सोमबार, ८ पुष, २०८१

“लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो,” मुख्यमन्त्री कँडेल

सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै पञ्चायती व्यवस्थाको विकल्पको संकेत गरेपछि मुख्यमन्त्री कँडेलले जवाफ दिएका हुन्। उनले भने, “व्यक्ति वा प्रवृत्तिलाई हेरेर लोकतन्त्रको विकल्प पञ्चायती शासन हुन सक्दैन।”

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकल्प पञ्चायती व्यवस्था हुन नसक्ने स्पष्ट पारेका छन्।

जुम्लाका पत्रकारहरुसँगको छलफलका क्रममा उनले लोकतन्त्रको विकल्पलाई अझ उन्नत र सबल लोकतन्त्रका रूपमा परिभाषित गर्दै वर्तमान व्यवस्थामा सुधारको आवश्यकता औंल्याए।

सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै पञ्चायती व्यवस्थाको विकल्पको संकेत गरेपछि मुख्यमन्त्री कँडेलले जवाफ दिएका हुन्। उनले भने, “व्यक्ति वा प्रवृत्तिलाई हेरेर लोकतन्त्रको विकल्प पञ्चायती शासन हुन सक्दैन।”

सांसद शाहीले हालको राजनीतिक अस्थिरता र भ्रष्टाचारलाई इंगित गर्दै व्यवस्थाको विकल्प खोजिनुपर्ने बताइरहेका छन्।

तर, मुख्यमन्त्री कँडेलले यस्तो तर्कलाई खारेज गर्दै लोकतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान चुनौती भएको बताए।

उनले थपे, “लोकतन्त्रको मुल्य, मान्यता र प्रक्रियामा सुधार गर्दै यसको प्रभावकारिता वृद्धि गर्नुपर्ने बेला हो। विगतका त्रुटिहरूलाई सच्याउँदै जनताको अधिकार संरक्षण गर्ने प्रणालीलाई उन्नत बनाउनु आवश्यक छ।”

मुख्यमन्त्री कँडेलले लोकतन्त्रका पक्षमा आफ्नो अडान दोहोर्‍याउँदै, सबै राजनीतिक दलहरूले साझा रूपमा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “हामीले समस्या देख्न र समाधान खोज्न सिक्नुपर्छ। लोकतन्त्र सबैका लागि हो। यदि यसलाई कसैले कमजोर बनाउने प्रयास गर्छ भने त्यसले जनता र राज्य दुबैलाई हानी पुर्‍याउँछ।”

कँडेलले लोकतान्त्रिक प्रणालीभित्र रहेर विकासका कार्यहरूलाई द्रुत र परिणाममुखी बनाउने तर्फ ध्यान दिन आग्रह गरे।

उनले भने, “लोकतन्त्रको नाममा हुने ढिलासुस्ती र गैर-जिम्मेवारीलाई हटाउँदै पारदर्शिता र जवाफदेहिताको आधारमा शासन चलाउनुपर्छ।”

मुख्यमन्त्री कँडेलले लोकतन्त्रका विविध पक्षमाथि प्रकाश पार्दै नेतृत्वको भूमिका र राजनीतिक दलहरूको उत्तरदायित्वबारे चर्चा गरे।

उनले जनताले विश्वास गर्ने राजनीतिक वातावरण निर्माण गर्न नेतृत्व वर्गले इमानदार प्रयास गर्नुपर्ने धारणा राखे।

उनले भने, “लोकतन्त्र केवल सत्ता र पदको विषय होइन, यो जनताको आकांक्षासँग जोडिएको प्रणाली हो। यसमा कुनै पनि प्रकारको अपारदर्शिता र गैर-जिम्मेवारीलाई स्थान दिनु हुँदैन।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार