मंगलवार, ३ असार, २०८२

जुम्लामा अखिल क्रान्तिकारीले टुङ्ग्यायो उम्मेदवार: अध्यक्षमा जयकृष्ण जैशी

संगठनले अध्यक्षमा जयकृष्ण जैशी, सचिवमा जीवन भक्रि र कोषाध्यक्षमा आशिष बुढालाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ।

जुम्ला बहुमुखी क्याम्पसमा आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढ्दै गएको छ। माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएर रणनीति अघि बढाएको छ।

संगठनले अध्यक्षमा जयकृष्ण जैशी, सचिवमा जीवन भक्रि र कोषाध्यक्षमा आशिष बुढालाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ। अखिल क्रान्तिकारी जुम्लाका अध्यक्ष धर्मराज रावलका अनुसार उम्मेदवार चयन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको हो।

अध्यक्षका उम्मेदवार जयकृष्ण जैशी यसअघि २०७९ को स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित भइसकेका अनुभवी विद्यार्थी नेता हुन्। उनले आफ्नो उम्मेदवारीलाई विद्यार्थीको हकहित र क्याम्पस सुधारको अभियानसँग जोडेर प्रस्तुत गरेका छन्।

“विगतदेखि नै क्याम्पसभित्रका विकृति र विसंगति हटाउन र विद्यार्थीका मुद्दालाई बलियोसँग उठाउन म निरन्तर लागिपरेको छु,” जैशीले भने।

यसैबीच, स्ववियु निर्वाचनको तयारी तीव्र बनेको छ। आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यतालिका रहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते निर्वाचन हुँदैछ। जुम्लामा अखिल क्रान्तिकारीको यो तयारीले अन्य विद्यार्थी संगठनहरूलाई समेत आफ्नो रणनीति बलियो बनाउन दबाब सिर्जना गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार