बिहीबार, २१ श्रावण, २०८३

ढल्यो चार सय वर्ष बूढो देवाद्यार रुख : रूखसँगै गुमेको इतिहास

जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरामा रहेको उक्त देवदारलाई स्थानीयवासी चार सय वर्षभन्दा पुरानो भएको अनुमान गर्छन्।

तीन दिन अघिसम्म लुम्सेरा गाउँमा अरू दिनजस्तै थियो। कर्णाली राजमार्गमा गाडीहरू गुडिरहेका थिए। खेतमा धानबाली हावासँगै हल्लिरहेको थियो। गाउँ आफ्नै दैनिकीमा थियो।
तर केहीबेरमै एउटा ठूलो आवाज आयो।

वर्षौँदेखि गाउँमाथि उभिइरहेको विशाल देवदारको रूख ढल्यो।
त्यो आवाजसँगै एउटा रूख मात्र भुइँमा बजारिएन। लुम्सेराका धेरै पुस्ताले देखेको, छोएको र आफ्नो आस्थासँग जोडेको एउटा प्राकृतिक इतिहास पनि ढलेको अनुभूति भयो।

जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरामा रहेको उक्त देवदारलाई स्थानीयवासी चार सय वर्षभन्दा पुरानो भएको अनुमान गर्छन्। यसको वैज्ञानिक पुष्टि भने अहिलेसम्म भएको छैन।

स्थानीयको भाषामा ‘द्यार’ भनिने यो देवदार करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइको रहेको अनुमान छ। पुस्तौँदेखि गाउँको छाया र चिनारी बनेर उभिएको यो रूख धार्मिक आस्थाको केन्द्रसमेत थियो।

६६ वर्षीया कालिका भट्टराईका लागि त्यो देवदार केवल वनस्पति थिएन। त्यससँग गाउँको विश्वास जोडिएको थियो। त्यसैले रूख ढलेपछि उनलाई एउटा पुरानो चिनजानको मान्छे गुमाएजस्तो लागेको छ।

स्थानीय ७४ वर्षीय दीपबहादुर हमालका अनुसार देवदार दक्षिण एसियामै बलियो र दीर्घजीवी काठमध्ये एक मानिन्छ। लुम्सेराको रूख पाण्डवकालदेखि नै अस्तित्वमा रहेको भन्ने जनविश्वाससमेत गाउँमा छ।

योगी नरहरिनाथका भनाइसँग जोडेर पनि यो रूख धेरै पुरानो भएको विश्वास गरिन्छ,’ हमाल भन्छन्।

तर समयले बलियो मानिएको रूखलाई पनि छाडेन।
स्थानीयका अनुसार विसं २०३२ सालतिर रूखको टुप्पो भाँचिएको थियो। त्यसपछि त्यही भागबाट पानी पस्दै भित्रभित्रै जरा कुहिएको र रूख कमजोर हुँदै गएको हुनसक्ने अनुमान छ।

तिला–४ का ८४ वर्षीय वीरबहादुर सिंह भने देवदारको आयुबारे सुनिँदै आएको एउटा पुरानो भनाइ सम्झन्छन्। उनले भने, ‘एक हजार वर्ष बढ्न, एक हजार वर्ष उभिन, एक हजार वर्ष ढल्न र अर्को एक हजार वर्ष कुहिन लाग्छ।’

वैज्ञानिक तथ्यभन्दा फरक भए पनि यस्तो जनविश्वासले देवदारप्रति स्थानीय समाजको गहिरो सम्मान झल्काउँछ।
रूख ढल्दा सडकतर्फ रहेका टेलिफोन र विद्युत्का खम्बामा क्षति पुग्यो। धानबालीमा पनि सामान्य असर पर्‍यो। तर मानवीय क्षति भएन।

अब प्रश्न छ, ढलेको त्यो देवदारको सम्झना कसरी जोगाउने?
स्थानीय निराजन गौतमले रूख उभिएको स्थानमा मन्दिर वा चौतारी निर्माण गर्न सरकारसँग माग गरेका छन्।

डिभिजन वन कार्यालय, जुम्लाका प्रमुख भरतबहादुर बूढाथोकीका अनुसार कर्णाली राजमार्गअन्तर्गत कुदारी–लुम्सेरा सडकखण्डमा रहेको देवदार ढलेको जानकारी कार्यालयले पाएको छ। ढलेको रूखको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने उनले बताएका छन्।

देवदार कोणधारी वनको महत्वपूर्ण प्रजाति हो। तर लुम्सेराको यो रूखको महत्व वन विज्ञानका किताबमा लेखिने तथ्यभन्दा धेरै पर थियो।

यसले गाउँका हजुरबुबा–हजुरआमालाई छाया दियो।
उनीहरूका छोराछोरीलाई पनि त्यही छाया दियो।

त्यसपछि नातिनातिनीहरूलाई। पुस्तौँसम्म उभिएर उसले गाउँको बदलिँदो समय हेर्‍यो, मानिसका जीवन बदलिए, बाटा बदलिए, सडक आयो, गाउँको स्वरूप बदलियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार