बीपीएच दोस्रो ब्याजका १८ जना विद्यार्थीले परीक्षा दिएकोमा १८ जना नै पास भएका छन्।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान स्वास्थ्य क्षेत्रको उत्कृष्ट शिक्षा दिने संस्थाको रुपमा स्थापित हुँदै गएको छ। प्रतिष्ठानबाट पढाइ पुरा गरेका विद्यार्थीले विभिन्न परिक्षामा आफ्नाे अब्बलता देखाइरहेका छन्।
यसैबीच मिति २०८१ असोज ०१ गते देखि ०५ गते सम्म एड्भान्स एजुकेशन एण्ड इनोमेटीभ रिर्सच सेन्टर प्राली, बबरमहल काठमाडौं केन्द्रमा सञ्चालन गरिएको दशौं नाम दर्ता परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी पास भएका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को परीक्षा समितिको ०८१ असोज ५ गते बसेको बैठकको निर्णयानुसार प्रकाशित गरिएको परीक्षाफलमा कर्णालीले शतप्रतिशत नतिजा हासिल गरेको हो।
बीपीएच दोस्रो ब्याजका १८ जना विद्यार्थीले परीक्षा दिएकोमा १८ जना नै पास भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयको चौथो वर्षका संयोजक ओम प्रकाश काफ्लेले बताए।
उनका अनुसार अघिल्लो वर्ष पनि प्रतिष्ठानको नतिजा शतप्रतिशत नै आएको थियोे। ‘यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाउने प्राध्यापकका निम्ति साह्रै खुसीको कुरा हो,’ उनले भने।
समग्र देशभरको नतिजा ४४ दशमलव ५९ प्रतिशत मात्रै आएको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजा शतप्रतिशत आउनु खुसीको कुरा भएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
‘यो नतिजाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य क्षेत्रमा उदाउँदै गरेको उत्कृष्ट शिक्षा दिने संस्थाको रुपमा स्थापित भएको छ,’ उनले भने, ‘हामी कमिनिटी मेडिसिनमा संसारको उत्कृष्ट स्वास्थ्य संस्था बन्न सक्छौं।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सहभागिता जनाउन थालेको सुरुदेखि नै उत्कृष्ट नतिजा दिन सकेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले बताए।
‘दुई ब्याजका विद्यार्थीले परीक्षा दिएकोका दुबै ब्याजले शतप्रतिशत नतिजा दिनु प्रतिष्ठान उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित भएको छ,’ उनले भने।
यसैबीच नेपाल नर्सिङ परिषद्ले गत वर्ष लिएको नर्सिङ तथा मिडवाईफ्रीको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उतिर्ण भएका थिए।
परिक्षामा कर्णाली प्रतिष्ठानका ३४ जना विधार्थी सहभागी भएका प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए।
उनले भने, ‘परिषद्ले २३ असारमा लिएको ३३ औँ लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट नर्सिङ अध्ययन पुरा गरेका ३४ जना सहभागी थिए। ती मध्ये सबै जना उत्तीर्ण भएका छन्। यस्तै मिडवाइफ्री तर्फ ५ जनाले परीक्षा दिएकोमा सबै जना पास भएका थिए।’