कालिकोटको तिलागुफा नगरपालिका अन्तर्गत पर्ने खल्लागाड मोड लामो समयदेखि दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पट) का रूपमा चिनिँदै आएको थियो।
तीव्र मोड, साँघुरो सडक र जोखिमपूर्ण संरचनाका कारण वर्षेनी सवारी दुर्घटना हुँदा यात्रुले ज्यानसमेत गुमाउनुपरेको थियो।
सुर्खेतबाट दैलेख हुँदै कालिकोट र जुम्लासम्म जोड्ने कर्णाली राजमार्गको यही खण्ड सबैभन्दा जोखिमपूर्ण मानिँदै आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

वि.सं. २०६३ सालदेखि सञ्चालनमा आएको उक्त राजमार्गको यो मोडमा पटक–पटक ठूला दुर्घटना हुँदै आएका थिए।
सडक डिभिजन जुम्लाको पहलमा खल्लागाड मोडको हालै सुधार कार्य सम्पन्न गरिएको छ। मोड फराकिलो बनाउने, घुम्ती व्यवस्थापन, सडक सम्याउने तथा सुरक्षात्मक संरचना निर्माण गर्ने काम अघि बढाइएको छ।

सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले खल्लागाड मोडको सुधारबारे प्रतिक्रिया दिँदै भने, ‘खल्लागाड मोड लामो समयदेखि जोखिमपूर्ण क्षेत्रका रूपमा चिनिँदै आएको थियो।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस स्थानको सुधार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएका हौं। हाल मुख्य संरचनागत सुधार सम्पन्न भइसकेको छ र बाँकी सडक सुरक्षा सम्बन्धी कामहरू पनि छिट्टै पूरा गरिनेछ।’
उनका अनुसार आगामी दिनमा साइन बोर्ड, रिफ्लेक्टर, गार्डरेल तथा चेतनामूलक संकेतहरू जडान गरी दुर्घटना न्यूनीकरणमा थप सहयोग पुग्नेछ।















