शुक्रबार, २१ कार्तिक, २०८२

सामानले होइन, व्यक्तिले मनाउने हो चाडबाड, नागरिकले यो कुरा बुझ्न अत्यन्तै आवश्यक!

चाडपर्वलाई पैसासँग दाज्नु हुँदैन। तिहारमा वर्षौंसम्म नभेटेका दाजुभाइ र दिदीबहिनीले भेट्ने मौका पाउँछन्। योभन्दा ठूलो कुरा के होला? तिहार दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई बलियो बनाउने पर्व हो।

अघिल्ला तिहारमा भाइटीका आउनुभन्दा दुई–तीन दिन अगावैदेखि किराना पसल, मिठाई पसल, फलफूल पसल, माछामासु पसल, डेरीमा किनमेल गर्नेको भीड हुन्थ्यो। तर, यस वर्ष कहानी फरक छ। मिठाई पसलमा थरिथरिका मिठाई बनाएर बेच्न राखिएको छ, यद्यपि ग्राहक नै देखिँदैनन्। उता, भाइमसला बेच्ने पसल, माछामासु पसल, फलफूल पसल र डेरी पनि सुनसान नै देखिन्छ। पैसा पनि सिद्धिने र ज्यान पनि सिद्धिने भएपछि दाजुभाइले नै यस्ता सामान नल्याउन भनेका कुराहरू व्यापक सुनिन्छन्।

भाइमसला वर्षौं अगाडि प्याक गरिएको हुन्छ। त्यसमा पैसा हाल्नु व्यर्थै छ। तीतो भएर खानै हुँदैन। त्यसले सद्दे ज्यानलाई पनि बिगारिदिन्छ। मिठाईको कुरा गर्दा महिनौं अगाडि बनाइएको हुन्छ। मिठाई बनाउने ठाउँ पनि निकै फोहोर हुन्छ। यता, मिठाई बनाउने व्यक्ति पनि निकै फोहोरी हुन्छन्। फोहोर लुगा लगाएर चुरोट तान्दै उनीहरूले मिठाई बनाउँछन्। सबै मिठाईमा केमिकलको प्रयोग गरिन्छ, जसले विभिन्न घातक रोग निम्त्याउँछ। मिठाई खानुभन्दा नखाकै राम्रो हुन्छ।

डेरी पसलेले दुई लिटर दूधमा दुई लिटर नै पानी मिसाउँछन् र पाउडर हाल्छन्। त्यो मिसावटयुक्त दूधले मानिसलाई नोक्सानी गर्छ। दूध शरीरका लागि राम्रो खाद्य पदार्थ भएतापनि पछिल्लो समय डेरी पसलेले अत्यधिक पाउडर हाल्न थालेका छन्। दूध खानु पनि रोग निम्त्याउनुजस्तै भएको छ।

मासु पसलेले खसीको भनेर बाख्राको मासु बेच्छन् भने राँगाको भनेर भैंसीको। च्याङ्ग्राको मासुमा राँगा र बाख्राको मासु समेत मिसाइन्छ। फर्ममा मरेका कुखुराहरू पनि काटेर बेचिन्छन्। मासुबाट त झन् धेरै रोग लाग्ने सम्भावना हुन्छ। किनभने, माछामासु पसलहरू एकदमै दुर्गन्धित छन्। अति फोहोर ठाउँमा मासु काटिन्छ। पसलेले चुरोट तान्दै मासु काट्छन्। न्यूनतम हाइजिनको मापदण्ड पनि पालना गरिएको पाइँदैन। महिनौं अगाडि मारेका माछाहरू पनि केमिकल हालेर बेच्नका लागि राखिन्छन्, जसले क्यान्सरको जोखिम बढाउँछ।

घरेलु मदिरामा पनि विभिन्न खान अयोग्य सामान हालेर बनाइन्छ। रासायनिक मल, भैंसीको हड्डी, थोत्रा लुगा, सक्खरलगायतका सामग्री हालेर घरेलु मदिरा बनाउने गरिएको छ। बजारमा नक्कली सिलप्याक मदिराहरू पनि छ्याप्छ्याप्ती छन्। बजारमा सबै डुप्लिकेट र ज्यानलाई खतरा हुने सामान बेच्न राखिएपछि दिदीबहिनी र दाजुभाइ सचेत भएका छन्। बरु, दिदीबहिनीले आफूलाई जे आउँछ, घरमा त्यही बनाएका छन्। यसले पैसा पनि जोगिन्छ, दाजुभाइको ज्यान पनि।

भाइटीका दाजुभाइको सुस्वास्थ्य, समृद्धिका लागि गरिन्छ। तर, बजारमा पाइने सामानले ज्यान नै सकाउने भएपछि कसरी दिने? विगतमा तिहार सामान्य हुन्थ्यो। सामानभन्दा पनि मायाप्रेम झल्काउने चाड हो तिहार। तिहारमा सबैभन्दा महत्वपूर्ण चीज भनेको टीका र माला हो। तर, पछिल्लो समय तिहार पनि बजारीकरण भयो। बजारमा पाइने रंगीबिरंगी सामान किनेर लैजाने अनि तिहार मनाउने। यसले तिहार महँगिँदै गयो। व्यापारीहरूले कमाउनका लागि तिहारलाई व्यापार बनाउँदै लगे। समाज पनि त्यसैअनुरूप अगाडि बढ्यो।

“कसले बढी सामान लैजाने?” भन्ने दौड चल्यो। तिहारलाई पैसा र सामानसँग दाँज्न थालियो। जसका कारण पर्व नै संकटमा पर्न थालेको छ। पैसा नहुनेले तिहार नै मनाउन नसक्ने अवस्था बनिसकेको छ। देखासिकीको आडमा समाज चलेको छ। दिदीबहिनीले ऋण खोजेर सामान किन्छन्। दाजुभाइले ऋण खोजेर दक्षिणा दिन्छन्। सामान ल्याएकोभन्दा बढी पैसा नपाएमा दिदीबहिनी अर्को तिहारदेखि टीका लगाउनै जाँदैनन्। विभिन्न बहाना बनाउँछन्। दाजुभाइ पनि पैसा दिन परेन ठिकै भो भन्छन्। यसले त चाडबाडको अस्तित्व नै मेटिने भो।

चाडपर्वलाई पैसासँग दाज्नु हुँदैन। तिहारमा वर्षौंसम्म नभेटेका दाजुभाइ र दिदीबहिनीले भेट्ने मौका पाउँछन्। योभन्दा ठूलो कुरा के होला? तिहार दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई बलियो बनाउने पर्व हो। तर, व्यापारीहरूले त्यसमा पनि व्यापार गरेर पर्वलाई नै संकटमा पारिदिएका छन्।

तिहारमा दाजुभाइलाई बोलाउने होइन, दिदीबहिनी दाजुभाइको घरमा जाने हो। तर, यो पनि फेरिएको छ। दाजुभाइलाई बोलाएर टीका लगाइदिन थालिएको छ। दिदीबहिनी आफ्नो कर्तव्य निर्वाहमा चुकेका छन्। दिदीबहिनीहरू नजाने, दाजुभाइ नआउने भएपछि तिहारमा दिदीबहिनीको हात रित्तो र दाजुभाइको निधार खाली हुन्छ।

भाइटीकाकै मौका छोपेर ट्याक्सी व्यवसायीले यात्रु ठग्छन्। पाँच सयको बाटोमा दुई हजार असुल्छन्। ट्याक्सी व्यवसायीले त झन् पर्वको बेलामा हिँड्नेलाई मीटरमै लैजानुपर्ने हो। यतिबेला सबैसँग पैसा हुन्छ भन्ने पनि हुँदैन। झन् उनीहरू ठग्नतर्फ लाग्छन्। “यहीँ त हाम्रो कमाउने मौका” भन्दै मनलाग्दी भाडा भन्छन्।

सबै जनाले अब सचेत हुनुपर्छ। पर्वलाई पर्वकै रूपमा मनाऔं। पर्व खुसीयाली साटासाटको मौका हो। त्यसलाई त्यसरी नै मनाऔं। व्यापारीले पनि “चाडबाड कमाउने मौका हो” मात्र भनेर नसोचौं। पैसासँग दाज्न थालियो भने अब कसैले पनि चाडबाड मनाउन सक्दैन। विगतमा जसरी हामीले चाडपर्व मनाउँथ्यौं, त्यसरी नै मनाउन थालौं।

घरमा जे पाकेको छ, त्यही खाएर पनि चाडपर्व मनाउन सकिन्छ। चाडपर्व मनाउनका लागि मेवा मिष्ठान्न भोजन नै चाहिन्छ र? विगतमा त्यही साधारण खाना खाएर पनि चाडबाड मानिएकै थियो। अहिले पो समाज देखासिकीमा गयो। एउटाले जे गर्‍यो, अर्कोलाई पनि त्यही गर्नुपर्ने भयो। “कसले बढी सामान ल्याउँछ?” भनेर मूल्यांकन गर्न थालियो।

एउटा टीका र माला भए पनि भाइटीका मनाउन सकिन्छ। यो कुरा बुझौं। सामानले चाडपर्व जोगाउने होइन, व्यक्तिले हो। व्यक्ति सचेत भए भने चाडपर्व मनाउनका लागि यत्रो खर्च पनि चाहिँदैन। केही दाजुभाइले दिदीबहिनीलाई सामान नल्याऔं भनेर राम्रो कामको थालनी गरेका छन्। अरुले पनि गरून्।

सरकारले पनि चाडबाड सामानको होइन भनेर जनतामा चेतना फैलाउन सकेन। चाडबाडले धनी र गरिब भन्दैन। तर, मान्छेले त्यस्तो भाष्य निर्माण गरे। सरकारले अब जनतालाई त्यो कुरा सिकाउनुपर्छ। नत्र केही वर्षपछि न दिदीबहिनीको हात खाली हुनेछ, न दाजुभाइको निधारमा टीका।

यसप्रति सरकार पनि सचेत रहोस्। पैसा नभए पनि चाडबाड मनाउन सकिन्छ। चाडबाडलाई सन्तुलित रूपमा मनाऔं भनेर सरकारले नागरिकलाई भनोस्। सरकार चाडबाड संरक्षण गर्नतर्फ लागोस्। किनकि, यिनै चाडपर्व हाम्रा पहिचान हुन्। यसलाई संकटमा पार्ने काम नगरौं।

कतिपयको दिदीबहिनी विदेशमा छन् भने कतिपयको दाजुभाइ। सरकारले रोजगारी दिन नसकेकाले नेपालीहरू धमाधम विदेश पलायन भइरहेका छन्। उनीहरूको हात र निधार यस वर्ष पनि खाली नै रहनेछ। सरकारले देशमै रोजगारीको सिर्जना गर्न सकेको भए, कुनै दिदीबहिनी र दाजुभाइले तिहारमा मन खिन्न पार्नुपर्ने थिएन।

यता, सर्वसाधारणले एउटा मात्र सन्तान पाउन थालेका छन्। यसले पनि चाडबाड संकटमा परेको छ। एकल छोराको दिदीबहिनी हुँदैन भने एक छोरीको दाजुभाइ। उनीहरूले कसलाई टीका लगाउने?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार