बिहीबार, २१ फाल्गुन, २०८२

हिमाका राजनीतिक दलको माग: कर्णाली राजमार्गको नाग्म-गमगडी सडक खण्डको जिरो प्वाइन्टबाट पिच गर्नुपर्छ

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सडककाे प्रवेशद्वार क्षेत्रमा रहेका खाल्डाखुल्डीले स्थानीय बासिन्दा र पर्यटकहरूलाई हैरान पार्दै आएको बताए।

हिमा गाउँपालिकाको नाग्म-गमगडी सडक खण्डको स्तरोन्नति र कालोपत्रे कार्य सुरु गर्न सम्बन्धित निकायसँग स्थानीय राजनीतिक दलहरूले तत्काल पहल गर्न माग गरेका छन्।

हालै हिमामा बसेको सर्वदलीय बैठकले सडककाे प्रवेशद्वार, अर्थात् जिराे प्वाइन्टबाटै सडकको स्तरोन्नति र पिच कार्य सुरु गर्नुपर्ने निष्कर्ष निकालेको छ।

बैठकमा सबै दलका प्रतिनिधिहरू सहभागी थिए। सहभागी सबै एक ठाउँमा उभिएर सडकको पिच प्रवेशद्वारबाटै सुरु हुनु आवश्यक आवश्यक रहेको निर्णय गरे।

सुरुआत बिन्दुबाट नै पिचको माग
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सडककाे प्रवेशद्वार क्षेत्रमा रहेका खाल्डाखुल्डीले स्थानीय बासिन्दा र पर्यटकहरूलाई हैरान पार्दै आएको बताए।

बैठकले बीच भागबाट कामको सुरुआत हुनुको साटो जिरो प्वाइन्टदेखि नै सुधारको प्रक्रिया थाल्नुपर्नेमा जोड दिएको छ।

राजनीतिक दलका प्रतिनिधिहरुले सडकको सुरुआत भागमा नै राम्रो अवस्थाको नहुनु दु:खद विषय भएको र यसले नाग्म-गमगडी सडक हुँदै रारा तालसम्म पुग्न चाहने पर्यटकलाई समेत असुविधा पुर्‍याइरहेको ठहर गरेका छन्।

पर्यटकको आवागमनमा असर र आर्थिक प्रभाव
सडकका कारण रारा तालमा पुग्ने पर्यटकले यात्रा गर्ने क्रममा देखिएको कठिनाइलाई मध्यनजर गर्दै गाउँपालिकाले छिटो सडक सुधारका लागि सरकारसँग अपिल गर्ने निर्णय गरेको छ।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक डिभिजन जुम्लालाई जिरो प्वाइन्टबाटै पिच कार्य थाल्न माग गरेको बताए।

उनले भने, “हामी प्रदेश र संघीय सरकारसँग पनि बजेटको व्यवस्था गराएर चाँडै काम सम्पन्न गर्न अनुरोध गर्नेछौं।”

रारा ताल नेपालकै प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो, तर अव्यवस्थित सडकका कारण यहाँ आउने पर्यटकको संख्या घट्दै गएको छ।

सडकको खाल्डाखुल्डीले गर्दा सवारी साधनहरू चलाउन कठिनाइ भएको र पर्यटकहरूको यात्रा असहज बनेको छ।

यसले हिमाका स्थानीय व्यवसायी, होटल व्यवसायी, र पर्यटनसम्बन्धी अन्य उद्योगहरूलाई आर्थिक घाटा पनि निम्त्याइरहेको छ।

बजेट अभाव र सरकारी योजनामा ढिलाइ
सडक डिभिजन जुम्लाले नाग्म-गमगडी सडकको स्तरोन्नति र कालोपत्रे कार्य बजेट अभावका कारण अघि बढाउन नसकेको जनाएको छ।

गत वर्षको बेमौसमी बाढीले कर्णाली राजमार्गमा पुर्‍याएको क्षतिले अन्य योजना र सडक स्तरोन्नतिमा असर गरेको र त्यसमा आवश्यक भुक्तानी समेत बाँकी रहेको बताइएको छ।

चालु आर्थिक वर्षमा नाग्म-गमगडी सडकको लागि विशेष बजेट व्यवस्था नभएको कारण पनि सडक डिभिजनले कालोपत्रे कार्य अघि बढाउन सकेको छैन।

लामो समयदेखि सुधारको पर्खाइमा सडक
नाग्म-गमगडी सडकको ९३ किलोमिटर दूरीमा रहेको ६ किलोमिटर खण्ड मात्र अहिले कालोपत्रे गरिएको छ।

जिरो प्वाइन्टदेखि मालिकाबोटासम्मको क्षेत्र अझै पनि सुधारको प्रतीक्षामा छ। हालसम्म सडकको बीचका केही भागमा मात्रै पिच र ग्राभेल गरिएको छ, जसले गर्दा प्रवेशद्वारमा रहेको हिमा गाउँपालिकाको क्षेत्र भने यो कामबाट बञ्चित रहेको छ।

स्थानीयहरूको सरकारसँग अपिल
स्थानीय दल र समुदायले सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग जोडदार माग गरिरहेका छन्।

बैठकमा सहभागी हिमाका स्थानीयहरूले विकास कार्य बीचबाट सुरु हुनुको साटो प्रवेशद्वारबाटै सुरु हुनुपर्नेमा जोड दिए।

यसले मात्र व्यवस्थित र सुरक्षापूर्ण आवागमनको व्यवस्था गर्न सकिने र रारा जाने पर्यटकको यात्रा सहज बनाउन सकिने बताएका छन्।

नाग्म-गमगडी सडक स्तरोन्नति, नवनिर्माण, र कालोपत्रेको मागमा स्थानीय दलहरूले समन्वय गरी सरकारसँग निरन्तर पहल गर्ने निर्णय गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल