शनिबार, ५ बैशाख, २०८३

०८४ को चुनाव लक्षित गर्दै हिमामा अध्यक्षका लागि एकपछि अर्को उम्मेदवारी घोषणा

अध्यक्ष पदका लागि विभिन्न उम्मेदवारहरू अघि आउन थालेसँगै हिमा गाउँपालिकाको राजनीतिक माहोल थप तातिएको छ।

आगामी २०८४ सालको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा हिमा गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बन्दै गएको छ। यसै क्रममा हिमा गाउँपालिका–३ मोफ्लामा जन्मिएका युवा नेता गोपाल रोकायाले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

स्थानीय युवामाझ आयोजित एक कार्यक्रममा रोकायाले आफूले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका हुन्। उनले “क्रान्तिको परिकल्पना नै परिवर्तनको जग हो” भन्ने धारणा राख्दै राजनीतिक परिवर्तनमार्फत समग्र विकास सम्भव हुने विश्वास व्यक्त गरे।

जनआन्दोलनका सक्रिय सहभागीसमेत रहेका रोकाया आफूलाई सामाजिक परिवर्तनका लागि समर्पित व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै आएका छन्। सरल, मिजासिलो र मिलनसार स्वभावका रोकायाले सरकारी निकायमा काम गर्दाको अनुभवलाई विकास निर्माणमा प्रयोग गर्ने योजना रहेको बताएका छन्।

उनले मन्त्रालयमा काम गर्दा हासिल गरेको अनुभवलाई स्थानीय तहको समग्र विकासमा रूपान्तरण गर्ने लक्ष्य राखेको उल्लेख गरे। “परिवर्तन नै विकास हो, र विकासले जनजीवनमा सकारात्मक प्रभाव पार्छ,” भन्दै उनले आफ्नो प्राथमिकता स्पष्ट पारे।

शिक्षा क्षेत्रको सुधारलाई विशेष प्राथमिकतामा राखेका रोकायाले जुम्लाको शैक्षिक अवस्थालाई उकास्न आफू प्रतिबद्ध रहेको बताए। उनले जुम्ला जिल्लाको बहुमुखी क्याम्पसको सभापतिका रूपमा काम गर्दा शैक्षिक विकासमा योगदान पुर्‍याउन पाएको अनुभव स्मरण गर्दै त्यसलाई अझ विस्तार गर्ने योजना सुनाए।

गुणस्तरीय शिक्षा र अध्ययन व्यवस्थापनमा सुधार ल्याउनु आफ्नो मुख्य एजेन्डा हुने उनको भनाइ छ। रोकायाले कृषि क्षेत्रलाई नै अहिलेको सबैभन्दा ठूलो राजनीति भएको उल्लेख गर्दै उत्पादन र बजार व्यवस्थापनमा जोड दिएका छन्।

“कृषि उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्‍याउन र निर्यात गर्न सकियो भने गाउँमै युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ,” उनले भने। कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमार्फत आर्थिक समृद्धि सम्भव रहेको उनको विश्वास छ।

सामाजिक कार्य र विकास निर्माणलाई उच्च प्राथमिकता दिने रोकायाले राजनीतिलाई पद र व्यक्तिगत लाभभन्दा पनि परिवर्तनको माध्यमका रूपमा हेर्ने धारणा राख्छन्। उनले किसान, युवा र जेष्ठ नागरिकसँग प्रत्यक्ष समन्वय गरेर समावेशी विकासको मोडेल अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

हिमा गाउँपालिकाको समग्र विकासलाई प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको उनले दोहोर्‍याए।

यता, यसअघि नै हिमा गाउँपालिका–१ का छत्रबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्ष पदका लागि विभिन्न उम्मेदवारहरू अघि आउन थालेसँगै हिमा गाउँपालिकाको राजनीतिक माहोल थप तातिएको छ।

आगामी निर्वाचनमा नयाँ अनुहार र विचारहरूको प्रतिस्पर्धाले स्थानीय तहको विकासमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ। स्थानीय स्तरमा बढ्दो राजनीतिक सक्रियताले हिमा गाउँपालिकामा आगामी चुनाव प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार