सोमबार, २ असार, २०८२

नेपाल एकीकरणदेखि व्यवस्था परिवर्तनसम्म नेपालीको योगदान, नेमकिपाद्वारा कार्यक्रममा फोटो टाँसेर विदेशीको सम्मान!

बाजागाजासहित र्‍याली निकालेर नेमकिपाका नेता–कार्यकर्ता सल्लाघारी चौरमा भेला भए। कार्यक्रममा सहभागी सबै नेपाली थिए। रोचक प्रसङ्ग के हो भने, नेपालीहरू उपस्थित भएको कार्यक्रमको मञ्चमा सबै विदेशी नेताको फोटो झुण्ड्याइएको थियो।

नेपाल मजदुर किसान पार्टी ‘नेमकिपा’ले गत फागुन १६ देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा आफ्नो आठौँ महाधिवेशन गर्यो। नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गामा नेमकिपाले भव्य कार्यक्रमस्थल बनाएर महाधिवेशन गरेको छ। कार्यक्रमको पहिलो दिन विभिन्न ठाउँबाट र्‍याली निकालियो।

बाजागाजासहित र्‍याली निकालेर नेमकिपाका नेता–कार्यकर्ता सल्लाघारी चौरमा भेला भए। कार्यक्रममा सहभागी सबै नेपाली थिए। रोचक प्रसङ्ग के हो भने, नेपालीहरू उपस्थित भएको कार्यक्रमको मञ्चमा सबै विदेशी नेताको फोटो झुण्ड्याइएको थियो। एक जना नेपाली नेताको पनि तस्बिर थिएन।

त्यही फोटोको तल अध्यक्ष नारायणमान बिजुक्छेँ, सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बसेका थिए। बाइसे र चौबिसे राज्यमा छरिएको नेपाललाई एकीकरण गर्ने गोरखाका राजा पृथ्वीनारायण शाह हुन्। ठूलो सङ्घर्ष र धेरैको बलिदानपछि देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ।

देशमा यो व्यवस्था ल्याउनका लागि १७ हजार नेपालीले आफ्नो ज्यान दिएका छन्। १० वर्षे जनयुद्धको क्रममा हजारौँ नागरिक अङ्गभङ्ग भएका छन्। नेपालको संविधान, २०७२ जारी भएर कार्यान्वयनमा छ। नेमकिपाले देशको संविधान मान्छौँ र व्यवस्थाअनुसार चल्छौँ भनेर स्वीकार गरिसकेको छ।

संविधान बनेपछि २०७४ सालमा भएको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रेम सुवालले चुनाव जिते। २०७९ मा पनि उनले भाग लिए, जिते। मेयरमा पनि सुनिल प्रजापतिको दुई कार्यकाल भएको छ। संविधान जारी भएपछि चुनाव लड्नु भनेको संविधान मान्नु हो।

२०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउँदा हजारौँ नागरिक शहीद र घाइते भए। २०४८ देखि २०७० सालसम्म भक्तपुर १ नम्बर क्षेत्रबाट नारायणमान बिजुक्छेँले चुनाव जितेका छन्। पहिले नेमकिपाले भक्तपुर २ नम्बर क्षेत्रबाट पनि चुनाव जित्थ्यो।

कालिकोट र जुम्लामा पनि नेमकिपाले चुनाव जितेको इतिहास छ। हाल मुलुक जहाँ छ, त्यो नेपाली जनताको योगदान हो। नेपाली जनता नलडिदिएको भए, आज यिनीहरूले ठाउँ पाउँथे? हरेकपटक व्यवस्था परिवर्तन हुँदा जनताले आफ्नो ज्यान दिएका छन्। व्यवस्था परिवर्तन भएपछि नारायणमान बिजुक्छेँ, प्रेम सुवाललगायत सांसद बन्न पुगे।

तर, उनीहरूले जनताको योगदानको सम्मान गरेनन्। पृथ्वीनारायण शाह र नेपालका शहीदहरूको तस्बिर राख्नुको सट्टा विदेशीको तस्बिर ल्याएर झुण्ड्याइयो। यस्तालाई के आधारमा नेता भन्ने? यिनीहरू जनताले तिरेको कर खान मात्र आएका होइनन्? नेपालको नेता भन्ने अनि विदेशीको सम्मान गर्ने। यस्ता पनि नेता?

यिनीहरूले जनतालाई भ्रमित बनाउने काम गर्दै आएका छन्। जनताले तिरेको करबाट तलब खाने, लुगा लगाउने, सरकारी गाडी चढ्ने अनि फोटोचाहिँ विदेशीको टाँस्ने? यिनीहरूलाई पदमा पुर्‍याउन जनताले दिनभर लाइनमा उभिएर मतदान गरे। यिनीहरूले त त्यो मतको पनि अपमान गरे।

ट्रष्टको जग्गामा कार्यक्रम गरेको भनी चौतर्फी विरोध भएपछि फागुन १७ गते कार्यक्रमस्थल सारियो। २०२४ सालमा राजपरिवारले खरिद गरेको सल्लाघारी चौरको १०८ रोपनी दुई आना एक दाम जग्गामध्ये अधिकांश हिनामिना भइसकेको छ। एक हजार रुपैयाँ प्रतिरोपनीमा राजा महेन्द्रले त्यहाँका स्थानीयसँग खरिद गरेको जग्गामा अब जम्मा ७०–७५ रोपनी बाँकी छ। त्यहाँको जग्गा मिच्नेहरू सबै नेमकिपाका कार्यकर्ता हुन्।

भोटका लागि उनीहरूले जग्गा मिच्नेलाई संरक्षण गरिरहेका छन्। व्यक्तिले मिचेर बाँकी भएको जग्गामा घेराबार लगाइएको छ। सरकारको सम्पत्तिमा व्यक्तिहरूले रजाइँ गरिरहेका छन्। स्थानीय बिकुलाल ख्याउँजुले तीनवटा ढुङ्गेधारा पुरेर ठूलो घर बनाएका छन्। सो घरमा फलफूल र किराना पसल सञ्चालनमा छ।

सल्लाघारीको आर्मी ब्यारेकमुनि दायाँबायाँ, दुवाकोट जाने टर्निङ, हनुमन्ते खोलाभन्दा यता सिर्जनानगरको जग्गा २०२८ सालमा नापी भएको थियो। ती जग्गा ऐलानी, सरकारी र गुठी भनी दर्ज गरिएको छ। २०३० सालसम्म त्यहाँ एउटा छाप्रो पनि थिएन। २०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले छाप्रो बनाए।

२०३५ सालमा एक जनाले कच्ची इँटाको घर बनायो, जस्तापाताको छाना हाल्यो। २०४६ मा बहुदलीय व्यवस्था आएपछि यो ठाउँको हजारौँ रोपनी जग्गा नेमकिपाले आफ्ना कार्यकर्ताको नाममा दर्ता गर्‍यो। यो ठाउँको जग्गा आनाको २५ लाखदेखि करोडसम्म पर्छ। ७६ जिल्लाका मानिसले यहाँ जग्गा किनेर घर बनाएका छन्।

आफ्नो जिल्लामा हुँदा विभिन्न पार्टीमा लागेका देखि बहालवाला र भूतपूर्व सरकारी कर्मचारीले यहाँ जग्गा किनेर घर बनाएको पाइन्छ। उनीहरूले आफ्नो पैसा हालेर जग्गा किनेका छन्, घर निर्माण गरेका छन्। तर, उनीहरू नेमकिपालाई नै मतदान गर्छन्। यसको कारण हो–जग्गा बचाउने खेल।

अर्को पार्टी आएमा आफ्नो जग्गा सरकारको नाममा जान्छ भन्ने डर त्यहाँका स्थानीयलाई छ। तर, कहिलेसम्म नेमकिपाले जोगाउँछ? सरकार लागेपछि कसको के लाग्छ? भोलि कसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्यो र अख्तियार तात्यो भने त सबै मुछिन्छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल ट्रष्टले आफ्नो सम्पत्ति नखोज्दासम्म यिनीहरू बच्लान्। यद्यपि, कुनै न कुनै दिन यिनीहरूको यो खेल बाहिर आउने नै छ। सरकारी सम्पत्ति दोहन गर्नेहरू कानुनको कठघरामा उभिने नै छन्। प्रतिनिधिसभामा २७५ जना सांसद छन्।

नेमकिपाबाट एक जना मात्र सांसद छन्–प्रेम सुवाल। सुवाल सदनमा भन्छन्, ‘भ्रष्टाचारीलाई टुँडिखेलमा लगेर झुण्ड्याउनुपर्छ।’ त्यसो भए उनको हकमा के गर्ने? जनताले अरू सांसदलाई सोध्छन्, ‘भक्तपुरको सरकारी जग्गा यिनीहरूले गलत रूपमा आफ्ना कार्यकर्तालाई दिएका छन्। यिनीहरूलाई कारबाही गर्नुपर्दैन? मुखमा कहिलेसम्म बुझो हालेर बस्ने?’

सत्तामा नगएको व्यक्तिले चाहिँ के गलत काम नै गर्दैन? आफू जोगिन र कसैले प्रश्न नउठाओस् भन्ने भएरै सुवाल कुनै पदमा नगएको प्रष्ट छ। अधिवक्ता युवराज सफलले रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साहविरुद्ध मुद्दा दायर गरे। तर, नारायणमान बिजुक्छेँ, प्रेम सुवाल र सुनिल प्रजापतिलाई किन मुद्दा हालेनन्?

कानुन व्यवसायीहरूले यिनीहरूविरुद्ध मुद्दा दायर गर्नुपर्छ। यिनीहरूलाई कानुनको कठघरामा उभ्याउन आवश्यक भइसकेको छ। गलत काम गर्नेहरू कानुनको हातबाट नउम्किऊन्। देशको व्यवस्था जनताले परिवर्तन गरेका हुन्, देशको भूमिको संरक्षण नेपालीले गरेका हुन्। कर तिर्ने पनि जनता नै हुन्।

अनि विदेशीको फोटो टाँसेर भाषण ठोक्नेलाई अब जनताले चिनिराख्नुपर्छ। यिनीहरूलाई नेपाली नेता भन्नु व्यर्थ छ। यिनीहरू जनताले तिरेको करमा तर मार्न मात्र आएका हुन्। भक्तपुरमा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, तालपोखरी, मठमन्दिरको जग्गा कति थियो? अख्तियारले खोजोस्।

भूमि मन्त्रालयको पनि ध्यान जाओस्। कुसुमदेवी थापा नेतृत्वको संसदीय समितिले पनि यो विषयमा चासो राखोस्। जनता कसैको दासी होइनन्। नेपाल सबैको हो। सरकारी सम्पत्ति सबैको साझा हो। जनतालाई भ्रममा राखेर नियामक निकायलाई अन्धकारमा पारेर सरकारी सम्पत्ति दोहन गर्नेहरूलाई कारबाही गरियोस्।

कानुन सबैलाई समान लाग्छ। सरकारी सम्पत्ति दोहनको कसूरमा अरू जेल गइरहँदा यिनीहरूको अगाडि कानुन किन निरीह? जनताले अब आँखा खोलौँ, अपराध गर्नेहरूको विरोध गरौँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार