बुधबार, ४ असार, २०८२

जुम्लामा हिमाली संवाद हुँदै, सबै तयारी पूरा पुरा

सोमबार साँझ जुम्लामा आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जानकारी दिइएको छ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गहिरो असर र त्यसलाई सम्बोधन गर्न स्थानीय समुदायको अनुभव र प्रयासलाई केन्द्रमा राखेर जुम्लामा ‘हिमाली संवाद’ आयोजना हुने भएको छ।

वैशाख ९ र १० गते चल्ने यो कार्यक्रमले विशेषगरी बालबालिका, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको नेतृत्वमा जलवायु सङ्कटका मुद्दाहरूलाई उजागर गर्ने लक्ष्य राखेको छ।

यो संवाद सगरमाथा संवादको हिस्साको रूपमा आयोजना गरिएको हो, जसले हिमाली क्षेत्रका जलवायु समस्यालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य राख्छ। जुम्लामा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा कर्णाली प्रदेशका ८ जिल्लाबाट करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमका चारवटा सत्रमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा ल्याएको वातावरणीय असन्तुलन, हिउँ पग्लने समस्यादेखि जैविक विविधतामाथिको सङ्कट र स्थानीय जीवनशैलीमा परेको प्रभावबारे गहन छलफल हुनेछ।

किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले भने, “यो संवादले सीमान्तकृत समुदायको वास्तविक अनुभव र उनीहरूले जलवायु सङ्कटसँग जुध्न गरेका स्थानीय अभ्यासलाई प्राथमिकता दिनेछ।”

विशेषगरी बालबालिकाको सहभागितालाई यो कार्यक्रमले प्राथमिकता दिएको छ। औपचारिक सत्र सञ्चालनदेखि प्यानल छलफलसम्म बालबालिकाले नेतृत्व लिनेछन्। यो संवादलाई उनीहरूको क्षमता विकास र नेतृत्व निर्माणको अवसरको रूपमा समेत हेरिएको छ।

सोमबार साँझ जुम्लामा आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जानकारी दिइएको छ। कार्यक्रमले ‘जुम्ला घोषणा पत्र’ जारी गर्दै जलवायु परिवर्तनविरुद्ध सामुदायिक पहललाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

यो संवादले हिमाली क्षेत्रका चुनौतीलाई नीति निर्माणको तहसम्म पुर्‍याउन र स्थानीय समुदायको आवाजलाई विश्वमाझ प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार