सरकारको लगानी बालुवामा पानी भयो। आफ्नो खुट्टामा उभिएपछि न उसलाई बाबुआमा चाहियो, न देशको भूभाग, न सरकार, न नागरिकता। नागरिकता त्यागिसकेपछि बाबुआमाले सन्तान हकदाबी गर्ने कुनै बाटो नै रहँदैन। तैपनि आफ्नो सन्तान भेट्न जाने भन्दै दूतावासको चक्कर काटिरहेका छन् अभिभावकहरू। यसमा कमजोर सरकार देखिन्छ।
नेपाली नागरिकलाई प्रमाणित गर्ने एउटा प्रमुख दस्तावेज हो—नागरिकता। नागरिकताले मानिस कुन देशको नागरिक हो? पुष्टि गर्छ। पछिल्लो समय त्यही नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको संख्या उल्लेख्य छ। अध्ययन र रोजगारीका लागि अमेरिका–अष्ट्रेलिया, बेलायतलगायत विभिन्न मुलुक पुगेकाहरूले धमाधम नेपाली नागरिकता त्यागिरहेका छन्। उनीहरूले त्यहीँ देशको नागरिकता लिन्छन्।
कुनै पनि नागरिकले नागरिकता त्याग्नका लागि सिडियो कार्यालयमा निवेदन दिन्छन्। त्यसपछि गृह मन्त्रालयले त्यसलाई प्रमाणिकरण गर्छ। त्यसपछि ऊ यो देशको नागरिक नै हुँदैन। नेपालमा हुने कुनै गतिविधिसँग उनीहरूको सरोकार नै रहँदैन। नेपाल आउन पनि उनीहरूले भिसा लगाएर आउनुपर्छ।
रोचक प्रसंग के भने, नागरिकता त्यागेर अर्को देशको नागरिक भइसकेकालाई बाबुआमाले आफ्नो सन्तान भनिरहेका छन्। छुट्टाछुट्टै देशको नागरिकता भएकाहरू कसरी एकैघरको हुन सक्छन्? आफ्नो सन्तान भेट्न जान पाऊँ भन्दै परिवारहरू दूतावास धाइरहेका छन्। नेपाली भन्ने कुनै आधार नै नभएकालाई कसरी आफ्नो सन्तान भन्न मिल्छ?
आफ्नो देशको नागरिकता भएकालाई भेट्नका लागि दूतावासले कसरी अर्को देशको नागरिकलाई इजाजत दिन मिल्छ? सरकारले लेटरप्याडमै लेखेर—ऊ हाम्रो नागरिक होइन—भनिसकेको छ। उता, त्यस देशको सरकारले पनि उसलाई आफ्नो नागरिक बनाइसकेको छ। अनि जनताचाँहि आफ्नो छोराछोरी भन्दै ६० हजारदेखि लाखौँ रुपैयाँ खर्च गरेर दूतावास पुग्छन्? यहाँ ठूलै झेल भएको देखिन्छ। सरकारले नबुझेको हो कि जनताले? कि त दूतावास नै प्रष्ट छैन?
नागरिकता त्याग्नु उसको मर्जी हो। उसले आफूखुशी नागरिकता त्यागेको हो। यहाँ पढेर, बढेर, यहीँको खाएकाहरू जब देशलाई आवश्यक पर्यो, विदेश उडे। सरकारले शिक्षा, स्वास्थ्यलगायतका सुविधा दियो। तर जब देशका लागि केही गर्ने बेला आयो, उनीहरू विदेश गए। त्यहाँको सेवासुविधामा उनीहरू रुमल्लिए। पछि नागरिकता नै त्यागे।
सरकारको लगानी बालुवामा पानी भयो। आफ्नो खुट्टामा उभिएपछि न उसलाई बाबुआमा चाहियो, न देशको भूभाग, न सरकार, न नागरिकता। नागरिकता त्यागिसकेपछि बाबुआमाले सन्तान हकदाबी गर्ने कुनै बाटो नै रहँदैन। तैपनि आफ्नो सन्तान भेट्न जाने भन्दै दूतावासको चक्कर काटिरहेका छन् अभिभावकहरू। यसमा कमजोर सरकार देखिन्छ।
सन्तानले नागरिकता त्याग्ने बेलैमा सरकारले अभिभावकलाई प्रष्ट पारिदिनुपर्थ्यो—नागरिकता त्यागेपछि आफ्नो सन्तान भन्ने बाटो रहँदैन भनेर सरकारले स्पष्ट पारिदिनुपर्थ्यो। तर सरकारले त्यसो गरेन। एउटा जिल्लाबाट अर्को जिल्ला बसाइँसराइ गरेमा त पुरानो जिल्लासँग सबै सम्बन्ध तोड्नुपर्छ भने, यो त नागरिकताको कुरा।
सरकारले १६ वर्ष पुगेपछि नागरिकता दिने व्यवस्था गरेको छ। नागरिक भएपछि घरजग्गालगायतका सम्पत्ति आफ्नो नाममा राख्न पाइन्छ। बैंक खाताको हकमा १८ वर्ष लाग्नुपर्छ। घरजग्गा बिक्री गर्न जाँदा मालपोतका हाकिमले अगाडि उभ्याएर मञ्जुरी, ल्याप्चेबारे सोधीखोजी गर्छन्। पैसा लिए–नलिएको भनी पनि सोध्छन्।
एकपटक बेचेको सम्पत्ति फेरि मलाई चाहियो भन्ने पाइँदैन। अभिभावकले यसरी नै आफ्ना सन्तान ‘बेचेका’ छन्। नागरिकता त्याग्नु भनेको आमाबुवा त्याग्नु, आफ्नो सम्पत्ति त्याग्नु हो। लाखौँले नेपाली नागरिकता त्यागेका छन्। ‘कमाएर पठाउँछु, तपाईंलाई पाल्छु’ भनेर छोराछोरीले विदेशको नागरिकता लिन्छन्।
यता, अभिभावकको चाहिँ बिजोग छ। आफैंले जन्माएको, हुर्काएको सन्तान भेट्नका लागि अभिभावकले सास्ती खेपिरहनुपरेको छ। आफ्नो सन्तान र सम्पत्ति गुमेको अभिभावकले थाहा पाएनन्। आफैंले २० देखि ४० लाख रुपैयाँ खर्च गरेर विदेश पठाउँछन्, अहिले त्यहीँ सन्तान भेट्न दुःख पाइरहेका छन्।
यता, सरकारले पनि आफ्नो जनशक्ति गुमेको सुइँको पाएन। पूँजी र जनशक्ति जम्मै बाहिर जाँदाको असर सरकारले भोग्दै छ। यता, अभिभावकले पनि बल्ल बुझ्दैछन्। तर, समय घर्किएपछि चेत आएर के फाइदा?
नेपाल प्राकृतिक रूपमा सुन्दर छ। विदेशीहरू यहाँ आउँछन्, वाहवाह गर्छन्। यद्यपि, उनीहरू आफ्नो देश छोड्दैनन्। तर, नेपाली त देश छोड्न अब्बल छन्। अमेरिका, अष्ट्रेलिया नेपालको पूँजी र जनशक्तिले बनेका हुन्। त्यही पूँजी र जनशक्ति यहाँ प्रयोग गर्न पाएको भए आज देशले कोल्टो फेर्थ्यो। तर, सरकारले यो कुरा कहिल्यै बुझेन।
जनतालाई आफ्नै देशमा बस्नुपर्छ, काम गर्नुपर्छ भनेर सिकाएन। जसको नतिजा विस्तारै देखिँदैछ। अमेरिका–अष्ट्रेलियाले सन्तान लगिहाले, यहाँ अभिभावकको बिजोग छ। मर्ने बेलामा एक मुठ्ठी पानी दिने पनि कोही छैनन्।
उमेर भएकालाई धमाधम आफ्नो देश भित्र्याइरहँदा विकसित मुलुकले अभिभावकलाई भने लग्दैन। आफ्नो देशका लागि बोझ हुन्छन् भनेर भिसा नै दिँदैनन्। बुढाबुढीलाई यही त कोठा दिँदैनन् भने भिसा त परको कुरा हो। निरोगी, युवा, राम्रो जागिर भएकालाई मात्र कोठा दिने चलन छ। एउटा नेपालीले अर्को नेपालीलाई यस्तो व्यवहार गर्छ भने विदेशले त भिसा नदिनु स्वाभाविकै हो।
अमेरिका–अष्ट्रेलियालगायतका मुलुकको रणनीति नै पढेको, सम्पत्ति भएका, निरोगी, काम गर्न सक्नेहरूलाई आफ्नो देश लैजाने हो। सरकारी सेवालाई छान्याभन्दा बढी छान्छन् यी मुलुकले। सरकारले अब एनओसी दिन बन्द गर्नुपर्छ। वैदेशिक रोजगारीमा जान दिनुपर्छ, तर पढ्ने नाममा एनओसी नदिऊँ। किनकि यसले देशलाई क्षति हुन्छ, अभिभावक पनि मर्कामा पर्छन्।
उनीहरू उता आफ्नो जिन्दगीमा मस्तमग्न हुन्छन्, यहाँ अभिभावकको बिल्लीबाठ। अब सरकार सचेत हुनुपर्छ। छोराछोरीको अमेरिका–अष्ट्रेलियाको भिसा लाग्नेबित्तिकै अभिभावकले आफन्त बोलाएर भोज खान दिन्छन्। भिसा नलाग्दा मात्र उनीहरूको चेत खुल्छ।
हिजो सन्तानले उताको नागरिकता पाउँदा गद्गद् भएकाहरू अहिले निराश बनेका छन्। छोराछोरी अर्को देशको नागरिक भएपनि अभिभावक नेपाली नागरिकता बोकेरै बसेका छन्। सरकारले उनीहरूलाई पेन्सन र भत्ता दिइरहेकै छ। भोलि बाबुआमा मर्दा सन्तान आउन सकेनन् भने त्यसको जिम्मा सरकारले लिन्छ। दाहसंस्कारदेखि सबै कर्म सरकार र नेपालीले गर्छन्।
आफ्नै रगत भएपनि अर्को देशको नागरिक भइसकेपछि केही काम लाग्दैन। मर्दा र पर्दा आफूसँग नहुने सन्तानहरू के कामको? नाम मात्रको सन्तान बन्छन्। अन्तिममा काम लाग्ने त त्यही छिमेकी र सरकार हो।
उमेर ढल्किँदै गएपछि अभिभावकहरूले छोराछोरीको अभाव महसुस गर्छन्। ‘छोराछोरीलाई विदेश पठाउनुको साटो यही राखेको भए हुन्थ्यो’ भनेर उनीहरू थकथकाउँछन्। छोराछोरी अर्काको नागरिक बनाइसकेपछि थकथकी मानेर के फाइदा?
बुवा जुन देशको नागरिक हो, उसको सन्तान त्यही देशको नागरिक हुन्छ। नागरिकता त्यागिसकेका व्यक्तिहरूको सन्तानको पनि नेपालसँग कुनै सम्बन्ध रहँदैन। सरकारी विद्यालयमा पढ्नेहरू खाडी गएका छन्। पढेर रेमिट्यान्स पठाएका छन्। आफ्नो सन्तान पालेका छन्। फर्किएर आएर आफ्नो सन्तान र परिवारसँग रमाएका छन्।
यहीँ मतदान गर्छन्, सरकारलाई कर तिर्छन्। तर, निजी विद्यालयमा पढेकाहरू जम्मै अमेरिका–अष्ट्रेलिया पुगेका छन्। प्रश्न उठ्छ—निजीले कस्तो शिक्षा दिइरहेको छ? प्रश्न उठ्छ।
राज्य र अभिभावक अब सचेत हुनुपर्छ। आफ्नो सन्तान र सम्पत्ति गुमाउने काम अभिभावक र राज्यबाट नहोस्। नेपाली नागरिकता त्यागेकाले त्यागिहाले, अब त्याग्न नदिऔँ ।