सिमित खेल हुने यो प्रतियोगितामा कर्णालीको सबैभन्दा बढी सम्भावनाको खेल अल्ट्रा म्याराथनलाई समावेश गरिएको छैन। यसले अहिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका कर्णालीका खेलाडीको मनोबल घटाउने कोसिस गरेको छ।
२०७९ जेष्ठ २२ गतेदेखि २८ गतेसम्म पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने घोषणा भएको थियो।
सोही समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीले झण्डा ग्रहण गरेका थिए। त्यसको केही महिनापछि दशौं राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न प्रदेशकै गौरवको आयोजनाका रूपमा सुर्खेतमा विशाल संरचना निर्माण गरियो।
साथै, प्रतियोगिताको मिति पनि घोषणा गरिएको थियो। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना हुने भनिएको थियो।
यो कर्णालीमा आयोजना गर्न खोजिएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। धेरै पत्रपत्रिका र सामाजिक सञ्जालमा यो समाचार प्रकाशित भएपछि खेलाडीहरू उत्साहित भए।
कर्णालीले होमग्राउन्डमा खेल्ने अवसर पाएकाले दोहोरो अंकमा स्वर्ण पदक जित्ने समाचारसमेत प्रकाशित भएका थिए।
धेरै प्रदेशले यो प्रतियोगिताका लागि जिल्ला र प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न गरी खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेका थिए।
तर, राजनीतिक उतारचढावका कारण प्रतियोगिता हुने निश्चित नभएपछि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू घर फर्कन बाध्य भए। २०८१ मंसिर २ गतेदेखि हुने भनिएको प्रतियोगिता पहिले चैत २३ गतेसम्म सरेको थियो। हाल २०८२ जेष्ठ ३ गतेदेखि १० गतेसम्म हुने भनिएको छ, तर यो पनि सम्भव हुनेमा शंका छ।
मिति पटक–पटक फेरिन्छ, तर खेलाडीको शरीरमा न त पोशाक फेरिन्छ, न त खानेकुरा उपलब्ध हुन्छ, न त एक जोर जुत्ता नै पाइन्छ, न त दिनरात प्रशिक्षणको व्यवस्था छ। केवल मिति मात्र फेरिएको छ।
खेलाडी कुनै जादुको छडी होइनन्, जसले छुमन्तरमै स्वर्ण पदक जितिदिउन्। आयोजना कर्णालीमा हुने भनिएको प्रतियोगिता नेपालगन्ज र काठमाडौंमा हुने चर्चा पनि चलेको छ।
करिब ६० करोड लागत अनुमान गरिएको यो प्रतियोगिताका लागि छलफल, भत्ता र यातायात खर्चमा लाखौं रुपैयाँ खर्च भइसकेको छ। खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर पनि ठूलो रकम खर्च भइसकेको छ, तर प्रतियोगिता अझै हुन सकेको छैन।
हालसम्म प्रतियोगिताबारे छलफल गर्न राष्ट्रिय खेलकुद परिषद्मा तीनपटक बैठक बसिसकेको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जसरी पनि गर्ने बताउँछन्।
मन्त्रीका अनुसार सबै खेल कर्णालीमा आयोजना गर्न सम्भव छैन। सुर्खेतमा बढीमा १७ वटा र कर्णालीका अन्य जिल्लामा गरी २४ वटासम्म खेल मात्र आयोजना गर्न सकिन्छ। बाँकी खेल काठमाडौं वा नेपालगन्जमा हुने उनको भनाइ छ।
सिमित खेल हुने यो प्रतियोगितामा कर्णालीको सबैभन्दा बढी सम्भावनाको खेल अल्ट्रा म्याराथनलाई समावेश गरिएको छैन। यसले अहिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका कर्णालीका खेलाडीको मनोबल घटाउने कोसिस गरेको छ।
यी सब कुराले कर्णाली नाममात्रको आयोजक बन्ने देखिन्छ। जहाँ प्रतियोगिता आयोजना गरिन्छ, त्यहाँ सम्बन्धित खेलका संरचना निर्माण हुन्छन्। जसले त्यस ठाउँको खेलकुद वातावरणको विकासमा योगदान पुर्याउँछ।
ती संरचना कर्णालीको सुर्खेतमा मात्र नभई आवश्यकता र सम्भावनाअनुसार अन्य जिल्लामा पनि निर्माण हुनुपर्छ। यसले त्यस क्षेत्रको आर्थिक र भौतिक विकासमा समेत टेवा पुग्छ।
त्यसैले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सम्पूर्ण खेल कर्णालीमै हुनुपर्छ। सम्बन्धित निकायले खेलाडीलाई २–४ वर्षमा हुने प्रतियोगिता र त्यसमा पाइने स्वर्ण पदक तथा २–३ हजारको पुरस्कारका लागि मात्र नभई व्यावसायिक खेलकुद वातावरण निर्माणमा पनि ध्यान दिनुपर्छ।
१० शौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुर्खेतमा निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला, जुन प्रदेशकै गौरवको आयोजना हो, निर्माण सम्पन्न भइसकेको छ।
केही महिनायता पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, पत्रकार र धेरै व्यक्तिले यसको अनुगमन गरिसकेका छन्। तर, अनुगमन मात्रै गरेर प्रतियोगिताको मिति पटक–पटक सारिन्छ।
केही दिनयता यो प्रतियोगितालाई लिएर सुर्खेतमा सचिवालय स्थापना गरिएको छ। सङ्घलाई मात्र दोष दिएर प्रदेश सरकार पन्छिने गरेको देखिन्छ।
कर्णालीमा आयोजना हुने भनिए पनि हालसम्म जिल्लास्तरमा नयाँ समिति बन्न सकेको छैन। प्रदेश सरकारले चासो नदिएको प्रस्ट हुन्छ।
कर्णाली खेलकुद क्लबले हरेक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको साहसिक खेलकुद प्रतियोगिता जुम्ला रारा अल्ट्रा म्याराथन आगामी २०८२ वैशाख २८ गते जुम्लामा हुँदैछ। सहभागी बनौं। घुमौं कर्णाली।