पर्यटनलाई आधुनिक संसारसँग जोड्न आवश्यक टेलिफोन र इन्टरनेट सुविधा नहुँदा, गिडीदहको पर्यटकीय प्रवर्द्धनमा बाधा पुर्याइरहेको स्थानीयबासी र सरोकारवालाहरू बताउँछन्।
जुम्लाको आकर्षक पर्यटकीय गन्तव्य, गिडीदह, अहिले चर्चा बटुल्दै छ। समुद्री सतहदेखि ३,४८५ मिटर उचाइमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्त्वले भरिपूर्ण छ।
तर, त्यहाँको बढ्दो पर्यटकीय चहलपहलसँगै आधारभूत पूर्वाधारको अभावले यो क्षेत्रको विकासमा चुनौती थपिएको छ। सबैभन्दा ठूलो समस्या भनेको संचार सेवाको अभाव हो।
गिडीदहमा मोबाइल नेटवर्क तथा इन्टरनेट सुविधा नहुँदा पर्यटकहरू सम्पर्कविहीन हुनुपर्छ। पर्यटनलाई आधुनिक संसारसँग जोड्न आवश्यक टेलिफोन र इन्टरनेट सुविधा नहुँदा, गिडीदहको पर्यटकीय प्रवर्द्धनमा बाधा पुर्याइरहेको स्थानीयबासी र सरोकारवालाहरू बताउँछन्।
गिडीदह क्षेत्रले प्राकृतिक सौन्दर्यलाई समेट्छ नै यसको सांस्कृतिक महत्त्व पनि उत्तिकै छ। १५१० मिटर लम्बाइ, ३१० मिटर चौडाइ र ४२.८ मिटर गहिराइमा फैलिएको यो ताल साहसिक पर्यटनका लागि उपयुक्त स्थान हो। ताल वरपर रहेका जैविक विविधता, जडिबुटी, र चराचुरुंगीका विभिन्न प्रजातिले गिडीदहलाई पर्यावरणीय अध्ययनका लागि पनि महत्त्वपूर्ण बनाएको छ।
तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अमरबहादुर रोकायाका अनुसार, “गिडीदह, पानसय पाटन र लामाचौर जस्ता क्षेत्रलाई पर्यटकीय नक्सामा स्थापित गर्न प्रयास जारी छ। तर, नेटवर्क र इन्टरनेटको अभावले पर्यटकहरूलाई सूचना आदानप्रदान, समन्वय र तत्काल सम्पर्कमा समस्या परेको छ।”
गिडीदह घुम्न जाने पर्यटकहरूले भ्रमणका क्रममा खिचेका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा तत्काल पोष्ट गर्न समस्या छ। यसले पर्यटन प्रवर्द्धनमा ठूलो बाधा पुर्याएको छ। स्थानीय तहले यस समस्याको समाधानका लागि नेपाल सरकारलाई बारम्बार ध्यानाकर्षण गराएको छ।
हालै तातोपानी गाउँपालिका वडा नं. ४ को नेतृत्वमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सबै कागजातसहित टेलिफोन टावर विस्तारको मागपत्र पेश गरिएको छ। स्थानीय सरकारका अनुसार, यो मागले गिडीदह क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।
वडा अध्यक्ष रोकायाले भने, “गिडिदह पुग्न चाहने पर्यटकहरूलाई प्रविधिको पहुँचमा ल्याउन टेलिफोन टावर निर्माण अति आवश्यक छ। यसले केवल स्थानीयबासीको जीवनस्तरमा सुधार ल्याउनुका साथै पर्यटनबाट प्रत्यक्ष लाभ हुने वातावरण पनि सिर्जना गर्छ।”
गिडीदहले कर्णाली प्रदेशमा पर्यटन विकासको ठूलो सम्भावना देखाएको छ। यसको उचाइ र भौगोलिक बनावटले ट्रेकिङका पारखीहरूलाई आकर्षित गर्छ। साथै, ताल वरपरका वन्यजन्तु र जैविक विविधताले अनुसन्धानकर्ताहरूको ध्यान समेत खिच्न सक्छ।
तर, यो क्षेत्र गुमनामजस्तै रहेको थियो। पछिल्ला वर्षहरूमा स्थानीय तह, केही गैरसरकारी संस्था र सचेत युवा समूहले गिडीदहलाई प्रचारमा ल्याउन सामाजिक सञ्जाल र प्रचारात्मक गतिविधिको सहारा लिएका छन्।
गिडीदह क्षेत्रको दिगो विकासका लागि स्थानीयहरूले आधारभूत पूर्वाधारमा लगानीको अपेक्षा गरेका छन्। टेलिफोन टावरको विस्तारले गिडीदहलाई डिजिटल संसारसँग जोड्न मद्दत गर्छ, जसले यस क्षेत्रको पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सक्ने वडा अध्यक्ष रोकायाको भनाइ छ।
तातोपानी गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको छ। गाउँपालिकाको पुष २६ गतेको बैठकमा टेलिफोन टावर निर्माणलाई उच्च प्राथमिकतामा राख्दै संघीय सरकारसँग सहयोगको माग गरिएको छ।
गिडीदहमा टेलिफोन टावर निर्माण भए पर्यटकका लागि मात्र नभई स्थानीय समुदायका लागि पनि एक सकारात्मक परिवर्तन हुने उनको भनाइ छ। उनका अनुसार ग्रामीण क्षेत्रमा सञ्चार प्रविधिको पहुँच पुर्याउनु सरकारको दायित्व हो। गिडीदह जस्तो सम्भावना बोकेको क्षेत्रलाई प्राथमिकतामा राख्नु सरकारले दीर्घकालीन सोच देखाएको प्रमाण हुन सक्छ।
स्थानीय नेतृत्व, सरोकारवाला निकाय, र संघीय सरकारबीचको समन्वयले गिडीदह क्षेत्रलाई कर्णालीको एक महत्त्वपूर्ण पर्यटकीय केन्द्र बनाउने लक्ष्य पूरा गर्न सकिन्छ। अब चुनौती भनेको यसलाई समयमै कार्यान्वयनमा ल्याउनु हो।

















