शुक्रबार, ४ बैशाख, २०८३

शिक्षा मन्त्रीलाई खुला पत्र

माननीय शिक्षा मन्त्रीज्यू,
सादर नमस्कार।

सर्वप्रथम, राष्ट्रिय स्वतन्त्र पार्टी, सम्पूर्ण मन्त्रिमण्डल तथा देशभरका जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।

म एक शिक्षकको नाताले तपाईंप्रति केही अपेक्षा र भावनाहरू व्यक्त गर्न चाहन्छु। जीवनको सुरुवाती चरणमा म निजामती सेवामा प्रवेश गर्ने लक्ष्य राखेको थिएँ। तर निरन्तर प्रयासका क्रममा शिक्षक सेवा आयोगको अवसर आयो, परीक्षा दिएँ र सफलतापूर्वक सिफारिस भएँ। एक गरिब गाउँको बेरोजगार युवाका लागि शिक्षकमा स्थायी जागिर पाउनु अत्यन्तै ठूलो उपलब्धि र गर्वको विषय थियो।

तर, शिक्षक पेशामा प्रवेश गरेपछि निजामती र शिक्षकबीचको सेवा सुविधामा रहेको विभेद देख्दा मन खिन्न हुन्छ। जुन देशमा शिक्षा र शिक्षा प्रणाली बलियो हुँदैन, त्यो देशले दिगो विकास हासिल गर्न सक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ।

आज तपाईंहरूजस्ता ऊर्जावान युवा नेतृत्वलाई जनताले ठूलो विश्वासका साथ संसदमा पठाएका छन्। यो अवसर ऐतिहासिक पनि हो र चुनौतीपूर्ण पनि। यदि यसपटक पनि देशले अपेक्षित परिवर्तन पाएन भने भविष्य अझ जटिल बन्न सक्छ। त्यसैले, तपाईंहरूलाई चुक्ने कुनै ठाउँ छैन भन्ने हामी जनताको विश्वास छ।

हालसम्म केही सकारात्मक कामहरूको सुरुवात भएको आभास जनताले गरेका छन्, जसले आशा थपेको छ। विशेषगरी, तपाईंजस्तो ऊर्जाशील, आधुनिक सोच र विश्व शिक्षा प्रणाली तथा एआई सम्बन्धी ज्ञान भएका व्यक्ति शिक्षा मन्त्रीको रूपमा पाउँदा हामी शिक्षकहरू निकै उत्साहित छौँ।

हामीलाई विश्वास छ, अब चाँडै नै नयाँ शिक्षा ऐन आउनेछ, जसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, सीपयुक्त र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्नेछ। साथै, उक्त ऐनमार्फत शिक्षकहरूको ग्रेड, तहगत बढुवा तथा अन्य विविध समस्याहरूको दीर्घकालीन समाधान हुनेछ भन्ने अपेक्षा राखेका छौँ।

अन्त्यमा, यसपटक शिक्षा क्षेत्रमा ठोस सुधार होस् भन्ने हार्दिक कामना गर्दछु। यदि अब पनि सुधार हुन सकेन भने, फेरि अवसर नआउन सक्छ भन्ने चिन्ता हामी सबैमा छ।

धन्यवाद!

भवदीय,
जंगलाल रोकाया
सिँजा गाउँपालिका–०६, रुगा, जुम्ला

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार