हुम्लामा हरेक दिन म फेरि नयाँ नयाँ अर्थ पाउँछु। हरेक अभावले मलाई अझ समर्पित बनाइरहेछ। कलिला मुनाहरूको मुस्कानले मलाई जीवनको सार सिकाइरहेछ।
शिक्षकको हृदयबाट लेखिएको एक जीवनभोग
शिक्षक हुनु केवल शैक्षिक उत्तरदायित्व मात्रै होइन। यो त एउटा आत्माको यात्राको कथा हो, जहाँ आफ्नो भोगाइलाई अरूका आशामा रूपान्तरण गरिन्छ। त्यही यात्राको एउटा अध्याय हो, तिनै अध्यायहरूको शृङ्खला हो, हुम्ला।
म जन्मेको भूमि जाजरकोटको बारेकोट गाउँपालिका हो। म सानैदेखि विकटतालाई नजिकबाट बुझेको मान्छे हुँ। जीवनको यात्राको क्रममा अहिले म हुम्लाको चिसो हावामा छु।
पिठ्युमा झोला र मनमा अनेकन संकल्प बोकेर आफ्नै सुन्दर संसारमा सुन्दर यात्रा तय गरिरहेछु। एक शिक्षकको परिचयलाई कर्मको स्वरूप बनाउँदै छु। शिक्षक पेसालाई दयाको पेसा होइन, खुसीको पेसा, हृदयलाई सन्तुष्टि दिने आत्मशान्तिको पेसा ठान्दछु म।
प्रदेश राजधानी सुर्खेतबाट गाडी चढेर दुई दिन लाग्छ हुम्ला आइपुग्न। कर्णाली करिडोरको बाटो कहिले धुलाम्मे हुन्छ, कहिले ढुङ्गामय, कहिँ उकालो, कहिँ पहिरोको भय भयानक नै छ। तर त्यो भन्दा ठूलो यात्रा भित्री यात्रा हो जसमा आशा, धैर्य र बलिदान मिसिएको छ।
हुम्ला केवल भौगोलिक चुनौतीको भूगोल होइन, यो त जीवन बुझ्न सिकाउने एक महत्त्वपूर्ण पाठशाला हो। हुम्लाको अनुहारमा मुस्कान छ, जसले अभावलाई पनि सौन्दर्यमा मिठास रूपमा बदलिदिन्छ।
विद्यालय छ, तर किताब पुराना छन्। यहाँ शिक्षक छन्, तर स्रोत छैन। बच्चाहरू छन्, तर जुत्ता छैनन्। तर इच्छा? त्यो त यत्रतत्र बलिरहेको छ। शिक्षा प्राप्त गर्ने र जीवन बदल्ने, आशामा बालकोपिलाहरूमा!
म बारेकोटको माटोमा हुर्किएको मान्छे हुँ जहाँ मेरो बाल्यकालमा विद्यालयसम्म पुग्नै संघर्ष थियो। र आज म ती पुरानै सपना बोकेर हिउँले ढाकिएका पहाडबीच ज्ञानको दियो बालिरहेको छु। मैले बिर्सेको छैन। मेरो विगत, मेरो संघर्ष अनि जीवनमा भोगेका अनेकौं संघर्षका भोगाइहरू!
यहाँका बालबालिका चिसोमा पनि किताब च्यापेर विद्यालय आउँछन्। शिक्षकहरू मौसमको प्रतिकूलतालाई जितेर जसोतसो उभिन्छन् कक्षा कोठामा।
अनि तिनै आशाका किरणका अभिभावकहरू आफ्नो श्रम पसिना बगाएर शिक्षाको आशा बोकेर भविष्य देखिरहेछन् आफ्ना सन्तानका आँखामा।
शिक्षक हुनु केवल पेशा मात्रै होइन, यो त एक संकल्प हो, एक प्रतिज्ञा हो। कसैको भविष्य उज्यालो बनाउने। म शिक्षक हुँ, पढाउने कर्म मात्र होइन, सपना देख्न पनि सिकाउँछु। उठ्न पनि सिकाउँछु। थकित मनमा पनि उज्यालो बिउ रोप्ने साहस गरिरहेछु म।
हुम्लामा हरेक दिन म फेरि नयाँ नयाँ अर्थ पाउँछु। हरेक अभावले मलाई अझ समर्पित बनाइरहेछ। कलिला मुनाहरूको मुस्कानले मलाई जीवनको सार सिकाइरहेछ।
हो, मेरो नाम ठूलो कदापि नहोला, तर मेरो उद्देश्य निकै ठूलो छ। हिमालको काखमा बसेर शिक्षाको बिउ रोप्ने मेरो उद्देश्य पूर्ति हुँदैछ।
र अन्त्यमा, जब म हेर्छु यी अनुहारहरू, तब लाग्छ म यहीँको लागि जन्मिएको हुँ। हुम्ला मेरो नियति हो, र शिक्षक हुनु मेरो संकल्प हो, सपना हो। यति मात्र होइन, समाजमा शिक्षाको बिउ रोप्ने मेरो सपना हो, मेरो जीवनको उद्देश्य हो र लक्ष्य समेत हो।