बिहीबार, २१ फाल्गुन, २०८२

जितिन् सुशीला कार्कीले जित्यो लोकतन्त्रले

देशभरि बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउँदै अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की संक्रमणकालीन राजनीतिमा अब्बल नेतृत्वका रूपमा स्थापित भएकी छन्।

जेनजी आन्दोलनपछि उत्पन्न अस्थिरता, अविश्वास र भयबीच उनले निर्वाचन सम्पन्न गराएर मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउन महत्वपूर्ण भूमिका खेलेकी हुन्।

मतगणनाको प्रारम्भिक नतिजाले कसले जित्ला र कसले हार्ला भन्ने राजनीतिक प्रतिस्पर्धा देखाए पनि आजको चुनावको मुख्य उपलब्धि भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु हो।

यस सफलताको पहिलो श्रेय मुलुककी पहिलो महिला प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीलाई दिइएको छ।

जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्था अत्यन्त जटिल बनेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनले विस्थापित गरेपछि मुलुकमा नागरिक सरकार बन्ने कि नबन्ने भन्ने अन्योल पैदा भएको थियो।

यही परिस्थितिमा राष्ट्रपतिको आग्रह र व्यापक परामर्शपछि २७ भदौमा कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी थिइन्।

प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गर्दा उनी स्वयं पनि द्विविधामा थिइन्। कार्यकारी नेतृत्व लिन अनिच्छुक देखिएकी कार्कीलाई युवाहरूले डिस्कर्डमार्फत गरेको सल्लाह र समर्थनले अगाडि बढ्न प्रेरित गरेको बताइन्छ।

आन्दोलनपछि मुलुकमा प्रशासनिक संयन्त्र कमजोर भएको, सिंहदरबारमा आगजनी र तनावको अवस्था रहेको तथा राजनीतिक दलहरूबीच गहिरो अविश्वास व्याप्त रहेको थियो।

त्यस्तो कठिन परिस्थितिमा कार्कीले संवाद र समन्वयलाई प्राथमिकता दिइन्। राजनीतिक दलका नेताहरू, नागरिक समाज, आन्दोलनकारी समूह तथा विभिन्न पक्षसँग लगातार छलफल गर्दै उनले निर्वाचनको वातावरण निर्माण गर्ने प्रयास गरिन्।

कतिपय अवस्थामा उनी स्वयं लचक बन्दै विपक्षी नेताहरूसँग एक्लै भेटघाट गरेर सहमति खोज्ने काममा सक्रिय भइन्।

सरकार गठनको केही समयपछि नै मुलुकमा चुनाव सम्भव छैन भन्ने आशंका व्यापक थियो। सुरक्षा अवस्था, राजनीतिक द्वन्द्व र न्यायिक प्रक्रियासम्बन्धी विवादले निर्वाचन सर्न सक्ने अनुमान गरिन्थ्यो।

तर छ महिनाको अवधिमा सरकार, निर्वाचन आयोग र सुरक्षा निकायको समन्वयबाट निर्वाचनको तयारी पूरा भयो।

निर्वाचन वातावरण सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीले देशका विभिन्न क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकनसमेत गरिन्।

हिमाली जिल्लाहरूमा चिसोका कारण मतदान प्रभावित हुन सक्ने चर्चा भएपछि उनले स्वयं त्यहाँ पुगेर तयारीबारे जानकारी लिएकी थिइन्।

नागरिक समाजका अगुवाहरूका अनुसार, न्यायिक पृष्ठभूमिबाट आएको नेतृत्वका लागि राजनीतिक संवाद र व्यवस्थापन ठूलो चुनौती थियो।

तर कार्कीले आफ्नो स्वभावभन्दा बढी धैर्य र लचकता देखाउँदै विभिन्न पक्षलाई एकै ठाउँमा ल्याउन सफल भइन्।

आज सम्पन्न निर्वाचनसँगै अन्तरिम सरकारको मुख्य जिम्मेवारी पूरा भएको छ। केही समयभित्रै नयाँ जननिर्वाचित सरकार गठन भएपछि प्रधानमन्त्री कार्कीले सत्ता हस्तान्तरण गर्नेछिन्।

कठिन संक्रमणकालमा देशलाई निर्वाचनसम्म पुर्‍याएको उनको भूमिका नेपाली राजनीतिक इतिहासमा उल्लेखनीय उपलब्धिका रूपमा स्मरणीय रहने निश्चित देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार