सोमबार, ८ पुष, २०८१

जुम्लाको गुठिचौर गाउँपालिका साक्षर घोषित

जिल्लाको अन्तिम साक्षर घोषणा गरिनुपर्ने गाउँपालिका रहेको गुठिचौरले ९५.७३ प्रतिशत नागरिकलाई साक्षर बनाउँदै यो उपलब्धि हासिल गरेको हो।

शिक्षा र सक्षमता प्रवर्द्धनको दिशामा ऐतिहासिक सफलता हासिल गर्दै जुम्लाको गुठिचौर गाउँपालिका साक्षर गाउँपालिका घोषित भएको छ।

जिल्लाको अन्तिम साक्षर घोषणा गरिनुपर्ने गाउँपालिका रहेको गुठिचौरले ९५.७३ प्रतिशत नागरिकलाई साक्षर बनाउँदै यो उपलब्धि हासिल गरेको हो।

यो घोषणा गुठिचौर गाउँपालिकामा आयोजित एक विशेष समारोहमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यमा गरिएको थियो।

शिक्षा क्षेत्रमा भएको यो महत्त्वपूर्ण उन्नतिको अवसरमा सहभागीहरूले अभियानका उपलब्धिहरू र चुनौतीका विषयमा चर्चा गरे।

गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले दुई महिना लामो घरधुरी सर्वेक्षण र साक्षरता कक्षा सञ्चालनको नतिजास्वरूप यो लक्ष्य हासिल भएको बताए।

“साक्षर घोषणाका लागि तोकिएका १२ सूचकहरूमध्ये ८० प्रतिशत भन्दा बढीमा सफलता प्राप्त भएको छ,” उनले भने, “यो साक्षरता अभियानले निरक्षर नागरिकलाई आधारभूत सीपमा सक्षम बनाएको छ।”

साक्षर नागरिकहरूलाई आधारभूत सीप प्रदान गर्न विभिन्न पहलहरू सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख सिंहमान रावतले बताए।

उनका अनुसार साक्षर अभियानले नागरिकहरूलाई आफ्नो नाम लेख्न, घडी हेर्न, मोबाइल चलाउन र ट्राफिक नियम पालन गर्नेजस्ता दैनन्दिन जीवनका महत्त्वपूर्ण कार्यहरूमा सक्षम बनाएको छ। १५ देखि ६० वर्ष उमेर समूहका ६,५०३ जनाले यी सीपहरू हासिल गरेका छन्।

कार्यक्रमका सहभागीहरूले साक्षर घोषणालाई औपचारिकतामा सीमित नगरि यसलाई व्यवहारमा कार्यान्वयन गर्ने आवश्यकता औंल्याए।

जिल्ला समन्वय समितिका प्रमुख गौरिन्द आर्चायले साक्षरता घोषणाको सफल कार्यान्वयनले दिगो विकासका लक्ष्य पूरा गर्न मार्ग प्रशस्त गर्ने धारणा राखे।

उनले भने, “यो घोषणा केवल औपचारिक कार्यक्रम मात्र नभई समाजमा गुणात्मक परिवर्तन ल्याउने माध्यम बन्नुपर्छ।”

साक्षरता अभियानमा समुदायको सक्रिय भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको अध्यक्ष बुढाले बताए।

“गुठिचौरका नागरिकहरूले यस अभियानमा देखाएको लगावले यसलाई सफल बनाउन मुख्य भूमिका खेलेको हो,” उनले भने।

गुठिचौरको साक्षरता अभियानले स्थानीय स्तरमा शिक्षा र चेतनाको महत्व स्थापित गरेको छ। यो उपलब्धिले अब गाउँपालिकालाई शिक्षा, स्वास्थ्य र आर्थिक सक्षमताको क्षेत्रमा नयाँ योजना अघि बढाउन प्रेरित गर्ने विश्वास गरिएको छ।

कार्यक्रमका सहभागीहरूले साक्षर घोषणासँगै निरन्तर शिक्षा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्।

गुठिचौर गाउँपालिकाको साक्षर घोषणा केवल शिक्षा अभियानको सफलता मात्र नभई समुदायमा आएको सकारात्मक परिवर्तनको संकेत भएको अध्यक्ष बुढाको भनाइ छ।

“स्थानीय सरकार र समुदायको सहकार्यले गुठिचौरलाई अझै विकसित र सशक्त गाउँपालिका बनाउने लक्ष्य राखिएको छ,” उनले थपे।

यो घोषणा जुम्ला जिल्लाको समग्र विकासको लागि एक कोसेढुङ्गा बनेको छ। साक्षर गुठिचौर अब शिक्षाको उज्यालो बाटोमा अघि बढ्न तयार रहेको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार