बुधबार, ४ असार, २०८२

सिंजामा नेपालको नक्सा निर्माण गरिँदै

प्रतिनिधिसभा सदस्य विनिता कठायतले नेपालको भौगोलिक नक्सा निर्माण कार्यको शिलान्यास गरेकी हुन।

जुम्लाको सिंजा गाउँपालिका–३, राईक्या डाँडामा पर्यटन प्रवर्द्धनको नवीन पहलस्वरूप नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास सम्पन्न भएको छ।

प्रतिनिधिसभा सदस्य विनिता कठायतको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, उपाध्यक्ष सितली रोकाया, जनप्रतिनिधि र स्थानीयवासीको उत्साहपूर्ण सहभागिता रहेको थियो।

यो परियोजना ऐतिहासिक खस राज्यको राजधानी रहेको सिंजा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको हो।

सांसद कठायतले सम्बोधनका क्रममा नक्सा निर्माणले क्षेत्रको पर्यटन र ऐतिहासिक महत्त्व उजागर हुने बताइन्।

उनले भविष्यमा खस राज्यको ऐतिहासिक नक्सा निर्माण गर्ने योजना पनि सुनाइन्, जसले क्षेत्रीय सम्पदाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

यो परियोजनाले रारा ताल घुम्न जाने पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लामार्फत ठेक्का प्राप्त ममता निर्माण सेवाले १ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी पाएको छ।

आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार यो नक्सा शैक्षिक, पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ।

स्थानीयबासीले यो पहललाई गौरवको कदम मानेका छन्, जसले सिंजा क्षेत्रको ऐतिहासिक पहिचानलाई विश्वमाझ चिनाउने छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार