो ढाडमा। नभएको भए केही दिने थिइनँ, छ र खाइजाऊ।” डाँसले कुरा नबुझी सोच्यो, “यी मामा मनकारी रहेछन्, यिनको ढाडमा गएर रगत चुस्नुपर्छ।” चौँरे गोरुको ढाडमा बसेर रगत चुस्न लाग्दा चौँरेले होसियारीपूर्वक लामो मोटो पुच्छरले ढ्याप्प हान्यो। डाँस चोटले रन्थनिएर भुइँमा पछारियो।
चौँरे गोरुले भन्यो, “भान्ज, बल्ल थाहा पायौ होला चौँरे मामाको रगतको स्वाद।” डाँसले भन्यो, “मामा, तपाईंको रगत चुसेर अघाउने मेरो सपना पूरा भएन। लिँडे मामाको पुच्छर थिएन, उनको भनाइको भाव बुझ्न सकिनँ। लोभ र गिद्ध दृष्टि राख्दा आज मैले ज्यान गुमाएँ।” एकछिनमा डाँस फटफटाउँदै मर्यो। बुवाको मुखबाट सुनेको “भया ले दिन्या क्यै थी इन, नाइँ र खाइजा” भन्ने यो घतलाग्दो उखान र यसभित्रको मार्मिक कुरा बाल्यकालमा सुनेको थिएँ, अझै बिर्सेको छैन।
उहाँलाई मनपर्ने केही उखानहरू यहाँ प्रस्तुत गरेको छु:
१) कानौ न फुर्का, पेटौ न मुर्का
अर्थ: चुलाचौका रित्तो राखी बाबूसाहेब बनेर हिँड्ने। (उखान नं. ३७२)
२) काग आएर बिष्ट पार्छ, हाँस आएर पुलिक पार्छ
अर्थ: कागले शरीरमा बिष्टा/फोहोर पारेर जान्छ भने हाँसले बहुमूल्य मुगा विशेष बन्ने बिष्टा झारेर जान्छ। स्पष्ट भाषामा भन्दा सज्जन र दुर्जन व्यवहारबाट चिनिन्छन्। (उखान नं. ३३६)
उहाँका बारेमा विभिन्न विद्वान्हरूले सम्झेका केही क्षणहरू यसरी उल्लेख गरेको छु:
१. स्थानीय भाषिकाप्रतिको ममता
प्राज्ञ रत्नाकर देवकोटा नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगिसकेपछि डा. जीवेन्द्रदेव गिरीले उहाँसँगै यात्रा गरेका थिए। प्राज्ञ रत्नाकर देवकोटा स्मारिका २०६७ मा “मेरो स्मृतिमा रत्नाकर देवकोटा” शीर्षकमा गिरी लेख्छन्।
देवकोटाको जुम्लेली शब्द र उखान संग्रह, २०२७ अध्ययन गर्दा उहाँले जुम्ली भाषिकाका शब्द, टुक्का र उखानहरूको महत्त्वपूर्ण संकलन मात्र गरेका छैनन्, तिनलाई कतै जुम्ली र स्तरीय नेपालीमा तथा कतै स्तरीय नेपालीमा मात्र अर्थ्याउने काम पनि गरेका छन्। यसबाट गिरीले देवकोटाको स्थानीय भाषिकाप्रतिको ममता देखेर भित्रभित्रै खुसी भएको लेखेका छन्।
२. जुम्ली भाषिकामा सही उच्चारणप्रतिको संवेदनशीलता
जुम्ली भाषिकामा स्हः (स), ल्लः (ल), म्हः (म), घोडो जस्ता शब्दको उच्चारणले निकै महत्त्व राख्छ। यदि कोही झर्रो खस भाषा बोल्छ र जन्मदेखि जुम्लामा बसेर हुर्केको छ भने मात्र यी शब्दको सही उच्चारण गर्न जान्दछ। पूर्वेलीहरू स्हः को उच्चारण गर्न नजान्दा ‘ह’ उच्चारण गर्छन्। जस्तै: जुम्लीहरू श्हाः (शा) ला ज्यू भन्छन् भने पूर्वेलीहरू हाला भन्छन्। पूर्वेलीहरू घोरो भन्छन्, तर देवकोटा घोडो भन्नुहुन्थ्यो।
प्राज्ञ रत्नाकर देवकोटा स्मारिका २०६७ मा जीवेन्द्रदेव गिरीले सुनाएको एउटा कथा:
एकपटक काठमाडौंमा घरतिर जाँदै थियौं—केशवप्रसाद उपाध्याय, रमेश विकल, रत्नाकर देवकोटा र म। प्रसंगवश विकलले जुम्ली भाषिकामा सक्नुलाई हक्नु भनिन्छ भने। देवकोटाले प्रतिवाद गर्दै सही उच्चारण गर्न नसक्दा त्यसो भएको हो भन्नुभयो। स को ठाउँमा ह हुनै नसक्ने भन्दै उहाँ विकलसँग सहमत हुनै सकेनन्। मैले भेरी क्षेत्रीय नेपालीमा घोडोका निम्ति घोरो उच्चारण हुने कुरा झिकेँ। मैले पनि त्यसो भनेपछि उहाँ आफ्नो भाषिकाको अपमान सुन्न नसकेर गाडीबाट झर्न तयार हुनुभयो। पछि हामीले यो जुम्ली भाषिकाको अपमान नभई भाषिक विशेषताको कुरा मात्र भएको सम्झाएर उहाँलाई फकायौं। उहाँ गाडीबाट त ओर्लनुभएन, तर पूर्ण सन्तुष्ट पनि हुनुभएन।
यो घटनाले उहाँको आफ्नो भाषा र भाषिकाप्रति कति अगाध प्रेम थियो भन्ने देखाउँछ।
प्राज्ञ श्यामदास वैष्णवको भनाइ:
“जिउन्जेल कसले के काम गर्यो, सकारात्मक र नकारात्मक के परिणाम निस्कियो? यसको लेखाजोखा जिउनेहरूले गर्नैपर्छ।”
उहाँका अनुसार, रत्नाकर देवकोटा रेडियो नेपालको कार्यक्रममा आफ्नो विषय सुनाउन आउनुहुन्थ्यो। उहाँका विषय सांस्कृतिक हुन्थे। विशेषगरी “झल्काइदेऊ, झल्काइदेऊ” गीत गाउनुभएको म सम्झन्छु। कर्णाली अञ्चलको जुम्लाबारे खोज र अनुसन्धान प्रज्ञा प्रतिष्ठानले पछि गर्यो। ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भौगोलिक र आर्थिक खोजका ग्रन्थहरू श्री सत्यमोहन जोशीको संयोजकत्वमा प्रकाशित भए। तर, त्यसअघि जुम्लातिर ध्यान आकर्षित गराउनेमा अग्रज रत्नाकर देवकोटालाई नै पाउँछौं। (रत्नाकर श्री र राराताल, प्राज्ञ रत्नाकर देवकोटा स्मारिका २०६७, पृष्ठ ५/६)
देवकोटाले बारम्बार सुनाउने तीन लोकगीत:
कर्णाली कर्णालीतिर, भेरी भेरीतिर.
मु एक्लो डाँडाको मृग, क्वै नाइँ मेरातिर।
देवकोटा अत्यन्त मेहनती र परिश्रमी भए पनि राजनीतिक दाउपेचमा लाग्नुहुन्नथ्यो। जब कसैले साथ दिएन, पुरस्कार र प्रतिष्ठाको पछि लाग्ने र पाउने कुरै भएनI कर्णाली र भेरी नदी एकसाथ नबगेजस्तै, डाँडाको मृगलाई लखेट्ने गर्छन्, माया गर्दैनन्। त्यसैगरी, राज्य, सरकार र सम्बद्ध निकायले आफूलाई माया नगरेको भाव उहाँले व्यक्त गर्नुभएको छ।
वारीतिर सिमखोली, पारी छ न्यावोली
यसैगरी फेरि फेरि भेट अब काँ होली।
सभासमारोहमा उहाँले वारी सिमखोली र पारी न्यावोली पर्छ भन्दै जीवनसाथी र साथीहरुको माझमा रमाइलो भएको र यस्तै भेटघाटको अवसर बारम्बार मिलोस् भन्ने भाव व्यक्त गर्नुभएको छ।
मधेसी मधेश जान्छ, भोटे भोट जान्छ
ढली जान्छ, पोखी जान्छ, दिया कहाँ जान्छ?
मान्छेहरू आफ्नो पायक र सम्बन्ध भएको ठाउँमा जान्छन्। आफूसँग भएको चीज समयमा कसैलाई दिए काम लाग्छ, ढलेर पोखिएर खेर गएपछि सम्झेर के काम भन्ने भाव व्यक्त गर्नुभएको छ।
जुम्लाका बुद्धिजीवी रमानन्द आचार्य, जो प्राज्ञ रत्नाकर देवकोटाका समकालीन र स्थानीय साथीजस्तै हुनुहुन्थ्यो, लेख्नुहुन्छ: “कर्णालीलाई समग्रमा राज्यसामु चिनाउन कलम नै प्रभावकारी हुन्छ। हामीले आफ्नो भूगोल र इतिहासको यथार्थ र मूल्य लेखेर नै देखाउन सक्नुपर्छ।” यो उहाँको निष्कर्ष थियो। (यतैकतै हुनुहुन्छ जस्तो लाग्छ, प्राज्ञ रत्नाकर देवकोटा स्मारिका २०६७, पृष्ठ ६६)
(प्राज्ञ रत्नाकर देवकोटाको ८४औँ जन्मजयन्तीको अवसरमा स्मरणसहित सभक्ति समर्पण। मिति: २०८२/१/२९, सोमवार नरेन्द्र देवकोटा “प्रशान्त” चन्दननाथ-१, तलिचौर, जुम्ला हाल: खलंगा, प्यूठान।)