यो खेलको आयोजनाले कर्णाली दुर्गम होइन भन्न मानसिक निर्माण गर्न सहयोग पुग्ने हुनले यसको ख्याती झनै बढ्नेछ। त्यसैले देशभरबाट विद्यार्थी जुम्ला बोलाउने कोसिस गरिएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेपछि देशभरका मेडिकल विद्यार्थीहरु जुम्ला पुगेका छन्। आइतबारदेखि सुरु भएको अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन देशभरका मेडिकल विद्यार्थीहरु जुम्ला पुगेका हुन।
भदौ १६ देखि सुरु भएको खेलकुद प्रतियोगिता २१ गतेसम्म चल्ने छ। प्रतियोगिताका कारण देशभर मेडिकल विद्यार्थीलाई कर्णालीमा ल्याउन सकिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए। उनका अनुसार प्रतिष्ठान स्थापना पछि पहिलो पटक खेलकुद प्रतियोगिता भइहेको छ।
‘हामीले देशभरमा २७ वटा मेडिकल कलेजलाई खेलकुद प्रतियोगितामा सामेल हुन पत्र पठाएका थियौं,’ उनले भने, ‘कति ठाउँको परीक्षा यहि समयमा परेको हुनाले आउन सक्नु भएन। पाँच वटा कलेजले सहभागिता जनाएका छन्।’
प्रतियोगितामा सामेल हुन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम, राजर्षिजनक विश्वविद्यालय जनकपुरधाम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा, किस्ट मेडिकल कलेज ललितपुर र चिकित्साशात्र अध्ययन संस्थान महारजगञ्जका गरि कुल १०९ विद्यार्थी जुम्ला आएको आएको प्रतिष्ठानको कार्यकारी परिषद् सदस्य तथा प्रतियोगिताका संयोजक विवेक पुन मगरले बताए।

लामो समय विकटताको पर्याय मानिएको जुम्लामा देशभरबाट विद्यार्थी आएर खेलकुद प्रतियोगितामा सामेल हुँदा कर्णालीलाई देशले चिन्ने गरि निर्माण भएको खराब भाष्य बदल्न सहयोग पुग्ने उपकुलपति डा. रावलको भनाइ छ।
‘हिजो जुम्लामा मेडिकल कलेज सम्भव छैन भनेर हल्का टिप्पणी गरिन्थ्यो। आज यहि मेडिकल कलेजले कर्णालीको परिचय फेरेको छ,’ उनले भने, ‘प्रतिष्ठानले आयोजना गरेको खेलकुद प्रतियोगितामा भाग लिन देशभरका मेडिकल कलेजबाट विद्यार्थी आउनु हाम्रा लागि खुसीको कुरा हो। यसले आगामी दिनमा उदाउँदै गरेको प्रतिष्ठानको साख अझ बढाउन भूमिका खेल्नेछ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले आयोजना गरेको अन्तर मेडिकल कलेज स्तरीय खेलकुद प्रतियोगितामा भाग लिन देश भरीबाट कठिन यात्रा गर्दै झरीले बगाएको बाटो छिचोल्दै आउनु सकारात्मक पक्ष भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले बताए।

‘कतिपय ठाउँमा हिँडेरै भए पनि जोश जागरका साथ खेलाडी भाइबहिनीहरु जुम्ला पुग्नुभयो। यो हाम्रो निम्ति खुसीको खबर हो,’ उनले भने, ‘मेडिकल शिक्षामा अध्ययनको दबाब र तनाव धेरै हुने भएकाले खेलकुदले विद्यार्थीहरूलाई एक नयाँ उर्जा दिन। यो उर्जा दिने काम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्न पाएको छ हामी अत्यन्तै खुसी छौं।’
उनका अनुसार मेडिकल कलेज स्तरीय खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका साथ साथै टीम वर्क र नेतृत्व क्षमताको विकास गरि अनुशासित बनाउने र स्वस्थ प्रतिस्पर्धाको भावना पैदा गराउनेछ। बाहिरका विद्यार्थीले जुम्ला र कर्णाली चिनुन भन्ने अभिप्राय हो।
पछिल्लो समय स्वास्थ्य शिक्षा दिने अब्बल संस्था सावित हुँदै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको स्थानबारे अनेक खालका टिप्पणी भइरहेको हुनाले ठाउँ चिनाउनका लागि भए पनि अन्तर मेडिकल कलेज स्तरीय खेलकुद आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

‘कहिले पनि जुम्ला र कर्णाली नदेखेको र पाइलै नटेकेको मान्छेले यहाँको भौगोलिक विविधतालाई विकटता भनेर परिभाषित गरिरहेको छ,’ उनले भने, ‘यो खेलकुदको आयोजनाले बाहिरका विद्यार्थी, प्राध्यापकहरुलाई कर्णाली कस्तो हो भनेर चिनाएको छ। यसले कर्णालीबारेको धारणा परिवर्तनका निम्ति पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नवोउदित उत्कृष्ट शैक्षिक गन्तव्य हुँदाहुँदै पनि भुगोललाई हेरेर प्राथमिकतामा नपार्ने गरिएको थियोे। यो खेलको आयोजनाले कर्णाली दुर्गम होइन भन्न मानसिक निर्माण गर्न सहयोग पुग्ने हुनले यसको ख्याती झनै बढ्नेछ। त्यसैले देशभरबाट विद्यार्थी जुम्ला बोलाउने कोसिस गरिएको हो।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका कार्यहरू गरिरहेको छ। यही बीचमा भएको अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिताले कर्णाली कस्तो छ भन्ने बुझाउने मौका मिलेको उपकुलपति रावलले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिने सेवा, कर्णालीको स्वास्थ्य अवस्था र कृषि पर्यटनलाई समेत यो खेलकुदले टेवा पुर्याउने प्रतिष्ठान खेलकुद समितिका सचिव सहप्राध्यापक निशान लामाले जानकारी दिए।
उनका अनुसार खेलकुदमा महिला पुरुष भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस, चेस, दौड, कविता र हाजिरी जवाफ लगायतका प्रतियोगिताहरू भइरहेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।
