अहिलेसम्म पनि दलित–दलितको बीचमा विभेद कायमै रहेको छ। जसले गर्दा समग्र दलित समुदाय एक हुन सकेको छैन। रणनीतिक रूपमा हजारौँ वर्षदेखि विभेद गर्ने सामन्ती, मनुवादी र ब्राह्मणवादीहरू माथि एकजुट भइ खनिन पाएको छैन।
दलित समुदायभित्र एउटा कथित दलितलाई अर्को दलितले विभेद गर्छ, यो सत्य हो। दलितभित्र पनि जातिगत रूपमा अहंकार, भेदभाव र ब्राह्मणवादको असर प्रष्ट देखिन्छ। यस्तो अस्वाभाविक सामाजिक व्यवस्था पछाडि कुन रणनीति छ? किन एउटा दलितले अर्को दलितलाई विभेद गर्छ? दलित समुदायभित्र पनि विभिन्न तहहरू कसरी स्थापित भए? यी तहहरू दलित आफैंले स्थापित गरे वा दलितहरूको बीचमा विभेद खडा गर्नमा कुनै बाह्य समुदायको रणनीति छ?
यसका पछाडि पावरको रणनीति छ। मिचेल फूकोले ‘इतिहास भनेको पावरको रिफ्लेक्सन हो’ भनेझैं इतिहासमा पावर हुनेहरूले आफूलाई पायक पर्ने तवरले हरेक चीजको आफ्नै तरिकाले आफूलाई लाभांश हुनेगरी समाजमा स्थापना तथा व्यवस्थापन गरेको पाइन्छ।
दलित समुदाय भित्र पनि एउटा दलितको सामाजिक स्तर अर्को दलितको सामाजिक स्तर भन्दा कसरी सानो र ठूलो? यदि सबै दलितलाई समान वर्ग र समान सामाजिक स्तर दिने हो भने, दलितहरूको एउटा बलियो समूह बन्छ। उनीहरू बीच एकता कायम हुन्छ। जसले गर्दा दलितहरूमाथि विभेद गर्ने र दलितलाई सेवकको स्थानभन्दा माथि उठ्न नदिने मनस्थिति भएकाहरूले सजिलै उनीहरू माथि दमन, विभेद, शोषण र अन्याय गर्न पाउँदैनन्। कमजोरहरू माथि निरन्तर आफ्नो पकड बनाई राख्न चाहनेहरू सफल हुँदैनन्। यसकारण, दलितहरूलाई विभिन्न टुक्रामा विभाजन गरेको पाइन्छ।
एकतामा बल हुन्छ। सम्पूर्ण दलितलाई एउटै तरिकाले समाजमा स्थापित गरियो भने उनीहरू माथि शोषण गर्न असम्भव हुन्छ, उनीहरू माथि विभेद गर्न सहज हुँदैन, उनीहरू माथि दमन, हिंसा, अत्याचार गरेर कसैले सुतिसुति खान सक्दैनन्। किनभने, दलितहरू सबैलाई समान बनाएको खण्डमा उनीहरूको एकीकृत समूहले जातीय विभेद सहन सक्दैन र प्रतिरोध गर्छ। यसरी दलित समुदाय एकत्रित भएर सडकमा आउँदा, के सामन्ती वर्गले ६० लाख दलित सम्मिलित भिडको सामना गर्न सक्छ? यो असम्भव छ। एकतामा बल हुन्छ भन्ने बारे राम्रो अध्ययन, अनुसन्धान गरेका सामन्ती, ब्राह्मणवादी, मनुवादी लगायतले दलित समुदाय कहिल्यै पनि एकत्रित नहोस् भन्ने मनसायका साथ हजारौँ वर्ष पहिले नै दलित समुदायलाई विभिन्न समूह तथा उपसमूहहरूमा टुक्र्याएको पाइन्छ।
दलित समुदायभित्र पनि तह बनाइयो ताकि दलितहरूको बीचमा कहिले पनि समानता र एकता स्थापना नहोस् र एक-अर्काप्रति जहिले ‘Otherness’ को भावना भई रहोस् भन्ने हेतुले, दलित समुदाय भित्र हालको तहगत संरचनालाई हजारौँ वर्ष अघिदेखि नै रणनीतिक रूपमा स्थापना गरी, हिन्दु समाजमा यो विभेदकारी सामाजिक संरचना अहिले पनि यथावत रहेको छ।
यसरी दलित–दलितको बीचमा पनि विभेद स्थापना गरी, त्यसबखत मुख्य ओहोदा र पावरमा रहेका समुदायहरूका विरुद्ध दलितहरूले एकजुट भएर आवाज उठाउने त्यस्तो सशक्त किसिमको वातावरण निर्माण नहोस् भन्ने मनसायले नै हजारौँ वर्ष पहिले मनुवादीहरूले रणनीतिक रूपमा दलित–दलितको बीचमा तहगत संरचना स्थापना गरेकै फलस्वरूप आजको दिनसम्म पनि दलित समुदायमा, दलित–दलितको बीचमा विभेद कायमै रहेको छ।
आजभन्दा ३५०० वर्षअघिको भारत वर्षमा सत्तामा रहेका शोषक वर्गहरूले स्थापना गरेको यो दुरदर्शी र दिगो रणनीति अहिलेसम्म पनि उनीहरूका लागि फाइदाजनक रहेको छ। देशको सामाजिक, आर्थिक, राजनैतिक लगायतका क्षेत्रहरूमा अहिले पनि त्यही मनुवादी वर्गको वर्चस्व रहेको छ। दलित समुदाय आफैंभित्रको सानो ठूलो भन्नेमा अझै अल्झिरहेको छ भने यसको भरपूर फाइदा मनुवादीहरूले उठाइरहेका छन्।
किनकि अहिलेसम्म पनि दलित–दलितको बीचमा विभेद कायमै रहेको छ। जसले गर्दा समग्र दलित समुदाय एक हुन सकेको छैन। रणनीतिक रूपमा हजारौँ वर्षदेखि विभेद गर्ने सामन्ती, मनुवादी र ब्राह्मणवादीहरू माथि एकजुट भइ खनिन पाएको छैन। त्यसैले आजका दलितहरू कुवाभित्रका माछा भ्यागुताजस्तै भएका छन्। एकले अर्कोलाई डरारहेका छन्। एकले अर्कोलाई खाइरहेका छन्।
आजको दिनसम्म पनि समग्र दलित समुदाय एकजुट हुन सकेका छैनन्। र एउटा ठूलो दुःखद कुरा के छ भने, यो विभेदकारी मनुवादी रणनीतिका बारेमा समग्र दलित समुदायका ९० प्रतिशत मानिसहरू अहिले पनि अज्ञात छन्। अब सम्पूर्ण दलितहरूले यस रणनीतिका बारेमा जान्नु जरूरी छ। र, दलित–दलितबीचमा रहेको जातीय असमानता र विभेदलाई अन्य गर्दै एकजुट भई सामन्ती, शोषक, मनुवादी, मुकुन्डो धारी वर्गका विरुद्ध मसाल जलाउन अपरिहार्य छ।
यदि कामीले दमाईलाई, दमाईले सार्कीलाई, सार्कीले बादीलाई, बादीले चमारलाई विभेद गरिराख्यो भने यो विभेदको शृंखला दलितहरूको बीचमा जहिले असमानता र विभेद सिर्जना गरिरहन्छ। र यसलाई स्वयं नयाँ पुस्ताका दलित सन्ततिहरूले पनि ‘यही सत्य हो’ भनेर स्वीकार्नै पर्ने एक किसिमको सामाजिक र मनोवैज्ञानिक धारणा परस्पर विकास भइ नै रहन्छ। किनभने यसरी तहगत रूपमा वर्गीकरण गरेको दलित समुदाय भित्र पनि माथिल्लोदेखि तल्लो तहसम्म क्रमिक रूपमा तहगत लाभांशको बीउ रोपिएको छ।
जसले गर्दा एकले अर्कोलाई सहजै हेप्ने, दबाउने प्रवृत्ति चलनचल्तीमा छ। यसरी एउटै परिवारका दाजुभाइ दिदीबहिनीहरूलाई फरक-फरक संरचनात्मक तहगत अधिकारको जाल लगाई उक्त परिवारको बल, सामर्थ्य वा जरालाई जानिजानी (Intentionally) कमजोर बनाउने मनुवादी रणनीतिक भुमरी भित्र रुमल्लिएका र आजको समयमा एकीकृत भइ हजारौँ वर्षदेखि दलितलाई शोषणको जाँतोमा पिसिराख्ने मनुवादीहरूका विरुद्ध अधिकारको लडाइँ लड्नुको साटो अझै दलितहरू एकआपसमा जातीय विभेद गर्नमा व्यस्त छन्।
यति मात्र होइन, यसका अलावा, मनुवादीहरूले दलितलाई कुनै पनि हालतमा विकसित वा समृद्ध भएको हेर्न चाहँदैनन्। यो मनुवादी मानसिकता नौलो होइन, हजारौँ वर्ष पहिले देखि नै दलितहरूलाई भारत वर्षको सामन्ती समाजमा स्थापित हुन नदिने अर्को रणनीति हो। दलितले दुध, दही, घ्यू खाँदा शारीरिक र मानसिक रूपमा बलियो हुन्छ। दलित बलियो हुनुभनेको मनुवादी कमजोर हुनु हो।
फलस्वरूप दलितहरूलाई दुध, दही, घ्यू खान/बेच्न बन्देज लगाइयो जसको स्पष्ट प्रमाण आजको समाजमा पनि देख्न सकिन्छ जहाँ गैरदलितहरूले दलितलाई दुग्धजन्य पदार्थहरू बेच्ने गरेको पाइँदैन। दलितहरूलाई दुग्धजन्य पदार्थ बेचे, गाई भैंसी सुक्ने वा बिरामी हुने हल्ला सुन्न पाइन्छ तर यथार्थमा, हाम्रो समाजमा दलितहरूलाई गैर दलित समुदायले दुग्धजन्य पदार्थ बेच्न बन्देज लगाउनुमा दलितले दूध, दही, घ्यू खायो भने, दलित शारीरिक र मानसिक रूपमा बलियो हुन्छ, बुद्धि पलाउँछ, तार्किक क्षमताको विकास हुन्छ भन्ने मनुवादीहरूमा हजारौँ वर्षदेखि स्थापित एक डर नै हो। दलितहरू बलिया भए मनुवादीहरू कमजोर हुन्छन् भन्ने डर!
यसैगरी, हाम्रो नेपाली समाजमा दलितहरूले आफ्नै होटल वा पसल राखेर व्यापार गर्न पाउने प्रावधान पनि नेपालको अन्तरिम संविधान २०६३ पश्चात् मात्रै अलिक सम्भव भएको हो। त्यसभन्दा अगाडि दलितहरूले न होटेल संचालक गर्न सक्थे न त पसल! यदि अपवादका रूपमा कहिँ कतै संचालन गर्न पाएका थिए भनेपनि ग्राहक गैरदलित वर्गका नै हुन्थे, सामान्य दलितहरूले होटलको खाना खान सक्ने सामर्थ्य राख्दैनथे, रह्यो कुरा गैरदलितको, र गैरदलितले दलितको होटेल त परै जाओस्, एकआध अपवाद बाहेक कुनै पनि गैरदलितले दलितको नजिकै बसेरपनि खाना खाँदैनथे।
सतही रूपमा यस पछाडिको कारण कुनै देउता रिसाउने वा भगवान रिसाउने भनिएता पनि, यसपछि ठेट मनुवादी रणनीति भनेको दलितहरूलाई भारतवर्षमा आर्थिक रूपमा समृद्धि वा आत्मनिर्भर हुन नदिनु नै हो। दलितहरू आर्थिक रूपमा आत्मनिर्भर वा समृद्ध भए, मनुवादीहरूले स्वाभाविक रूपमा आफ्नो सेवक गुमाउनु पर्ने अवस्था थियो। हलो जोत्न नजान्ने वर्गले आफ्नो सेवक गुमाउनु भनेको आफू हली हुनु हो। इतिहास पल्टाएर हेर्ने हो भने, इतिहासका पानामा कुनै पनि मनुवादीले हलो जोतेको वर्णन गरिएको भेटिदैन।
यो एकाइसौं शताब्दीभन्दा अगाडि अपवाद बाहेकका दलितहरूले विद्यालय पढ्न पाएनन्। पढ्न पाएनन् भन्नुको तात्पर्य शिक्षामा लगानी गर्न सकेनन् भन्ने होइन। शिक्षामा लगानी गर्न सक्ने तत्परता हुँदाहुँदै पनि दलितहरूलाई विद्यालय शिक्षाबाट बन्चित गरियो। उनीहरूको पढ्न पाउने अधिकारलाई पनि मनुवादीहरूले खोसे। एउटा मनुवादीको सेवकलाई विद्वान हुने अवसर दिनु हुँदैन भन्ने विचारधारा पनि मनुवादी रणनीतिको उपज हो। मनुस्मृतिमा लेखिएको “शूद्रले वेदको पाठ गरे, शूद्रको जिब्रो काटिदिनु, शूद्रको मुखमा तातो फलामको डण्डी कोचिदिनु।” भन्ने वाक्यमा, मनुवादीहरूमा दलितहरूले पढेलेखे राजनैतिक रूपमा सशक्त बन्छन् र हाम्रो त्रास, शोषण र विभेदजन्य रणनीति छर्लङ्ग हुन्छ भन्ने डरको बिम्बलाई स्पष्ट रूपमा औंल्याउन सकिन्छ।
दलित विद्वान भए, समग्र मनुवादी वर्गलाई घाटा लाग्ने निश्चित थियो। दलित भनेको सिल्पकलाले भरिपूर्ण वर्ग। यस्तो वर्गले पढ्न पाए विज्ञानको क्षेत्रमा उन्नति हुन्छ भन्ने ज्ञात मनुवादीहरूलाई हजारौँ वर्ष पहिलेको कुरा हो। त्यस समयमा, सिल्पी वा दलित समुदायले विज्ञानको क्षेत्रमा खोज अनुसन्धान गरे, मनुवादीहरूले आविष्कार गरेका दश टाउके रावण र काम केही पनि नगरेका तर शरीरमा ८-१० ओटा हात भएका देवी-देउता वा भनौँ वेदान्तीक आविष्कारहरू माथि प्रश्न गर्न सक्छन् भन्ने डरले दलित समुदायलाई मनुवादीहरूले पढ्ने अधिकारबाट हजारौँ वर्षदेखि बञ्चित गराउँदै आए। वेदको शत्रु विज्ञान भन्नू र मनुवादीको शत्रु दलित भन्नुमा कुनै भिन्नता छैन।
राज्यले दलितहरूका लागि प्रशस्त कृषि गर्नको लागि भूमिको व्यवस्थापन गरेको इतिहास देखिदैन। आजको समाजका मनुवादी, सामन्ती र ब्राह्मणवादी नै हिजोको समाजका भूमिपतिहरू हुन्। सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा आफूलाई हजारौँ वर्षदेखि अग्रपंक्तिमा स्थापित गरेका मनुवादीहरूको समृद्धिको पछाडि समग्र दलित समुदायको श्रम जोडिएको छ। बिना ज्याला, हिजोका मनुवादी भूमिपतिहरूले दलित समुदाय माथि गरेको श्रम शोषणको उपलब्धि भनेको मनुवादी वर्गको आजको समृद्धि हो। आफ्नो खेत नहुनु भनेको आफ्नो उत्पादन नहुनु हो। आफ्नो उत्पादन नहुनु भनेको आयआर्जन नहुनु हो।
आयआर्जन नहुनु भनेको आर्थिक रूपमा कमजोर हुनु हो। र आर्थिक रूपमा कमजोर हुनु भनेको समग्र सामाजिक, राजनैतिक, शैक्षिक, शारीरिक, बौद्धिक तथा संवेगात्मक रूपमा पछि पर्नु हो। र आजको यो एक्काइसौं शताब्दीको समाजमा पनि दलित पहिलेकै अवस्थामा ज्यूँको त्यूँ रहिरहनु केवल मनुवादी रणनीतिको देन हो।
दलित समुदायलाई आत्मनिर्भरताको पथमा स्थापित हुन नदिन हजारौँ वर्ष पहिले नै मनुवादीहरूले नियोजित रूपमा दलितलाई विभेदको खाडलमा हालेर उनीहरू माथि जबरजस्ती सामन्ती हिन्दू वर्ण व्यवस्थामा आधारित जात व्यवस्था लादेको कुरामा दुईमत छैन। उनीहरूले हजारौँ वर्षदेखि अहिलेको एक्काइसौं शताब्दीसम्म पनि त्यहि प्रथा/परम्परा अँगाल्दै आइरहेको कुरा प्रष्ट छ। जसभित्र छुवाछूत प्रथाको विधान तयार गरी शूद्रलाई ब्राह्मणको सेवक बाहेक माथि उठ्न नदिन गुप्त रणनीति स्थापना गरिएको कुरा अकाट्य छ।
छुवाछूत प्रथाले दलितलाई पानी नचल्नेसम्म बनायो। अहिले पनि नेपाली समाज पानी नचल्ने व्यवस्थाबाट टाढा भाग्न सकेको छैन। हाम्रो समाजमा यस्तै सामन्ती व्यवस्था भएकै कारण दलित जहिले विकासको पछारमा रह्यो। दलितले आफूलाई यो समाजमा सामाजिक, आर्थिक तथा राजनैतिक रूपमा स्थापित गर्न असमर्थ रह्यो। यही छुवाछूतले गर्दा हो, दलित हजारौँ वर्षदेखि बञ्चितीकरणको बाटो हिड्न बाध्य भएको र समाजमा सामाजिक, आर्थिक, शैक्षिक तथा राजनैतिक रूपमा केन्द्रमा स्थापित हुन नसकेको।
दलितहरूको हजारौँ वर्षको कष्टकर भोगाइको क्षतिपूर्ति स्वरुप वर्तमान समयमा राज्यले दलित वर्गको पनि सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा पहुँच होस् र जीवनयापन पनि सरल, सहज र सफल होस् भन्ने अभिप्रायका साथ सेवा क्षेत्रमा ९% आरक्षणको व्यवस्था गरिदिएको छ। तर यो व्यवस्था तिनै मनुवादी, सामन्तवादी, ब्राह्मणवादी लगायतका बुद्धिभ्रष्ट जमातलाई भने अझै पचेको छैन।
बेलाबेला मनुवादीहरूले राज्यले दलितवर्गलाई प्रदान गरेको ९% आरक्षण पनि खारेज हुनुपर्छ भन्दै मसाल जलाई रहेका हुन्छन्। केन्द्रमा पनि मनुवादीहरूको वर्चस्व छ। एक मनुवादीले अर्को मनुवादीलाई विद्वानको संज्ञा दिन्छ। मनुवादीहरूमा यस प्रकारको दम्भ हुनु नेपाली समाजमा सामान्य कुरा हो। दलित कुनै पनि हालतमा सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा अग्रसर हुन हुँदैन भन्ने पुरानै मनुवादी चिन्तन अहिले पनि नेपाली समाजमा प्रत्यक्ष अनुभूति गर्न सकिन्छ।
मनुवादीहरूको पुरानो पुस्ताले जसरी दलितहरूलाई सेवकभन्दा माथि उठ्न दिएनन् त्यसैगरी अहिलेको वर्तमान मनुवादीहरूको शिक्षित जमात पनि त्यही पुरानै बाटोमा हिँडाउन अग्रसर छ। आफू र आफ्ना पुस्ताहरूले उपभोग गर्दै आइरहेको वर्गीय संरचनात्मक लाभांश अहिलेको विज्ञान तथा प्रविधिको युगमा बाँचिरहेका मनुवादीहरूले पनि कतै छोड्न चाहँदैनन् र दलितलाई आफूभन्दा माथिल्लो ओहोदामा पुगोस् भन्ने पनि चाहँदैनन्।
आजको दिनसम्म दलित माथि गरिएको विभेद, शोषण, अन्यायलाई स्वीकार्दै आत्मआलोचना गरि अब उपरान्त यस्ता अनैतिक तथा अपराधी क्रियाकलापहरूमा सहभागी नहुने मानसिकता विकास गर्नुको साटो राज्यले दलितहरूका लागि खोलिदिएको हिलाम्मे बाटो (आरक्षण) लाई पनि बन्द गर्नुपर्छ भन्ने माग मनुवादीहरूमा रहिरहेको छ। दलितलाई आरक्षण दिनुहुँदैन भन्नुको प्रष्ट मनसाय भनेको दलितलाई सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा स्थापित हुन दिनु हुँदैन भन्ने हो। विगत २०-३० वर्षदेखि शिक्षाको पहुँचमा आएको दलित समुदायले हजारौँ वर्षदेखि शिक्षाको छत्रछायाँमा हुर्कदै आएका मनुवादीका सन्ततिहरूसँग खुला प्रतिस्पर्धामा उत्रिनु न्यायसंगत नठहरिने भएकाले नै राज्यले दलितहरूको लागि आरक्षण सुनिश्चित गरेको हो।
जसरी समग्र भारतवर्षको समाजमा दलितलाई रणनीतिक रूपमा सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा जहिले पछाडि पारियो, यस्तै किसिमको विभेदपूर्ण शक्तिसंरचना दलित समुदायभित्र दलित–दलितको बीचमा स्थापना गरी दलितहरूको बीचमा गुट बनाउने, दलितको एकता टुक्र्याउने, दलितको सामर्थ्यलाई कमजोर बनाउने, मनुवादीहरूले दलित समुदायको बीचमा सत्ता सामर्थ्यको दुरुपयोग गरी जातीय तहगत प्रणाली लागू गराई दलित–दलितलाई एक आपसमा लडाइ, आफू हजारौँ वर्षदेखि राज्य र सत्ताको मञ्चमा लाभान्वित भइरहेका ब्राह्मणवादी, मनुवादी, सामन्तवादीहरूको यस्तो अज्ञात र गोप्य रणनीतिको बारेमा सम्पूर्ण दलित समुदायलाई ज्ञात हुन जरूरी छ।
यस रणनीतिका मुख्य योजनाकार र निर्देशक नै आजकै ब्राह्मणवादी, मनुवादी र सामन्तवादी विचारधाराका अग्रज हुन्। उनीहरू र उनीहरूका सन्ततिहरूले यो व्यवस्थालाई एकपछि अर्कोलाई हस्तान्तरण गर्दै यस संरचनात्मक वर्गीय व्यवस्थाबाट हजारौँ वर्षदेखि अहिलेसम्म पनि निरन्तर रूपमा लाभ असुलिरहेका छन्। दलित–दलितको बीचमा विभेद स्थापना गर्ने व्यवस्था कुनै दलित समुदायले निर्माण गरेको होइन, बरू यो व्यवस्था झुटको एउटा भ्रमित चस्मा हो।
जुन हाम्रो आँखामा इतिहासदेखि नै ब्राह्मणवादी, मनुवादी तथा सामन्तवादीहरूले पहिराइदिएको छ। अब यस भ्रमित चस्मालाई सबै दलितहरूले आ–आफ्ना आँखाबाट फुकालेर फाल्नुपर्छ। साथै दलित समुदायभित्र छरिएको असमानता र विभेदको बीउलाई पनि सशक्त दलित आन्दोलनको सिलौटामा पिसेर निष्क्रिय पारी समग्र दलित समुदायभित्र अब एकता र समानताको बीउलाई रोप्नुपर्छ।
यदि समग्र दलित समुदायले यो मनुवादी रणनीतिलाई समयमै चिन्न सकेन, जरैदेखि उखाल्न सकेन र अब उपरान्त पनि दलितहरू जातकै कुरामा अल्झिराख्छन् भने, यो दलित समुदायको हिस्सामा विकास, समृद्धि र न्याय असम्भव छ। मनुवादीहरूको जीवनको सार भगवत गीतामै पनि कृष्णले अर्जुनलाई भनेका छन् “जो समयसँगै परिवर्तन हुन सक्दैन, ऊ कहिल्यै पनि सफल हुँदैन।” यसकारण अब दलितहरू भित्रको तहगत गुटलाई एकीकृत गरी समयको मागलाई मध्यनजर गर्दै समाजमा प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरणको स्थापना गरी विभेदमुक्त समाजको निर्माणका लागि एकतामार्फत दलित–दलितबीचको विभेदलाई अन्त्य गर्नुपर्छ। समग्र दलित समुदायमाथि खडा गरिएको यो जातीय विभेदको पहाडलाई सम्भवत विचारले र विचारले नसकिएको खण्डमा, बन्दुक पडकाएर भए पनि चखनाचुर गर्नुपर्छ।
दलित समुदायभित्र निर्माण गरिएको यो जातीय तहगत प्रणालीले गर्दा नै हो समग्र दलित समुदाय हजारौँ वर्षदेखि मनुवादीहरूले रणनीतिक रूपमा स्थापना गरेको विभेदको जालोबाट मुक्त हुन सकेको छैन। आजको समाजभित्र अस्तित्वमा रहेका प्रत्येक दलितले मनुवादीहरूको रणनीतिलाई प्रष्ट रूपमा ज्ञात गरेपछि दलित समुदायभित्र हुने जातीय विभेदलाई जरैदेखि उखाल्ने अभियानमा जोडिनु प्रत्येक दलितको जिम्मेवारी र कर्तव्य हो। दलित समुदायभित्र हुने जातीय विभेदलाई अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय भनेको दलित समुदायभित्र मनुवादीहरूले तहगत रूपमा स्थापना गरिएका वर्गहरू बीच अन्तरजातीय विवाहलाई बढी प्राथमिकता दिनु हो।
जसको फलस्वरूप, भोलीको दिनमा दलित–दलितहरू बीच रहेको असमानता र जातीय रुपमा हुने विभेद तथा ‘म ठूलो तँ सानो’ भन्ने ब्राह्मणवादी अहंकार बिस्तारै हट्न गई एउटा सुमधुर सम्बन्धको विकास हुनुका साथै, समग्र दलित समुदायको एकता र समानताले दलित समुदायलाई झन् बढी बल प्राप्त भई सामन्तवादी, ब्राह्मणवादी र मनुवादीहरूको दलित माथिको शोषण, विभेद तथा अन्यायपूर्ण रणनीतिक योजनामा पूर्ण विराम लगाउदै, प्रत्येक समाजप्रेमी दलित/गैरदलितले आआफ्नो सीप, क्षमता, चेतना र तर्कज्ञानको उपयोग गरी समानता र समतामूलक समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ।
दलितहरू सामाजिक तथा साँस्कृतिक रूपमा सांगठनीक हुँदा उनीहरू माथि विभेद गरेर हजारौँ वर्षदेखि संरचनात्मक वर्गीय लाभांशको उपभोग गरिराखेका वर्गहरू निश्चय नै दलित समुदाय अगाडि कमजोर ठहरिने छन्। एकपटक सोचिहोस्, ६ जनाको परिवारलाई समाजले हेर्ने दृष्टिकोण र ६० लाख जनसंख्या भएको परिवारलाई समाजले हेर्ने दृष्टिकोण कस्तो होला? यसरी कुल ६० लाख जनसंख्या, एकै परिवारमा गाँभिएको त्यो दिन पश्चात्, यो समाजले कुनै पनि दलित माथि विभेद गर्ने सायदै प्रयत्न गर्नेछ।
यसकारण, कथित मनुवादीहरूले निर्माण गरेको यस समाज विरोधी जातीय विभेदको रणनीतिलाई समयमै ज्ञात गरी वर्तमान समाजलाई समृद्धिको दिशामा डोर्याउन इच्छुक/अग्रसर प्रत्येक व्यक्तिले दलित–दलित बीच रहेको जातीय विभेद र दलित–गैरदलित बीचमा स्थापित जातीय विभेदलाई जरैदेखि अन्त्य गर्न, यसको थालनी सर्वप्रथम आफू र आफ्नो परिवारबाट गर्न र गराउन विनम्र अनुरोध गर्दछु। आफू शिक्षित हुनु, परिवार शिक्षित हुनु हो। परिवार शिक्षित हुनु, समाज समृद्ध हुनु हो। समाज समृद्ध हुनु समग्र मुलुकको विकास हुनु हो र यस्तो विकास विभेदरहित समाजको सहकार्यबाट मात्रै सम्भव छ।















