सिंजा गाउँपालिका वडा नं. ५ गोरा गाउँमा राष्ट्रिय प्रसारण लाइन सुचारु भएको छ। २०८२ वैशाख २३ गते ५० केभीएको ट्रान्सफर्मर चार्ज गरी उक्त लाइन सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण जुम्लाकाले जानकारी दिएको छ।
हिमा गाउँपालिकाको आचार्यली गाउँबाट सिंजा गाउँपालिकाको गोरा गाउँसम्म ११ केभीको लाइन जडान गरिएको हो। साथै, गोरा गाउँमा एल.टी. लाइन पूर्णरूपमा सुचारु भएको प्राविधिकले जनाएका छन्।
गाउँमा बिजुली बत्ती बलेपछि स्थानीयवासी निकै खुशी भएका छन्। स्थानीय बासिन्दा प्रयाग राज धितालले भने, “गाउँमा पहिले अन्धकार थियो, अब ज्योति आएको छ। राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बलेपछि हामी अत्यन्तै खुसी छौँ।”
नेपाल विद्युत प्राधिकरणले बत्तीको पोल र ट्रान्सफर्मर नजिक गाईवस्तु तथा घरेलु जनावर नबाँध्न अनुरोध गरेको छ। साथै, रुखका हाँगा वा अन्य कारणले तारमा क्षति पुग्ने अवस्था भएमा वा आगजनीजस्ता घटना भएमा तुरुन्त जुम्ला वितरण केन्द्रमा जानकारी गराउन पनि आग्रह गरेको छ।