जुम्लाको हिमा गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा कालिकाखेतमा आयोजित विशेष कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो।
गाउँपालिकाका सातै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने १३ प्रकारका सबै खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले भौगोलिक रूपमा विकट क्षेत्र भए पनि “खोजी र खोप” अभियान प्रभावकारी रूपमा सञ्चालन गरी कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गरिएको बताए। उनले अभियानलाई वार्षिक योजना तथा बजेटमा प्राथमिकताका साथ समावेश गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले पूर्ण खोप सुनिश्चितता अभियानलाई दीगो बनाउन प्रत्येक वर्ष वैशाख महिनालाई “पूर्ण खोप सुनिश्चितता घोषणा तथा दिगोपना महिना” का रूपमा मनाइने जानकारी दिए।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँपालिकाले खोपसम्बन्धी विवरणलाई डिजिटल तथा भौतिक दुवै प्रणालीमार्फत व्यवस्थित राख्ने र सूक्ष्म योजना (माइक्रोप्लानिङ) का आधारमा नियमित अनुगमन गर्ने लक्ष्य लिएको जनाएको छ।















