नेपालका अधिकांश नेताहरूले नेवार समुदायबाट श्रीमती बिहे गरेको देखिन्छ। उदाहरणका लागि, वर्तमान प्रधानमन्त्री ओलीलाई नै लिऔं। उनी ब्राह्मण हुन्, तर उनकी श्रीमती नेवार हुन्। झलनाथ खनाल, ईश्वर पोखरेललगायतका श्रीमतीहरू पनि नेवार समुदायका छन्। पुर्खौंदेखि यहाँ बस्दै आएका नेवार समुदाय अहिले भने ठण्डाराम हुँदै गएका छन्।
२०७२ वैशाख १२ गते गएको महाभूकम्प अविस्मरणीय छ। १४ जिल्लामा ठूलो क्षति पुर्याएको भूकम्पले काठमाडौं उपत्यकालाई पनि अछुतो राखेन। भूकम्पका कारण धेरै घरहरू चर्किए, भत्किए। तर, ती घरमा अहिलेसम्म मानिसहरू बसोबास गरिरहेका छन्। काठको टेको लगाएर बल्लतल्ल ठड्याइएका घरहरूमा ज्यानको जोखिम राखेर बस्ने क्रम जारी छ।
काठमाडौं उपत्यकाका घरहरू कस्ता छन्? यो सबैलाई थाहा छ। एक आना जग्गामा धरहराजस्ता घरहरू ठड्याइएका छन्। पाँचदेखि १८ तलासम्मका घरहरू निर्माण भएका छन्, त्यो पनि जोडिएर। भक्तपुरका सडकहरू यस्ता छन् कि ट्याक्सी पनि छिर्दैन। सानो गोरेटो बाटो राखेर घरहरू बनाइएका छन्। आगलागी भयो वा कोही बिरामी पर्यो भने ठूलो समस्या हुन्छ। दमकल कहाँबाट छिराउने, एम्बुलेन्स कसरी ल्याउने?
उपत्यकाको इतिहास केलाउने हो भने, यो नेवार समुदायको बसोबास भएको ठाउँ हो। यहाँ पुर्खौंदेखि नेवार समुदाय बस्दै आएका छन्। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको जन्मथलो तनहुँ हो। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मथलो भोजपुर र डा. रामवरण यादवको धनुषा हो। पाँच पटक प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा हो। पटक-पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको कास्की हो। नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल रौतहट र वरिष्ठ नेता झलनाथ खनाल इलाममा जन्मिएका हुन्। डा. बाबुराम भट्टराई गोरखाका हुन्। जति पनि प्रधानमन्त्री भए, सबै बाहिरी जिल्लाका छन्। प्रधानमन्त्री ओली स्पेन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी काठमाडौंका रैथाने प्रकाशमान सिंहलाई दिइएको छ।
नेपालका अधिकांश नेताहरूले नेवार समुदायबाट श्रीमती बिहे गरेको देखिन्छ। उदाहरणका लागि, वर्तमान प्रधानमन्त्री ओलीलाई नै लिऔं। उनी ब्राह्मण हुन्, तर उनकी श्रीमती नेवार हुन्। झलनाथ खनाल, ईश्वर पोखरेललगायतका श्रीमतीहरू पनि नेवार समुदायका छन्। पुर्खौंदेखि यहाँ बस्दै आएका नेवार समुदाय अहिले भने ठण्डाराम हुँदै गएका छन्।
पाँच दशकअघि दशौं रोपनी जग्गा भएकाहरू अहिले रित्तै छन्। किनभने उनीहरूले सबै जग्गा बेचिसके। अहिले उनीहरूसँग सम्पत्ति नै छैन। जसका कारण उनीहरू नयाँ घर बनाउन असमर्थ छन्। अन्य ठाउँको जग्गा बेचेर खाइसके, भएको त्यही एउटा घर छ। त्यो घर भत्कायो भने अर्को घर बनाउन जग्गा पुग्दैन। भएको एकदेखि तीन आना जग्गा पनि बाटोले खाने भएपछि उनीहरू ज्यानको बाजी राखेर त्यस्ता घरमा बस्न बाध्य छन्। भक्तपुरतिर एउटै घर धेरै भाइमा भागबण्डा गरिएको पाइन्छ। तला-तला बाँडिएको छ। यहाँका रैथानेहरू धेरैजसो विस्थापित भइसकेका छन्।
अहिले उपत्यकामा रैथानेहरू कम र बाहिरी जिल्लाबासीहरू बढी छन्। राजनीति गरेर, व्यापार-व्यवसायबाट कमाएर, सार्वजनिक, सरकारी, गुठी र ऐलानी जग्गा कब्जा गरेर बाहिरी जिल्लाबासीहरूले यहाँ सम्पत्ति जोडेका छन्। उनीहरूले यहाँ घर बनाए पनि गाउँघरको सम्पत्ति बेचेका छैनन्। बिघा-बिघा जमिन भएको बताउँछन् उनीहरू। त्यहाँको घर भाडामा लगाएका छन्, खेतबारी कमाउन दिएका छन्। उनीहरू बिहान-बिहान मर्निङ वाक गर्छन्, तर यहाँका स्थानीयहरू सडकमा साग बेच्न बस्छन्। यो अवस्था कसरी बन्यो?
२०४८ देखि २०७९ सम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले जित हासिल गरिरहेको छ। तर, यो क्षेत्रमा बसोबास गर्ने ८० प्रतिशत बाहिरी जिल्लाका छन्। उनीहरूले जग्गा किनेर घर बनाइसकेका छन्। २० प्रतिशत मात्र रैथाने बाँकी छन्। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले न आफ्ना मतदातालाई यही टिकाउन सके, न त उनीहरूका लागि केही गर्न सके। उनकै सामुन्ने यहाँका स्थानीयहरू सुकुम्बासी बने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको बुवाको घर तराई हो। तर, उनले काठमाडौंमा निर्वाचन जिते। यसले काठमाडौंबाट नेवार समुदायको इतिहास मेटिँदै गएको स्पष्ट हुन्छ। नेपालीहरू धमाधम अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकमा छिरिरहेका छन्। अधिकांशले त्यहाँको नागरिकता लिइसकेका छन्। त्यसलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशका नागरिकलाई फर्काउन थालेका छन्। त्यहाँको नागरिकताको मूल्य ५० लाख डलर तोकिएको छ। आफ्ना देशका नागरिक विस्थापित हुन सक्छन्, अन्य देशका नागरिकले आफ्नो भूभाग कब्जा गर्न सक्छन् भनेरै उनले यो कदम चालेका हुन्।
अष्ट्रेलियामा घर बनाउने नेपालीहरूको संख्या निरन्तर बढ्दो छ। नेपाली नागरिकता त्यागेर उनीहरूले अष्ट्रेलियाको नागरिकता लिइसकेका छन्। बाउ-आमाले भ्रष्टाचार गरेर कमाएको कालो धनलाई अष्ट्रेलियामा सेतो बनाउने क्रम जारी छ। आफूले कमाएर किनेको भन्दै उनीहरूले यहाँको सम्पत्ति धमाधम ओसारिरहेका छन्। तर, सरकारले यो देख्दैन। जसरी नेवार समुदाय काठमाडौं उपत्यकाबाट विस्थापित भए, अन्य मुलुकको नागरिकता लिएका नेपालीहरूको हालत पनि त्यस्तै हुन बेर छैन। किनभने ट्रम्पले त्यो काम गरिसके। अन्य मुलुकले नगर्ला भन्न सकिन्न। विकसित मुलुक पठाउनेमा उपत्यकाबाहेकका जिल्लाबासी छन्।
गाउँमा खाना नपुगेर उनीहरू काठमाडौं छिरे, कमाए, काठमाडौंमा घरजग्गा जोडे, छोराछोरी बोर्डिङ स्कूलमा पढाए, विदेश पठाए। अब त्यहाँका मानिसलाई पनि विस्थापित गरिरहेका छन्। भनिन्छ नि, “जहाँ कंगाल, त्यहाँ चण्डाल।” त्यही अवस्था बन्यो। यहाँका रैथानेले सस्तोमा जग्गा बेचे, अहिले त्यो जग्गा करोडौंमा बिक्छ। आफ्नो सम्पत्ति कौडीको भाउमा बाहिरी जिल्लाबासीलाई सुम्पिए।
प्रकाशमान र नारायणमानलाई प्रश्न छ, “आफ्ना जनतालाई जोगाउनुपर्दैन? उनीहरूलाई रोजगारी र शिक्षा दिनुपर्दैन?” वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव जितेका हुन्। उनको घर पनि तनहुँ नै हो। तनहुँमा हुर्के-बढेका, पढे-लेखेकाले काठमाडौंबाट चुनाव जिते। बाहिरी जिल्लाकाले काठमाडौंबाट चुनाव जितिरहँदा यहाँका रैथानेहरू कहाँ छन्?
काठमाडौं उपत्यकामा अहिले पनि कतिपयले नेवारी भाषा मात्र बोल्छन्। उनीहरूलाई नेपाली बोल्न आउँदैन। तिनले आफ्नो संस्कृति छोडेका छैनन्। विडम्बना, आफ्नो ठाउँ भने छोड्नुपर्ने बाध्यता उनीहरूलाई आइलागेको छ। नेवार समुदाय संस्कृतिमा धनी मानिन्छ। तर, रैथाने नेवारहरू नै विस्थापित बनेका छन्। अनि, संस्कृतिको जगेर्ना कसले गर्ने?
गाउँ, शहर र विदेशमा घरजग्गा भएकाहरूको सम्पत्तिको स्रोत सरकारले खोतल्नुपर्छ। यसको स्रोत पत्ता लगाउनुपर्छ। पहिले-पहिले भनिन्थ्यो, “भक्तपुर, ललितपुर, कान्तिपुर (काठमाडौं) र कीर्तिपुरको जनता उठेपछि मात्र देशमा राजनीतिक परिवर्तन हुन्छ।” यो कुरा पटक-पटक साबित पनि भएको छ। देशमा राजनीतिक परिवर्तन गर्न नेवार समुदायको ठूलो योगदान छ। तर, उनीहरू सत्ताको प्रमुख पदमा कहिल्यै पुग्न सकेनन्, किन?
सत्तामा पनि बाहिरी जिल्लाका, घरजग्गामा पनि बाहिरी जिल्लाका। उनीहरू सधैं हेरेको हेर्यै। तराईमा धेरै पहाडीले जग्गा किनेर घर बनाएका थिए। तराईबासीले पहाडीहरूलाई लखेट्ने आन्दोलन भयो। जसको परिणाम थियो– गौर हत्याकाण्ड। २०६३ चैत ७ गते २७ जनाको हत्या भयो। करोड पर्ने घरजग्गा कतिले लाखमा बेचे, कतिले त्यत्तिकै छोडे। उपत्यकाका नेवार समुदाय पनि बाहिरी जिल्लाबासीलाई लखेट्नुपर्ने मनस्थितिमा पुगेका छन्। सीमा नाघेपछि दुर्घटना हुन्छ। त्यो अवस्था यहाँ पनि नआउला भन्न सकिन्न।















