जुम्ला जिल्लामा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्लाको मतदाता संख्या, मतदान केन्द्र तथा निर्वाचन तयारीका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छ।
जुम्ला जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार वि.सं. २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने मतदातासमेत जोडिँदा जिल्लाको कुल मतदाता संख्या ७१ हजार ६३९ पुगेको छ। तीमध्ये पुरुष ३७ हजार ४५९ र महिला ३४ हजार २८० जना रहेका छन्।

वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। हालको तथ्याङ्कसँग तुलना गर्दा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन्। नयाँ मतदातामध्ये पुरुष १ हजार ७५९ र महिला १ हजार ३४२ जना रहेका छन्।
जिल्लामा हाल ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र तोकिएका छन्। जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार आठवटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी मतदान केन्द्र चन्दननाथ नगरपालिकामा १८ वटा रहेका छन् भने सबैभन्दा कम मतदान केन्द्र गुठीचौर गाउँपालिकामा १० वटा तोकिएको छ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले अहिले निर्वाचन आयोगले प्रविधि मार्फत निर्वाचन सम्बन्धि मतदाता शिक्षा दिने काम गरिरहेको र गाउँगाउँमा गएर मतदाता शिक्षा दिने कार्य विस्तारै हट्दै जाने बताए।
उनका अनुसार आम मतदातालाई सहि,तथ्यपरक उपयोगी जानकारी प्रदान गरि जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु मतदाता शिक्षाको उदेश्य हो।
उनले भने, ‘नयाँ मतदाता थपिनु लोकतान्त्रिक अभ्यासप्रतिको जनचासो हो। सबै नागरिकले नामावलीमा नाम दर्ता गरी मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ।’

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘सुरक्षा व्यवस्था, समन्वय र व्यवस्थापनका सबै पक्षमा प्रशासन सजग छ। मतदाताले निर्भय वातावरणमा मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ।’
उनका अनुसार निर्वाचनको अन्तिम चरणमा प्रवेश गरिसक्दा सुरक्षा सम्बन्धि हामीले मनन गरिरहेका छौं। विभिन्न मतदान स्थलमा अनुगमन समेत गरेका हौं। आचारसंहिता उल्लंघन सम्बन्धि आचारसंहिता उल्लंघन अधिकृत समेत खटाइएको र मतदान स्थलको सुरक्षा मजबुत गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिएको छ। साथै, सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।















