बुधबार, २७ फाल्गुन, २०८२

युवा विदेश र जेलमा, संकटमा देशको भविष्य !

श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमती पनि विदेश उड्छिन् । आमाबुवा नै विदेश उडेपछि छोराछोरीको बिजोग हुन्छ । सुरक्षा निकाय तथा निजामती सेवामा जागिर खान १८ वर्ष पुग्नुपर्छ । जबकि पहिले आर्मी, प्रहरीमा १६ वर्षकै उमेरमा जागिर खान पाइन्थ्यो । पहिला–पहिला एउटै व्यक्तिका सन्तान डेढ–दुई दर्जनसम्म हुन्थे ।

१८ वर्षदेखि ५२ वर्षसम्म उमेरका नेपालीहरू रोजगारीको सिलसिलामा खाडी लगायत विभिन्न मुलुक गइरहेका छन् । विदेश जानुअघि उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ । काम गर्न सक्ने क्षमता भएका र कुनै पनि रोग नलागेका व्यक्तिलाई मात्र विदेशीले भिसा दिन्छ । देशमै बसेर आफ्नो भविष्य निर्माण गर्ने बेला युवाहरू निरोगी अवस्थामा विदेश जान्छन् ।

उनीहरूको बल, बुद्धि केही पनि देशलाई काम लाग्दैन । उनीहरूले जतिपनि काम गर्छन्, त्यसले विदेशीलाई मात्र फाइदा पुग्छ । उसको देश विकास हुन्छ । विदेश अर्थात् खाडी मुलुक गएकाहरू मध्ये कोही दुई वर्षमै फर्किन्छन् त कोही दशकसम्म त्यही बस्छन् । कतिपय चाहिँ बाकसमा प्याक भएर आउँछन् ।

अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुक गएकाहरू त त्यतै बस्छन् । विदेश गएर पैसा त कमाउँछन्, सँगै रोग पनि बोकेर आइरहेका छन् नेपाली । विदेश जाँदा केही पनि रोग नलागेका अधिकांशको मिर्गौला फेल भएको पाइएको छ । अन्य गम्भीर रोगबाट समेत उनीहरू पीडित भएका छन् । उनीहरूले विदेशमा कमाएको पैसा यहाँ उपचार गर्दागर्दै सिद्धिन्छ ।

अर्को कुरा, विदेश (खाडी) गएका पुरुष तथा महिलाको विवाहसमेत हुँदैन । खाडी गएर आएकालाई आफ्ना छोराछोरी दिन मान्दैनन् अभिभावकहरू । अमेरिका, अस्ट्रेलिया भने तुरुन्त केटाकेटी पाइन्छ त खाडी गएकाको त बिहे हुन मुस्किल छ । पहिलापहिला सन्तानमाथि निकै कडाइ गर्थे अभिभावक । एक रात पनि घरबाहिर बस्न दिइँदैनथ्यो ।

सन्तानका हरेक कुरा अभिभावकलाई थाहा हुन्थ्यो । १६ वर्ष अगाडि वा पुगेपछि केटा र केटीको बिहे गरिदिइन्थ्यो । अहिले सरकारले १६ वर्ष पुगेपछि नागरिकता दिन्छ । १८ वर्ष उमेरपछि विदेश जान पासपोर्ट बनाइदिन्छ । तर, बिहे गर्नका लागि चाहिँ २० वर्ष तोकेको छ । अनि बिहे नगरी १८ वर्षमा उनीहरू विदेश जान्छन् ।

विमानस्थलमा विदेश जानेहरूको लर्को देखिन्छ । १८ वर्ष उमेरका आफ्ना छोराछोरी विदेश पठाउन अभिभावकहरू एअरपोर्टमा बिदाइका निम्ति आएको दृश्य छ्यापछ्याप्ती देखिन्छन् । मानिसहरूलाई पैसा नै सबथोक भएको छ । पैसाका लागि आफ्ना छोराछोरी बेचिरहेका छन् । पैसाकै लागि उनीहरूको सुनौलो भविष्य चकनाचुर पार्ने काम भइरहेको छ ।

पछिल्लो समय प्लस टु पास गर्नेबित्तिकै विदेश जाने चलन चलेको छ । देशमै बसेर उच्च शिक्षा हासिल गरी केही गर्नुपर्ने युवा–युवतीहरू धमाधम विदेश पलायन भइरहेका छन् । विदेश नजाऊ भनेर सम्झाउनुपर्ने अभिभावकहरू पनि उल्टै छोराछोरीलाई विदेश जान हौसाइरहेका छन् । ‘अरूको छोराछोरीले विदेश गएर यति कमायो, तँ पनि जा’ भन्छन् । जसले पहिले देशमै केही गर्ने सोच राखेका उनीहरू परिवारको दबाबका कारण पनि विदेश जान बाध्य हुन्छन् ।

विदेश जान्छन्, महिनामा लाखौं कमाउँछन् । परिवारको हरेक आवश्यकता पूरा गरिदिन्छन् । पछि उसलाई नै हेरिदिने कोही हुँदैन । विदेशबाट रोग पालेर आएपछि परिवारको साथसमेत छुट्छ । एकातिर बिहे भएको हुँदैन, अर्कोतिर विदेशमा कमाएको पैसा उपचार गर्दागर्दै सिद्धिन्छ । अन्तिममा उसको मृत्यु हुन्छ, वंश पनि नासिन्छ ।

यता, बिहे गरेर विदेश गएकाहरूले पनि घरपरिवार तहसनहस भएको छ । लोग्ने विदेश भएपछि स्वास्नीले यहाँ अर्कैसँग सम्बन्ध राख्ने वा स्वास्नी विदेश भएमा लोग्नेले अर्कैसँग सम्बन्ध राख्ने । कतिपयको चाहिँ विदेशमै पनि प्रेम सम्बन्ध बस्छ । अनि उसले नेपालमा रहेकी आफ्नी श्रीमती, छोराछोरीलाई बेवास्ता गर्दै पछि सम्पर्कविहीन बनिदिन्छ ।

श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमती पनि विदेश उड्छिन् । आमाबुवा नै विदेश उडेपछि छोराछोरीको बिजोग हुन्छ । सुरक्षा निकाय तथा निजामती सेवामा जागिर खान १८ वर्ष पुग्नुपर्छ । जबकि पहिले आर्मी, प्रहरीमा १६ वर्षकै उमेरमा जागिर खान पाइन्थ्यो । पहिला–पहिला एउटै व्यक्तिका सन्तान डेढ–दुई दर्जनसम्म हुन्थे ।

पाँच–सात जना सन्तान त सामान्य हुन्थ्यो । अहिले बिहे नै गरिँदैन । बिहे गरिहाले पनि सन्तान जन्माइँदैन । जन्माइहाले पनि एउटा वा बढीमा दुईटा सन्तान मात्रै जन्माइन्छ । अनि त्यो सन्तान पनि विदेश पठाइन्छ । विदेश नगएका युवा–युवती लागूऔषध, मादक पदार्थ, जुवातासमा फसिरहेका छन् । देशको लागि काम गर्नुपर्ने उमेरमा उनीहरूले कुलतमा फसेर आफ्नो जीवन नै सिध्याएका छन् ।

अहिले जेलमा रहेका कैदीमध्ये अधिकांश युवा–युवती छन् । कोही लागूऔषधको आरोपमा जेल सजाय काटिरहेका छन् त कोही हत्या, कुटपिट, जबरजस्ती करणी लगायत विभिन्न अभियोगमा । उनीहरूको जीवन नै बर्बाद गएको छ । किनकि एकचोटि जेल गएपछि उनीहरूलाई समाजमा हेर्ने दृष्टिकोण फेरिन्छ । उनीहरू पनि समाजमा बस्न सक्दैनन् ।

अनि फेरि कुलतमा लाग्छन् । यसरी जेल गएका युवा–युवती निस्किएपछि समेत सोही गतिविधिमा संलग्न हुन्छन् । उनीहरूको जीवन नै जेल भित्र–बाहिर गर्दा सिद्धिन्छ । केही वर्षअघिसम्म गाउँ मात्र खाली थियो, अचेल त शहरसमेत सुनसान देखिन्छ । कतै पनि युवा–युवती देखिँदैनन् या भनौं देशमा युवा नै छैनन् । अधिकांश युवा रोजगारीको सिलसिलामा विदेश गएका छन् त बचेका युवा कुलतमा फसी जेल सजाय काटिरहेका छन् । यो अवस्थाले नेपालको भविष्यप्रति चिन्ता बढाएको छ ।

हाम्रो देशको भविष्य कहाँ छ ? युवाहरूको अवस्थाले छर्लङ्ग देखाउँछ । देश विकास गर्न देशमा युवा नै नभएपछि कसरी विकास हुन्छ ? सरकारले पनि यसबारे सोच्नैपर्ने अवस्था आइसकेको छ । नभए देशको भविष्य पनि अहिले विदेश गई रोग पालेका आएका युवाहरूको अवस्थाजस्तै हुनेछ । सरकारले रेमिट्यान्स मात्र होइन, युवाको भविष्यबारे पनि सोच्नुपर्छ ।

पहिले–पहिले दशैँ तिहारमा टिका लगाउँदा ठूलाबडाले आशीर्वाद दिन्थे, ‘तिम्रो सन्तानले डाँडाकाँडा ढाकोस् ।’ धेरै सन्तान भएकाहरू धनी मानिन्थ्यो । एउटा न एउटा सन्तानले केही प्रगति गर्छ भनिन्थ्यो । र, उनीहरूले गर्थे पनि । त्यस्तै, झगडा पर्दा ‘तेरो घरमा सिस्नो उम्रियोस्, सन्तान मासिहालोस्’ भनेर सराप दिइन्थ्यो ।

यो सराप देशभरलाई लागेको छ । किनकि गाउँ रित्तिएको छ । छोराछोरी विदेशमा छन् । एउटै सन्तान भएपनि सँगै बस्न पाइएको छैन । भएको सन्तानले बिहे गर्न मान्दैन । बिहे गरेर के हुन्छ ? भन्दै प्रश्न गर्छन् । अनि देशमा शिक्षाको विकास भएर के भयो ? जब मानिसहरूले आफ्नै देश र भविष्यबारे सोच्न सक्दैनन् ।

किताबी ज्ञान त धेरैले हासिल गरे । व्यवहारिक ज्ञान चाहिँ कसैमा भएन । अहिले नेपाली विदेशमा छन्, नेपालमा चाहिँ भारतीयहरू छ्यापछ्याप्ती छन् । यस्तै भइरहे भारतीयले नेपाल नै कब्जा गर्न सक्छन् । अभिभावकले सन्तान र सरकारले नागरिकको महत्त्व नबुझ्दा देशकै भविष्य अन्योल र संकटमा परेको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार