कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित सिंजा गाउँपालिका यस आर्थिक बर्षमा पहिलो ‘पूर्णखोप सुनिश्चित’ घोषणा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
गाउँपालिकाभित्र रहेका ० देखि १५ महिनासम्मका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेको पुष्टि भएपछि औपचारिक रूपमा पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको हो।
स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ लामो समयदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको गाउँपालिकाले यस उपलब्धिलाई सामूहिक प्रयासको परिणामका रूपमा लिएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायले जुम्लाको इतिहासमै पहिलो पटक कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको उल्लेख गर्दै यो उपलब्धि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यको प्रतिफल भएको बताए।
उनका अनुसार पूर्णखोप सुनिश्चितता हासिल गर्न गाउँपालिकाले घरदैलो अभियान, नियमित अनुगमन, अभिभावक सचेतना कार्यक्रम तथा स्वास्थ्य संस्थाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको थियो।
‘पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानमा स्थानीय स्रोतको अधिकतम उपयोग, समुदायको सक्रिय सहभागिता र जनप्रतिनिधिको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको उनले बताए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाइएको स्पष्ट पारे।
उनले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप अभियानलाई निरन्तरता दिइने उल्लेख गर्दै अब हरेक वर्ष यस दिनलाई ‘पूर्णखोप सुनिश्चित घोषणा दिवस’ का रूपमा मनाइने जानकारी दिए।
‘खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ,’ भन्दै उनले सबै अभिभावकलाई बालबालिकालाई समयमै खोप लगाउन आग्रह गरे।
उक्त कार्यक्रम प्लान नेपाल र पेस नेपालको समन्वयमा तथा सिंजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले सिंजा गाउँपालिकाको उपलब्धिलाई प्रेरणादायी उदाहरणको रूपमा व्याख्या गर्दै अब सम्पूर्ण जिल्लालाई पूर्णखोप सुनिश्चित बनाउने लक्ष्य राखिएको बताए।
उनले स्वास्थ्य सेवामा कुनै पनि नागरिकलाई समस्या नपर्ने गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
















