मंगलवार, १३ आश्विन, २०८३

पञ्चदेवल विनायकमा कांग्रेस नगर सभापति चयनमै लफडा, मतदान रोकिएपछि क्षेत्रीय अधिवेशन बहिष्कार

नेपाली कांग्रेसको पञ्चदेवल विनायक नगरपालिकामा नगर सभापति चयनका लागि मतदान प्रक्रिया अघि नबढेपछि पार्टीभित्र विवाद चर्किएको छ । नगर सभापति चयन नगरी क्षेत्रीय अधिवेशनको उद्घाटन प्रक्रिया अघि बढाइएको भन्दै कांग्रेसका प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।

नगर नेतृत्व चयनका लागि सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेलाई जिम्मेवारी दिइएको थियो । तर, नगर सभापति पदमा आफूअनुकूल नेतृत्व चयन हुने अवस्था नदेखिएपछि मतदान वा सहमतिमार्फत नेतृत्व टुंगो लगाउने प्रक्रिया अघि नबढाइएको केही प्रतिनिधिको आरोप छ ।

प्रतिनिधिहरूका अनुसार नगर सभापति चयनका लागि सहमतिको प्रयाससमेत प्रभावकारी रूपमा अघि बढ्न सकेन । जिल्ला सभापति पुष्पबहादुर शाहले सामान्य सोधपुछ गरे पनि विवाद समाधानका लागि ठोस पहल नगरेको उनीहरूको गुनासो छ ।

नगर सभापति पदका लागि वडा अध्यक्ष कमलबहादुर रावल, प्रजापति जैसी र बलराम बिष्ट आकांक्षी छन् । कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरणमा बलराम बिष्टलाई सहमहामन्त्री अम्बिका चलाउने र सुरतबहादुर बिष्टको समर्थन रहेको बताइएको छ ।

त्यस्तै, कमलबहादुर रावललाई उपमेयर हर्क रावल र प्रजापति जैसीलाई वेदप्रकाश तिमिल्सैनाको समर्थन रहेको प्रतिनिधिहरूको दाबी छ ।

आफूअनुकूल परिणाम नआउने आकलनका कारण नगर सभापतिको निर्वाचन तथा सहमतिको प्रक्रिया लम्ब्याइएको केही प्रतिनिधिको आरोप छ । उनीहरूले नगर नेतृत्व चयनको जिम्मेवारी पाएकी सहमहामन्त्री चलाउनेले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको समेत दाबी गरेका छन् ।

नगर सभापति चयनमा भएको ढिलाइप्रति असन्तुष्ट केही प्रतिनिधिले क्षेत्रीय अधिवेशनमा समेत सहभागी नहुने चेतावनी दिएका थिए । यही क्रममा कमलबहादुर रावल समर्थक क्षेत्रीय प्रतिनिधिहरूले आजदेखि सुरु भएको क्षेत्रीय अधिवेशन बहिष्कार गरेको बताइएको छ ।

उनीहरू नेपाली कांग्रेसको देउवा पक्षमा सहभागी हुने सम्भावना रहेकोसमेत कांग्रेसभित्र चर्चा चलेको छ । यद्यपि, यसबारे सम्बन्धित प्रतिनिधिहरूबाट औपचारिक निर्णय वा धारणा सार्वजनिक भइसकेको छैन ।

नगर सभापति चयनलाई लिएर देखिएको विवादले पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेसको अधिवेशन प्रभावित भएको छ । पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र नेतृत्व चयनको विवादले क्षेत्रीय अधिवेशनसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

नगर सभापति चयनमा भएको विवाद, मतदान प्रक्रिया रोकिएको विषय तथा आफूहरूमाथि लगाइएको आरोपबारे सहमहामन्त्री अम्बिका चलाउने, जिल्ला सभापति पुष्पबहादुर शाहलगायत सम्बन्धित नेताहरूको औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार