विवाहलगायत सामाजिक क्रियाकलापमा दलित समुदायभित्रै हुने आपसी विभेद रोक्ने उद्देश्यले यस्तो विभेद गर्ने र गराउनेलाई समान कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।
दलित जनजागरण अभियान नेपालले २१ मार्च, अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा विरोध सभाको आयोजना गरेको छ। सोही सभामा अभियानले ऐतिहासिक निर्णय पनि गरेको छ।
विवाहलगायत सामाजिक क्रियाकलापमा दलित समुदायभित्रै हुने आपसी विभेद रोक्ने उद्देश्यले यस्तो विभेद गर्ने र गराउनेलाई समान कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।
विरोध सभा दलित जनजागरण अभियान नेपालका केन्द्रीय संयोजक राजेश मयाल ‘अग्नीशीखा’को प्रमुख आतिथ्यतामा र लम्कीचुहा नगरपालिका वडा नं. ९ का वडा कमिटी अध्यक्ष दिर्ख नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।
सभामा केन्द्रीय सचिव प्रिन्स वि.क., केन्द्रीय सदस्य नयाँराम टमट्टा, सल्लाहकार समिति संयोजक रनसिंह विश्वकर्मा, शिक्षक सुरत रम्तेल र सामाजिक अभियन्ता गगन वि.कले आफ्ना विचार राखेका थिए।
केन्द्रीय सचिव प्रिन्स वि.कले सिराहाको औरही गाउँपालिकामा भएको घटनाको उल्लेख गर्दै भने, “दलितका घर भत्काउनुका साथै उनीहरू बसेको जमिन अपवित्र भयो भन्दै माटो ताछ्ने कार्यले मानव समाजलाई लज्जित बनाएको छ। यस्ता अमानवीय कार्यविरुद्ध संगठित हुनुको विकल्प छैन। हामी एकजुट भएर अगाडि बढ्नुपर्छ।”
सल्लाहकार समिति संयोजक रनसिंह विश्वकर्माले समुदायको उत्थानका लागि शक्ति प्राप्ति नै अन्तिम उपाय भएको बताउँदै हरेक परिस्थितिका लागि तयार रहन आग्रह गरे।
उनले भने, “हामीले विभिन्न आन्दोलन देखेका छौं, तर समुदायको अवस्थामा ठोस परिवर्तन आएको छैन। वास्तविक उत्थानका लागि शक्ति नै चाहिन्छ।”
सामाजिक अभियन्ता गगन वि.कले जातीय छुवाछुतको मूल कारणमाथि बहस गर्नुपर्ने जोड दिए भने केन्द्रीय सदस्य नयाँराम टमट्टाले दलित समुदायभित्रैको विभेद अन्त्य गर्नुपर्ने बताए।
प्रमुख अतिथि राजेश मयाल ‘अग्नीशीखा’ले जात व्यवस्थाविरुद्ध आन्दोलनको आवश्यकता औंल्याउँदै भने, “ब्राह्मणवादमा जकडिएको समाजले दलितमाथि विभिन्न बहानामा विभेद र दमन गर्दै आएको छ। हामी एक ठाउँमा उभिएर आफ्नो हकअधिकारका लागि लड्नुपर्छ, नत्र यो अन्याय कायमै रहन्छ।”
दलित जनजागरण अभियान नेपालका संयोजक अग्नीशीखाले सशक्त आन्दोलनको खाँचो रहेको र दलित समुदाय एकढिक्का हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा बित्थड चिर प्रवासी दलित एकता समाजका प्रवक्ता सुशील ओखेडाले पनि सहभागीहरूलाई जानकारी गराएका थिए।