बुधबार, १३ फाल्गुन, २०८२

सहयोग जुटेपछि ‘साम्बा’ आशावादी हुँदै भन्छिन्, ‘म अझ मजबुत भएर फर्कनेछु’

सावित्राका अनुसार, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ।

नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बा ले हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक सन्देशले देश–विदेशका खेलप्रेमीको ध्यान तानेको छ। उपचारका क्रममा आफूले पाएको अभूतपूर्व साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै उनले छिट्टै मैदानमा फर्कने दृढ संकल्प व्यक्त गरेकी छन्।

घाइते भएपछि उपचारका लागि आर्थिक तथा मानसिक सहयोगको आवश्यकता परेका बेला हजारौँ समर्थक, संघ संस्था र शुभेच्छुकहरू उनको साथमा उभिएका छन्।

सावित्राका अनुसार, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ। यसका साथै विभिन्न संघ–संस्था र व्यक्तित्वहरूले नगद तथा सेवासुविधा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

साम्बाले आफ्नो स्टाटसमा लेखेकी छन्, ‘खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा वा उपाधि होइन, तपाईंहरूको माया, भरोसा र समर्थन हो।’ उनका अनुसार, यही ऊर्जा र विश्वासले उनलाई शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मेहनत गर्न प्रेरित गरेको छ।

हाल अष्ट्रेलियाली क्लब विलिङ्टन फोनिक्स फएसीबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बाको उपचार प्रक्रियामा क्लबले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। क्लबले विमा रकम निकासा गरी थप सहयोग गर्दै उपचारलाई सहज बनाइरहेको उनले जानकारी दिएकी छन्।

उनको उपचार कतारमा हुने तयारी रहेको छ। उपचारका क्रममा लाग्ने आवास र यातायात खर्चसमेत जुट्ने अवस्था बनेपछि उनले दुवै खातामा सहयोग रकम रोकिदिन समर्थकलाई अनुरोध गरेकी छन्।

चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा पनि आफू थकित भएको स्वीकार गर्दै साम्बाले समर्थकको साथले फेरि उठ्ने साहस दिएको बताएकी छन्। ‘म एक्लो छैन भन्ने विश्वास तपाईंहरूले दिनुभयो,’ उनले उल्लेख गरेकी छन्।

यो भावनात्मक सन्देशले उनको संघर्ष, आत्मबल र खेलप्रतिको समर्पणलाई झल्काउँछ। समर्थकहरूको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ छ।

नेपाल महिला फुटबल टोलीकी मुख्य स्ट्राइकरका रूपमा परिचित साम्बाले फेरि मैदानमा फर्किएर देशका लागि खेल्ने प्रतिबद्धता दोहोर्‍याएकी छन्। उनले लेखेकी छन्, ‘म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु।’

उनको यो अभिव्यक्तिले नेपाली राष्ट्रिय महिला फुटबल टीमका समर्थकमा नयाँ आशा र उत्साह थपेको छ।

साम्बाका अनुसार, आफूले पाएको माया र समर्थनको साँचो धन्यवाद भनेको मैदानमा पुनरागमन गर्नु हो। फेरि नेपालको जर्सीमा देशका लागि जित हासिल गर्नु नै उनको प्रतिवद्धता हो।

हाल उपचार र शल्यक्रियाको मिति पर्खिरहेकी साम्बा छिट्टै प्रक्रिया सुरु हुनेमा विश्वस्त छिन्। समर्थक, खेलकर्मी र शुभेच्छुकहरू पनि उनको शीघ्र स्वास्थ्यलाभ र सफल पुनरागमनको कामना गरिरहेका छन्।

नेपाली फुटबलको गौरव बनेकी साम्बाको यो संघर्ष र आत्मविश्वासले खेलकुद क्षेत्रमा मात्र होइन, समग्र समाजमा पनि प्रेरणाको सन्देश दिएको छ। ‘चाँडै मैदानमा भेटौँला’ भन्ने उनको वाक्य अहिले लाखौँ समर्थकका लागि आशा र प्रतीक्षाको प्रतीक बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार