जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीस्थित नाग्मा–जुम्ला सडक खण्डमा बोलेरो गाडीको ठक्करबाट एक जना साइकल यात्री घाइते भएका छन्।
शुक्रबार बिहान करिब ०९:२५ बजे नाग्माबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे १ च ४३६० नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उक्त बोलेरो सिञ्जा गाउँपालिका–६ का २६ वर्षीय बम बहादुर बुढाले चलाइरहेका थिए।
दुर्घटनामा तातोपानी गाउँपालिका–४ हाँकु निवासी करिब ३२ वर्षीय टिकाराम न्यौपाने घाइते भएका छन्। उनको टाउको र नाकमा चोट लागेको बताइएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हाँकुबाट प्रहरी सहायक निरीक्षक पृथ्वी बहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले घाइतेको तत्काल उद्धार गरी तातोपानी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाएको छ।
अस्पतालका अनुसार घाइतेको अवस्था सामान्य छ। दुर्घटनास्थल प्रहरी चौकी हाँकुबाट करिब १ किलोमिटर पश्चिम तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १० किलोमिटर पश्चिमतर्फ पर्दछ।
घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको जुम्लाका डीएसपी रबिन बाबु रेग्मीले जानकारी दिएका छन्।















