‘ओगिल्जा’ पछि उनले ‘राप्तीका अलग शब्दहरू’ समेत प्रकाशनमा ल्याएका छन्। हाल उनी त्रिपुरा पुस्तकालय स्थापनाको तयारीमा छन्, जसका लागि देशभरका साहित्यिक संस्था र प्राज्ञहरूबाट सयौँ पुस्तकहरू उपहार स्वरूप प्राप्त भइसकेका छन्।
नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय बहुचर्चित नाम बनेका अमर अधिकारी मोबाइलमै लेखिएको आत्मकथात्मक कृति ‘ओगिल्जा’ का स्रष्टा हुन्। उक्त पुस्तक मोबाइलमै कोरिएको नेपालकै पहिलो कृति हो। प्रकाशन भएको केही महिनामै बजारबाट सकिएको यो कृतिले उनलाई ‘ओगिल्जा सर’ उपनाम दिलाएको छ, जुन अहिले उनको एक पहिचान बनेको छ।
वि.सं. २०२१ सालको असारमा रोल्पा जिल्लाको खुंग्रीमा जन्मिएका अधिकारी ३९ वर्ष सरकारी सेवामा योगदान दिएपछि वि.सं. २०७९ असारमा अवकाश पाएर लेखनमा पूर्ण समय समर्पण गरिरहेका छन्। उनले लेखेको सन्देशमूलक लेख ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ ले विद्यालयका सूचना पाटीदेखि सामाजिक सञ्जालसम्म व्यापक लोकप्रियता पाएको छ। अभिभावकत्वको खस्कँदो अवस्थाबीच उनले सुझाएका उपायले शिक्षण संस्था र अभिभावक वर्गमा ठूलो प्रभाव पारेको छ।
साहित्यिक रचनासँगै उनी प्रशासनिक बेथिति, राजनीतिक कुरीति र सामाजिक विकृतिहरूविरुद्ध पनि निर्भीक रुपमा कलम चलाउने लेखकका रूपमा परिचित छन्। उनको पहिलो लेख ‘सिंहदरबारको सुरक्षामाथि सधैं प्रश्न’ प्रकाशित भएको भोलिपल्टै सिंहदरबार परिसरमा सूचना पाटीहरू ठडिएका थिए। यो घटनाले उनका लेखहरू नीतिगत तहमा समेत प्रभाव पार्ने क्षमतायुक्त भएको पुष्टि गर्छ।
‘ओगिल्जा’ पछि उनले ‘राप्तीका अलग शब्दहरू’ समेत प्रकाशनमा ल्याएका छन्। हाल उनी त्रिपुरा पुस्तकालय स्थापनाको तयारीमा छन्, जसका लागि देशभरका साहित्यिक संस्था र प्राज्ञहरूबाट सयौँ पुस्तकहरू उपहार स्वरूप प्राप्त भइसकेका छन्।
अधिकारी सामाजिक सञ्जाल र डिजिटल मञ्चहरूमा पनि उत्तिकै सक्रिय छन्। फेसबुक, युट्युब, टिकटक जस्ता प्लेटफर्ममा उनका सामग्रीहरूले राम्रो भ्युअर्स पाउँछन्। उनी आफूलाई “पैसा कमाउन नभ्याए पनि मान्छे कमाएको छु” भन्छन्। विभिन्न जिल्लाबाट आउने अर्गानिक उपहार र विदेशबाट पठाइने सामग्रीहरूलाई आत्मियतापूर्वक ग्रहण गर्छन्।
उनका एक मात्र छोरा डा. सलिल अधिकारी अमेरिकाको फिलाडेल्फियास्थित टेम्पल युनिभर्सिटीमा वैज्ञानिकको रूपमा अनुसन्धानमा संलग्न छन्। वैज्ञानिक छोरा हुँदाहुँदै अमर अधिकारीमा कुनै अहंकार देखिँदैन। उनी सादा जीवन र उच्च विचारका पक्षधर हुन्।
काठमाडौँ क्षेत्रले पनि उनलाई मनभरि स्नेह दिएको छ। जितपुरफेँदीका डा. घनश्याम पुडासैनीले लेखेको जीवनी पुस्तक ‘अमर अधिकारी : व्यक्तित्व र कृतित्व’ को विमोचन मनमैजू सांस्कृतिक केन्द्रमा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा डा. दामोदर पुडासैनी, प्राचार्य मीमकाजी श्रेष्ठ, प्राज्ञ वियोगी बुढाथोकी लगायत काँठक्षेत्रका थुप्रै बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो। त्यति मात्रै होइन, अमेरिकाको ओरेगनमा रहेका भरत बाँसकोटाले उनलाई ‘स्वर्णाभ कलम’ पुरस्कार प्रदान गरेका छन्।
सरकारी सेवा अवधि भरि मालपोतजस्ता संवेदनशील ठाउँमा काम गर्दा पनि उनले एक टुक्रा जग्गा जोड्ने चाहना राखेनन्। सम्पत्तिप्रतिको दृष्टिकोणमा उनी भन्छन्, “पुग्ने सम्पत्ति भए पुग्छ, बढी भयो भने तनाव मात्र आउँछ।”
उनी आफूलाई ‘साहित्यको विद्यार्थी नभए पनि साहित्यकार हुँ’ भन्छन्। प्रा.डा. गोपिन्द्र पौडेलले उनलाई ‘तुफानी लेखक’ भनेका छन् भने डा. घनश्याम पुडासैनीले ‘आसु साहित्यकार’ को उपमा दिएका छन्। अधिकारी चाकरी, पावर र पुरस्कारको खेलमा लाग्ने लेखक होइनन्। उनी स्पष्ट भन्छन्– “साहित्य पनि लिलाम बिक्री भइरहँदा दुःख लाग्छ।”
‘ब्राण्ड एम्बेसडर अफ रोल्पा’ को उपाधि लोकसेवा आयोगका पूर्व सहसचिव अर्जुनमणि दीक्षितले प्रदान गरिसकेका अमर अधिकारी अहिले रोल्पाको साहित्यिक, सांस्कृतिक र सामाजिक पहिचानका जीउँदो प्रतिनिधि मानिन्छन्।














