भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई परिवारका नौ जना नेपालीको मृत्यु भएको छ। पुस २७ गते राति भएको उक्त भयानक विस्फोट र त्यसपछिको आगलागीमा परी सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २, टाकुराका दुई परिवारका सबै सदस्यले ज्यान गुमाएका हुन्।
उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागी भएको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन्।
रोजगारीको सिलसिलामा भारत पुगेका एकै गाउँका दुई परिवारका नौ जना सदस्यको सामूहिक मृत्युको खबरले सिद्धकुमाख गाउँपालिका यतिबेला गहिरो शोकमा डुबेको छ।















