आईतवार, १ चैत्र, २०८२

विज्ञापनमुखी बन्दा पत्रपत्रिका पढ्न छोड्दै जनता, बैलेमा सुध्रिने कि पुराना दलजसरी फ्यालिने ?

पत्रकार त्यो व्यक्ति हो, जो सूचनाको धनी हुन्छ।जनता र राज्य दुवैलाई थाहा नभएको कुरा पत्रकारलाई थाहा हुनुपर्छ। तर, अहिले त जनता र राज्यलाई थाहा भएको कुराबाट पत्रकार चाँहि अन्जान देखिन्छ ।

आम सर्वसाधारणले पत्रपत्रिका किन किन्छन् ? पक्कै पनि समाचार थाहा पाउन हो। देश वा विदेशमा भएका घटना, दुर्घटना, लुकेका जानकारी थाहा पाउन पत्रपत्रिका किनिन्छ । तर, पछिल्लो समय राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकामा सूचना वा समाचार कम र विज्ञापन वा बैंकका लिलामी सूचना बढी हुन्छन्।

बिहानै उठेर पसलसम्म पुगेर नागरिकले विज्ञापन वा लिलामी सूचना हेर्न शुल्क तिरी पत्रपत्रिका किनेका हुन् र ? आम सञ्चारमाध्यम जनताप्रति उत्तरदायी र जवाफदेही भएनन् । पत्रकारहरु अल्छी हुँदै गएका छन् भने मिडिया नाफामुखीमा बढी केन्द्रित देखिन्छन् । पत्रकारिता केबल पेशा होइन, यो राज्यको चौथों अंग हो ।

समाजको पहरेदार हो । समाजमा के भइरहेको छ ? राज्यका निकायमा भइरहेका भ्रष्टाचार वा अनियमितता बाहिर ल्याउने काम सञ्चारमाध्यमको हो । गरिब, दुःखी, अन्याय, अत्याचार, शोषणमा परेका नागरिकको आवाज बन्नु पत्रकारिता हो। पत्रकारको धर्म नै सूचना संकलन गर्नु हो। जनता र राज्यको खबरदारी गर्नु हो।

विडम्बना, अहिलेका पत्रकारहरु न समाजप्रति जिम्मेवार छन् न जनताप्रति । समाचार नखोज्ने, कपीपेष्ट गर्ने, जतिसुकै ठूलो गल्ती गरेपनि विज्ञापन दिएपछि चुप लाग्ने, दलको पछि लाग्ने, आफुलाई मर्ने नपर्ने व्यक्ति वा संघको खेदो खन्ने काम पत्रकारहरुबाट भइरहेको छ । जसले पत्रकारितालाई हेर्ने दृष्टिकोण निकै नकारात्मक बनिरहेको छ ।
पत्रकारले सत्यलाई सत्य र गलतलाई गलत भनी लेख्नुपर्छ, बोल्नुपर्छ । दुर्भाग्य, यहाँ त पत्रकार नै दलको झोले बनेका छन् । स्वार्थी व्यक्तिको पछि लागेका छन् । जनताका समस्या, पीडालाई अनदेखा गर्छन् । विज्ञापन दिने कर्मचारीको गुनगान गाउने । अनि पत्रकार नै स्वार्थमा बिकेपछि दल र कर्मचारीहरुले किन भ्रष्टाचार नगर्नु ?

राज्यका निकायमा भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गरिनुछ भने शुरुमा पत्रकारहरुकै शुद्धिकरण आवश्यक छ । किनकि अहिले पत्रकारिता केबल अरुलाई थर्काएर कमाउने भाडो बन्यो । एउटा प्रेस कार्डको आडमा अरुलाई डर, धम्की देखाएर करोडौं असुल्ने बढ्दो छ। जसले पत्रकारिता पेशा बद्नाम बनिरहेको छ।

पहिले पत्रकारलाई जोकोही सम्मानको दृष्टिले हेर्थे । पत्रकारसँग एकदमै राम्रो व्यवहार गरिन्थ्यो । त्यतिबेला जनता पत्रकार आफूहरुको आवाज भएको बताउन्ँथे । तर, अहिले पत्रकार भन्नेबित्तिर्क सर्वसाधारणमा घृणा उत्पन्न हुन्छ । उनीहरु भन्छन्, ‘अरुलाई थर्काएर कमाउने पेशा ।’ यतिमात्र होइन, पत्रकारको कामै नहुने जनताको बुझाइ छ । हुन पनि हो हो पत्रपत्रिकामा समाचार आउँदैन, अनलाइनमा सबै कपिपेष्ट । केही दशकअघिसम्म पत्रिका पढ्न मानिसको लाम लाग्थ्यो।

पत्रिका किन्नेको हानाथाप हुन्थ्यो । अहिले सित्तैमा दिएपनि पत्रिका नकिन्ने अवस्था छ । जनता भन्छन्, ‘न्यूज भए पो पत्रिका किन्नु । बेकारमै किन पैसामात्र खर्च गर्नु ।’ प्रकाशित समाचार पनि एकलौटी हुन्छन् । कसैको गुनगान गाइएको हुन्छ त कसैलाई मारी गालीगलौज । न्यूजबाटै थाहा हुन्छ कि कुन पत्रिका कोद्धारा सञ्चालित छ ? तर, जनताका गुनासो आम सञ्चारमाध्यमले सम्बोधन गरेको पाइँदैन । अहिले पनि पत्रपत्रिका हेर्ने हो भने चार पानामा दुई पाना बढी त विज्ञापन वा बैंक, वित्तिय संस्थाको धितो लिलामी सूचनै हुन्छ । बाँकी पानामा प्रकाशित समाचार पनि दलका बारेमा हुन्छन्।

कुन दलले के गर्यो ? कुन नेताले के भन्यो ? मात्र समाचार हुन्छन् । अनलाइन सञ्चारमाध्यमको हालत पनि उस्तै छ । प्रायजसो अनलाइनमा एउटै समाचार प्रकाशित भएको हुन्छ । त्यो पनि दलकै । जनतासँग जोडिएका समाचार कम देखिन्छन्, अनलाइन मिडियामा पनि ।

पत्रकार त्यो व्यक्ति हो, जो सूचनाको धनी हुन्छ।जनता र राज्य दुवैलाई थाहा नभएको कुरा पत्रकारलाई थाहा हुनुपर्छ। तर, अहिले त जनता र राज्यलाई थाहा भएको कुराबाट पत्रकार चाँहि अन्जान देखिन्छ । देशका धेरै ग्रामीण भेगमा अहिले पनि सडक छैन, बत्ती छैन, पुल छैन, विद्यालय छैन, अस्पताल छैन । सामाजिक कुरीति अझै कायमै छ । अपराध झनै मौलाउँदो छ । धनीले गरिबलाई शोषण गर्ने क्रम बढ्दो छ । राज्यका निकायमा बेथितिको चाङ छन् । खाना नपाएर जनता मरिरहेका छन्।

बैंक, वित्तिय संस्थाको मनलाग्दी ब्याजका कारण ऋण तिर्न नसकेर आत्महत्या गर्ने बढिरहेका छन् । देशको भूभाग छिमेकद्धारा कब्जा गर्ने क्रम बढ्दो छ । तर, यी विषय पत्रिकाको हेडलाइन बन्दैनन् । हेर्डलाइन बन्छन् त केबल दलका गतिविधि । अहिले महँगीका कारण जनताको जीवन कष्टकर बन्दै गएको छ । भोकभोकै जनता मरिरहेका छन् ।
विडम्बना, जनता मरेको विषय मिडियाको प्राथमिकतामा पर्दैन, किन ? नेताहरुले यो–त्यो भने । यो बैंकले यस्तो गर्यो । यो संस्था यस्तो राम्रो । यो कर्मचारी यस्तोजस्ता समाचार मात्र पत्रिका वा अनलाइनमा देखिन्छन् । अनि जनताले के बुझ्‌ने ? जनता उल्लु हुन् र मिडिया बिकेको नबुझ्‌न ?

जनता पहिलेभन्दा धेरै शिक्षित र सचेत भइसकेका छन् । के सही र के गलत ? जनता छुट्याउन सक्ने भइसके । त्यसैले, अब मिडियाहरु नसुध्रिने हो भने पलायन हुनुपर्ने खतरा आउन सक्छ । मिडिया तबसम्म सञ्चालनमा रहनसक्छन्, जबसम्म जनता साथमा छन् । जनताको विश्वास छ। तर, मिडिया आफैं जनताप्रति उत्तरदायी नहुने हो भने विलयको अवस्था आउन धेरै समय लाग्ने छैन।

त्यसकारण, सम्पूर्ण आम सञ्चारमाध्यमले आफ्‌नो कमीकमजोरी स्वीकार्दै सुधारका कार्य अघि बढाउने बेला आइसकेको छ । नभए पुराना राजनीतिक दललाई जनताले हराएझैं पुराना मिडियाको अस्तित्व सिद्धाउन पनि जनताले समय लगाउने छैनन् ।
अहिल्यै पत्रपत्रिका संकटमा परिसके । जनताले पत्रिका किन्न छोडिरहेका छन् भने अनलाइन पनि खासै हेर्दैनन् । जनताले किन पत्रिका किन्न वा पढ्न छोडे त ? सञ्चारमाध्यमले अध्ययन गरेर सुधारको काम गर्नुपर्ने हो । तर, यहाँ त जनताले पत्रिका पढेपनि, नपढेपनि सञ्चारमाध्यमलाई केही फरक परेको देखिँदैन।

उनीहरुलाई मतलब छ त केबल विज्ञापनसँग । आफ्‌नो आम्दानीसँग । सञ्चारमाध्यमहरुले बिर्सिए कि जनताको विश्वासबिना कोही टिक्न सक्दैनन् । यो कुरा बुझ्‌न अझै ढिलाई गर्ने हो भने ठूलो संकट व्यहोर्नुपर्ला है ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार