सरकारी सेवामा १३ वर्षदेखि कार्यरत रावलले हरेक वर्ष आफ्नो जन्मदिनमा जेष्ठ नागरिकलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जुम्ला गुठिचौर गाउँपालिका–३ का धर्मराज रावलले आफ्नो ३७ औं जन्मदिनको अवसरमा एउटा उदाहरणीय घोषणा गरेका छन्।
सरकारी सेवामा १३ वर्षदेखि कार्यरत रावलले हरेक वर्ष आफ्नो जन्मदिनमा जेष्ठ नागरिकलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जन्मदिनकै दिन उनले जेष्ठ नागरिक संघको भवनमा आयोजित एक कार्यक्रमका दौरान आफ्नो प्रतिबद्धताको पहिलो चरण पूरा गर्दै आफ्ना बुबामार्फत १५ हजार रुपैयाँ हस्तान्तरण गरे।
यो घोषणा रावलको समाजप्रतिको सेवाभावको एउटा महत्त्वपूर्ण उदाहरण बनेको जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बताए।
रावलले विगतमा आफूले भोगेका दु:खले समाजसेवाप्रति झुकाव बढाएको बताए। उनका अनुसार सम्पत्ति जोड्ने भन्दा पनि समाजसेवामा योगदान पुर्याउने इच्छा नै उनको प्रेरणा हो।
उनले भने, “जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नगरी, यसलाई समाजका जेष्ठ नागरिकलाई सहयोग गर्ने अवसरका रूपमा उपयोग गर्न चाहन्छु।”
कार्यक्रममा जेष्ठ नागरिक संघका सदस्यहरूले रावलको कदमको प्रशंसा गरे। संघका अध्यक्ष भारतीले यसलाई समाजका लागि प्रेरणादायी प्रयास भन्दै उच्च मूल्यांकन गरे।
उनले थपे, “जेष्ठ नागरिकप्रति देखाएको सेवा भाव अत्यन्त सराहनीय छ। यसले अरुलाई पनि यस्तै प्रेरणा दिन सक्छ।”
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पनि रावलको निर्णयलाई प्रशंसा गर्दै यसलाई उदाहरणीय कदम भने। उनले रावलको योगदानले जेष्ठ नागरिकहरूलाई थप सहयोग र हौसला मिल्ने विश्वास व्यक्त गरे।
जिल्ला जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धक तथा संरक्षक स्वास्थ्यकर्मी नन्द प्रसाद न्यौपानेले जेष्ठ नागरिकको सेवामा एउटा नयाँ सहयात्री थपिएको उल्लेख गर्दै रावलको यो कदमलाई स्वागतयोग्य भने।
उनले यस प्रकारका प्रयासहरूले जेष्ठ नागरिकको स्वास्थ्य र भलाइमा सकारात्मक प्रभाव पार्ने धारणा राखे।
धर्मराज रावलको यो कार्य समाजसेवाको नयाँ मोडेलको रूपमा अगाडि आएको छ जेष्ठ नागरिक दयादत्त हामालले बताए।
उनले भने, “व्यक्तिगत खुसीलाई सामूहिक भलाइमा रूपान्तरण गर्दै, उनले समाजलाई नयाँ दिशा दिने प्रयास उदाहरणीय छ।”
रावलले जन्मदिनजस्तो व्यक्तिगत कुरालाई समाजप्रतिको जिम्मेवारी पूरा गर्ने अवसरका रूपमा उपयोग गरेर अन्य व्यक्तिहरूलाई पनि यस्तै प्रयास गर्न प्रेरित गरेका छन्।