सोमबार, १२ माघ, २०८२

नेपाल चिकित्सक संघको चुनावका लागि ‘टिम मंगल’को संकल्प पत्र सार्वजनिक

टिम मंगलले सार्वजनिक र निजी दुबै क्षेत्रमा लागू हुने न्यूनतम पारिश्रमिक व्यवस्था गर्न पहल गर्ने जनाएको छ। काम गर्ने समय, बिदा र अतिरिक्त कामका स्पष्ट नियम बनाइने प्रतिबद्धता गरिएको छ।

आगामी माघ २ र ३ गते संघको शाखा कार्यालय र माघ १५,१६ र १७ गते संघको केन्द्रीय कार्यालय काठमाडौंमा हुने नेपाल चिकित्सकसंघको कार्यकारिणी समितिको निर्वाचनका लागि टिम मंगलले आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ। शनिबार टिम मंगलले अहिलेको स्वास्थ्य सेवा प्रणाली गम्भीर संकटमा रहेको संकल्प पत्र मार्फत निष्कर्ष निकालेको हो।

यतिबेला चिकित्सकहरू आज रोगसँग मात्र नभई कमजोर र अन्यायपूर्ण प्रणालीसँग लडिरहेको टिम मंगलको भनाइ छ। संकल्पपत्रमा राजनीतिक हस्तक्षेपलाई स्वास्थ्य क्षेत्रको मुख्य समस्या भनिएको छ।

नियुक्ति प्रक्रिया निष्पक्ष नभएको, तलब कम भएको र श्रम अधिकार स्पष्ट नभएको उल्लेख छ। कानुनी जोखिम चिकित्सकले एक्लै बोक्नुपर्ने अवस्था रहेको टिम मंगलको ठहर छ।

संकल्पपत्रमा भनिएको छ, ‘ग्रामीण र दुर्गम क्षेत्रमा काम गर्दा जोखिम धेरै छ, तर प्रोत्साहन छैन।’ यही कारण धेरै चिकित्सक निराश भएको र विदेश पलायन बढेको टिमको निष्कर्ष छ।

यसको प्रत्यक्ष असर स्वास्थ्य सेवाको गुणस्तरमा परेको उल्लेख गरिएको छ। यी समस्याका बीच नेपाल चिकित्सक संघ सबै चिकित्सकको साझा संस्था बन्न नसकेको टिम मंगलको धारणा छ।

अब सुधारको समय आएको भन्दै सक्षम र प्रतिबद्ध टिमसहित आफूहरू चुनावी मैदानमा उत्रिएको टिमको दाबी छ। अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावलले संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने स्पष्ट अडान राखेका छन्।

‘यो घोषणापत्र मात्रै होइन,’ उनी भन्छन्, ‘यो व्यवस्था बदल्ने संकल्प हो। नेपाल चिकित्सक संघ सबै चिकित्सकको संस्था बन्नुपर्छ। हामी त्यसैका लागि चुनावमा होमिएका हौँ।’

टिम मंगलले सबै चिकित्सकलाई समान मताधिकार दिने प्रतिबद्धता जनाएको छ। आगामी निर्वाचनमा एपमार्फत अनलाइन मतदान र मतदान प्रणाली (बलोटिङ) लागू गरिने बताइएको छ। यसले निर्णय प्रक्रिया पारदर्शी हुने टिमको दाबी छ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. किर्तिपाल सुवेदीले युवाको सहभागिता बिना संघ बलियो नहुने बताए।

‘आवासीय र प्रारम्भिक करियरका चिकित्सकको अनिवार्य प्रतिनिधित्व गरिन्छ,’ उनी भन्छन्, ‘भोलिको स्वास्थ्य प्रणाली युवामै निर्भर छ।’

महासचिव पदका उम्मेदवार डा. कालु सिंह खत्रीका अनुसार चिकित्सक ऐन टिम मंगलको मुख्य एजेण्डा हो।

‘चिकित्सक ऐन बिना चिकित्सक सुरक्षित हुँदैन,’ उनी भन्छन्, ‘यो ऐनले तलब, श्रम अधिकार, बीमा र कानुनी सुरक्षा सुनिश्चित गर्छ।’

टिम मंगलले सार्वजनिक र निजी दुबै क्षेत्रमा लागू हुने न्यूनतम पारिश्रमिक व्यवस्था गर्न पहल गर्ने जनाएको छ। सबै चिकित्सकका लागि सञ्चयकोषको व्यवस्था गरिनेछ। काम गर्ने समय, बिदा र अतिरिक्त कामका स्पष्ट नियम बनाइने प्रतिबद्धता गरिएको छ।

सार्वजनिक स्वास्थ्य संस्थामा चिकित्सक र उनका परिवारलाई निःशुल्क उपचारको व्यवस्था गर्न संघर्ष गरिने बताइएको छ। अनिवार्य स्वास्थ्य बीमा, जीवन बीमा र पेशागत जोखिम बीमालाई पनि प्राथमिकतामा राखिएको छ।

कोषाध्यक्ष पदकी उम्मेदवार डा. चाँदनी जैसवालले पारदर्शिता मुख्य एजेण्डा भएको बताइन्।

‘हरेक महिना प्रगति विवरण र तीन–तीन महिनामा वित्तीय विवरण सार्वजनिक गरिन्छ,’ उनी भन्छिन्, ‘हामी निर्वाचित भए संघभित्रको आर्थिक अपारदर्शिता अन्त्य हुन्छ।’

टिम मंगलले संघको सदस्यता सुविधालाई पनि विस्तार गर्ने जनाएको छ। सबै सेवा समेट्ने डिजिटल प्लेटफर्म बनाइनेछ। चिकित्सकलाई रोजगारी खोज्न सहयोग गर्ने रोजगारी सहजीकरण एप सुरु गरिनेछ।

यसैगरी, निःशुल्क कानुनी परामर्श सेवा, प्रदेशस्तरीय जर्नल प्रकाशन, अनुसन्धान र तालिम कार्यक्रम, करियर परामर्श, अन्तर्राष्ट्रिय फेलोसिप र चिकित्सकको मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ।

कोशी प्रदेशमा प्रादेशिक जर्नल र कर्णाली प्रदेशमा ग्रामीण स्वास्थ्य जर्नल प्रकाशन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

संकल्पपत्रमा केही अनिवार्य नीतिगत सुधार पनि समेटिएका छन्। सार्वजनिक स्वास्थ्य संस्थामा गैरराजनीतिक र प्रतिस्पर्धात्मक नियुक्ति, स्वास्थ्य मन्त्रालयभित्र क्वाकरी नियन्त्रण इकाई, चिकित्सा शिक्षा ऐनका अव्यावहारिक प्रावधान खारेज र स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई गैर जमानतीय कसुर बनाउने माग प्रमुख छन्।

नेपाल चिकित्सक संघअन्तर्गत पाँचवटा स्थायी अनुसन्धान तथा पैरवी इकाई गठन गरिने पनि टिमको योजना छ। यी इकाईहरूले चिकित्सा शिक्षा, आवासीय चिकित्सकको हित, स्वास्थ्यकर्मी सुरक्षा, नीति सुधार र चिकित्सकको मानसिक स्वास्थ्यमा निरन्तर काम गर्नेछन्।

अध्यक्षका उम्मेदवार डा. मंगल रावल भन्छन्, ‘चिकित्सक सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छ। नेपाल चिकित्सक संघको सुधार भनेकै देशको स्वास्थ्य प्रणालीको सुधार हो।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार