मंगलवार, ३ असार, २०८२

कर्णालीमा दलित पत्रकार संघको नयाँ नेतृत्व: भिम बहादुर परियार अध्यक्षमा निर्वाचित

राष्ट्रिय दलित पत्रकार संघ नेपालको कर्णाली प्रदेश समितिको अध्यक्षमा सल्यानका भिम बहादुर परियार सर्वसम्मत निर्वाचित भएका छन्।

संघको दोस्रो अधिवेशन २०८१ चैत ८ गते (मार्च २१, २०२५) मा कर्णालीको प्रमुख प्रवेशद्वार भेरीगंगा १०, छिन्चुमा सम्पन्न भएको थियो। अधिवेशनले परियारको नेतृत्वमा १७ सदस्यीय नयाँ प्रदेश कार्य समिति चयन गरेको छ।

नवनिर्वाचित कार्य समितिमा उपाध्यक्षहरू यज्ञ बहादुर तिरुवा (दैलेख) र कर्ण विक (कालिकोट), सचिव मालती विक (सुर्खेत), सहसचिव प्रेम सुनार (सुर्खेत), कोषाध्यक्ष तुलविर बैगार (जाजरकोट) लगायत छन्। सदस्यहरूमा जितबहादुर तिरुवा (सुर्खेत), खेमराज सुनार (सल्यान), हिमेन्द्र विक (दैलेख), विवेन्द्र नेपाली (जुम्ला), अंगराज परियार (हुम्ला), पूर्ण सार्की (डोल्पा), तेज विक (जाजरकोट) र भानुभक्त विक (कालिकोट) रहेका छन्। रुकुम पश्चिम र मुगुबाट २ सदस्य मनोनित गर्ने गरी अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले दीप प्रज्वलन गरी गरेका थिए। मन्त्री शाहले कर्णालीमा २९ प्रतिशत दलित समुदायको सामाजिक न्याय र आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै दलित पत्रकार संघको सक्रियताले जनतासम्म पुग्न सहज भएको उल्लेख गरे।

कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्व जलश्रोत मन्त्री रनसिंह परियारले ६ वर्षको प्रयासपछि कर्णालीका दलित समुदायले न्यायको अनुभूति गरेको बताए। उनले दलित सशक्तिकरण विधेयक पारित गर्न आफूले निरन्तर पहल गरेको र अब कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

“दलित समुदायले अब आन्दोलन गर्नुपर्ने अवस्था छैन, तर विधेयकको प्रभावकारी कार्यान्वयनमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण छ,” उनले भने।

अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडी, पत्रकार महासंघ कर्णालीका उपाध्यक्ष लक्ष्मण केसी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा दलित समुदायको आवाज र भुईमान्छेका मुद्दालाई मिडियामा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार