शुक्रबार, २९ जेष्ठ, २०८३

माओवादी केन्द्रका मनऋषि धितालद्वारा पद त्यागेर नयाँ राजनीतिक अभियानमा लाग्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति सदस्य मनऋषि धितालले तीन दशक लामो राजनीतिक यात्रालाई विराम दिँदै पार्टीबाट राजीनामा गरेका छन्।

लामो समयदेखि जनयुद्धदेखि शान्ति प्रक्रिया, चुनावी संघर्षदेखि लेखन, प्रवास गतिविधिसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका धितालले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै वर्तमान नेतृत्वको राजनीतिक विचलन र गिरावटप्रति भने असन्तोष व्यक्त गरेका छन्।

०७९ को आम निर्वाचनपछि बनाइएका गठबन्धनहरू जनमतविपरीत रहेको र शीर्ष नेतृत्व सत्ता–मोहमा डुबेर जनयुद्ध तथा शान्ति प्रक्रियाको मूल भावना परित्याग गरेको धितालको आरोप छ।

उनका अनुसार जुन नेतृत्वले क्रान्तिको मार्गदर्शन गर्नुपर्ने थियो, त्यही नेतृत्व आज गुटबन्दी, परिवारवाद र भ्रष्ट राजनीतिक अभ्यासका कारण जनविश्वास गुमाएको छ।

धितालले हाल आएका जेनजी पुस्ताको क्रान्तिकारी जागरणले पुरानो राजनीतिक धरातल भत्काइसकेको उल्लेख गर्दै उक्त परिवर्तनलाई शीर्ष नेताहरूले नैतिकरूपमा स्वागत गर्न नसकेको टिप्पणी गरेका छन्।

उनले मेन्सेभिक चरित्र हाबी भएको समूहभित्र अब वास्तविक क्रान्तिकारी राजनीतिक भविष्य नभएकाले पार्टी छाड्नु परेको बताएका छन्।

एक दर्जन पुस्तकका लेखक समेत रहेका धितालले आफूले पार्टीसँग कहिल्यै व्यक्तिगत माग नराखेको र कुनै अवसर नलिएको उल्लेख गर्दै अब नवीन चेतना, युवा नेतृत्व र वैकल्पिक विचारसहित नयाँ राजनीतिक अभियान सुरु गर्ने चेतना व्यक्त गरेका छन्।

तीन दशकको सहयात्रा टुंगिंदै गर्दा भावुक भएको बताए पनि उनले नयाँ बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार