हाम्रो समाजमा शिक्षणलाई धेरै जसोले सजिलो पेशाको रूपमा बुझ्ने परिपाटी अझै जीवित छ। जो–सुकै पनि कक्षामा प्रवेश गरी पाठ पढाउन सक्छन् भन्ने भ्रम अझै कायम छ।
मानव जीवनको सबैभन्दा मूल्यवान पाटो हो अनुभव, र अनुभवको सन्दर्भमा शिक्षकीय जीवन आफैँमा एउटा गहिरो यात्रा हो। मैले यो यात्राको ११ औं वर्ष पार गरें।
यो अवधिमा मैले धेरै सीप र व्यवहार सिकें — केही जानेर सिकें, केही गल्ती गरेर, केही चाहेर केही नचाहेर सिकें। युवा उमेरको जोस, कर्मप्रतिको निष्ठा र शिक्षण सेवाप्रतिको समर्पणले गर्दा मलाई लाग्थ्यो, जे-जस्तो शैक्षिक क्रियाकलाप आउँछ, म त्यसलाई उत्तम ढंगले सम्पन्न गर्छु र गरिरहेको छु पनि।
विद्यालय समयभन्दा बढी समय दिँदै, परिवार र व्यक्तिगत जीवनलाई पछाडि राखेर आफूलाई शिक्षणमा होमिएको ठान्दथेँ। लाग्थ्यो– शिक्षकको धर्म यस्तै हो। तर समयसँगै बुझिन्थ्यो कि केवल प्रयासले मात्र पुग्दैन, प्रयासको दिशा र मूल्यांकन पनि उत्तिकै आवश्यक रहेछ। आज जब पछाडि फर्केर हेर्छु, लाग्छ, केही महत्वपूर्ण पक्षहरू मैले थाहा नपाई छोडेको रहेछु।
हाम्रो समाजमा शिक्षणलाई धेरै जसोले सजिलो पेशाको रूपमा बुझ्ने परिपाटी अझै जीवित छ। जो–सुकै पनि कक्षामा प्रवेश गरी पाठ पढाउन सक्छन् भन्ने भ्रम अझै कायम छ। त्यही कारणले शिक्षकहरूको मेहनत प्रतिको मूल्यांकन कहिल्यै उचित रूपमा हुँदैन।
तर वास्तविकता त्यो भन्दा फरक छ। आजका बालबालिकाहरूको सिकाइ आवश्यकताले शिक्षकलाई सजग, योजनाबद्ध, संवेदनशील र निरन्तर अपडेट भइरहनु पर्ने माग गर्दछ। यसरी हेर्दा, शिक्षण सजिलो छैन, जिम्मेवार र गहिरो रहेको छ।
पेशागत तालिम : आत्मसमीक्षा गर्ने अवसर
साँचिकै आत्ममूल्यांकन र गम्भीर सोचको सुरुवात भयो, जब मलाई मानव संशाधन तथा विकास केन्द्र, सुर्खेतमा आयोजित १५ दिने शिक्षक पेशागत तालिममा सहभागी हुने अवसर मिल्यो।
तालिमका पहिलो दिनहरूमा मैले सोचेँ, “यी त म जान्दछु, गरिरहेको छु।” तर दिन बित्दै जाँदा मलाई बिस्तारै थाहा हुँदै गयो– मैले जान्नु भन्दा बढी छुटाएको रहेछु।
तालिमका क्रममा सहभागी १० जिल्लाका ३५ जना शिक्षकहरूबीच विचार आदानप्रदान भइरहँदा सबैको अनुभव झन्डै उस्तै देखिन्थ्यो। हामीले शिक्षण योजना, एकीकृत पाठ्यक्रम, सन्दर्भ सामग्री, मूल्यांकन विधि र शिक्षक निर्देशिकाको प्रयोग गरेकै छौँ, तर त्यो न निरन्तर थियो, न त गहिरो योजनाबद्ध रूपमा थियो।
हामी कक्षामा प्रवेश गर्छौं, पाठ सुरु गर्छौं, अभ्यास गराउँछौं, अनि बाहिर निस्कन्छौं। यो प्रक्रिया स्वाभाविक लागे पनि पाठ्यक्रमले तोकेको कक्षागत तथा तहगत सक्षमता, सिकाइ उपलब्धि र शिक्षण सिकाइ पद्धतिको पूर्तिमा कति योगदान दिन्छ भन्ने गम्भीर प्रश्न उठ्छ।
उदाहरणका लागि, तालिमको क्रममा जब अंग्रेजी वर्णमाला सम्बन्धी कुरा भयो, तब थाहा भयो — हामीले “A” अक्षरकै उच्चारण समेत सही सिकाएका छैनौं। वर्षौँसम्म बालबालिकालाई गलत अभ्यास गराएको बोध हुँदा एकछिन लाग्यो — के मैले वास्तवमै पढाएको हुँ त?
यस्ता यथार्थहरू सँग साक्षात्कार हुँदै जाँदा मलाई लाग्यो, मैले सिकाएको भन्दा धेरै सिक्न बाँकी रहेछ। शिक्षक हुँ भन्ने अहंकार भन्दा गहिरो सत्य थियो– म अझै सिक्न तयार शिक्षक हुँ भन्ने स्वीकृति।
सुधारको सम्भावना : चुनौती भन्दा ठूलो संकल्प
हामी सामुदायिक विद्यालयका शिक्षकहरू थुप्रै चुनौतीका बीच कार्य गर्छौं– स्रोतसाधनको अभाव, अभिभावकको अपेक्षा, अनुगमनको कमजोरी, र नीतिनिर्माताको प्राथमिकतामा शिक्षाको ओझेल। तर पनि तालिमले मलाई देखायो– यदि इच्छा छ भने सुधार सम्भव छ।
तालिमपछि म विद्यालय फर्किंदा पाठ्यक्रम, शिक्षक निर्देशिका र सन्दर्भ सामग्री स्वयं किनेर लिनेछु। मैले आफैँलाई भनेँ– अब गल्ती दोहोर्याउने छैन। सिकाइ सन्दर्भ, सक्षमता र मूल्यांकन सबै योजना अनुसार अगाडि बढाउँछु।
अब मेरो सोच केवल पाठ पढाउने होइन, शिक्षक भएर बालबालिकाको भविष्य निर्माण गर्ने हो। समाज, अभिभावक, सरकार — जसको जहाँबाट जे अपेक्षा छ, त्यो आफ्नो ठाउँमा छ। तर मेरो दायित्व मैले बुझेँ– कुनै बालबालिका मेरो कमजोरीका कारण शिक्षा पाउनबाट बञ्चित नहोस्। शिक्षकका प्रयास सधैं त देखिँदैनन्, प्रशंसा पनि हुँदैनन्।
बरु आलोचना धेरै सुनिन्छ, खुट्टा तान्ने प्रयास भइरहन्छ। तर राम्रो काम देखाउने होइन, गर्ने विषय हो। प्रोत्साहनको अभावले होस् या व्यवस्थागत बेवास्ताले, म मेरो पेशा, धर्म र उत्तरदायित्वबाट पछि हट्दिन।
अत: शिक्षणको ११ वर्षे यात्रामा मैले थुप्रै उपलब्धि बटुलेँ, तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले आफूलाई चिनेँ। आफूभित्रको कमजोरी स्वीकार्न सक्नु, सुधार गर्न तयार हुनु र परिवर्तन गर्न सच्चा प्रतिबद्धता राख्नु नै सायद एक शिक्षकको सबैभन्दा ठूलो योग्यता हो।
यो तालिम मेरो लागि केवल तालिम थिएन, यो परिवर्तनको सुरुवात थियो। अब हरेक दिन, हरेक कक्षा र हरेक बालबालिका मेरो ज्ञान, समर्पण र निष्ठाको साक्षी हुनेछन्।














