बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लामा स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लाको आयोजनामा शुक्रबार बिहान ७:०० बजेदेखि बेलुका ३:०० बजेसम्म कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी स्वर्णविन्दु औषधि खुवाइएको थियो। चन्दननाथ नगरपालिका भित्रका साथै बाहिरबाट नगरपालिकामा बसोबास गर्दै आएका बालबालिकाको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका सूचना अधिकारी नन्दप्रसाद न्यौपानेका अनुसार बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उनका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
















