सोमबार, २ असार, २०८२

म मेरो देशलाई के प्रश्न गरूँ?

मैले इतिहासका पानाहरू पढेँ: वीर गोर्खालीहरू, आन्दोलनमा होमिएका जनताहरू, लोकतन्त्र ल्याउन बलिदान दिने शहीदहरू। उनीहरूको सपना थियो: एक न्यायपूर्ण, समान र सुखी नेपाल। तर आज, त्यो सपना कतै हराइरहेको जस्तो लाग्छ।

देश हाम्रो पहिचान हो, हाम्रो घर हो, हाम्रो अस्तित्वको आधार हो। हामी देशको माटोमा जन्मन्छौँ, हुर्कन्छौँ, सपना देख्छौँ, र भविष्य बनाउँछौँ। देशप्रेम भन्नाले केवल जयजयकार गर्नु मात्र होइन, देशका यथार्थ बुझेर तिनलाई सुधार्ने इच्छा राख्नु पनि हो। यही सोचले कहिलेकाहीँ मनमा प्रश्न उठ्छ: “म मेरो देशलाई के प्रश्न गरूँ?”

के म देशलाई सोधूँ: किन अझै पनि धेरै बालबालिकाले विद्यालयको उज्यालो देख्न पाएका छैनन्? किन गाउँमा बिरामी हुँदा अस्पताल टाढा भएकाले धेरै मानिस उपचार नपाएर मर्न बाध्य छन्? किन इमानदार नागरिकहरू बेरोजगार छन्, र भ्रष्टाचारीहरू सम्मानित जीवन जिउँछन्?

के म मेरो देशलाई सोध्न सक्छु: किन मेरो माटोमा बनेका उत्पादनहरूलाई भन्दा विदेशी सामानलाई प्राथमिकता दिइन्छ? किन भाषणमा मात्र देशप्रेम देखिन्छ, व्यवहारमा होइन? किन युवाहरू परदेशिन बाध्य छन्, र आफ्नै देशमा सम्भावनाहरू हराइरहेका छन्?

मलाई थाहा छ, देश आफैँले यी समस्याहरू सिर्जना गरेको होइन। समस्याहरू हामी नागरिकहरूको उदासीनता, कमजोर नेतृत्व, र अपूर्ण जिम्मेवारीबोधका कारण आएका हुन्। तर म देशलाई प्रश्न गर्छु, किनभने म देशलाई माया गर्छु। म विश्वास गर्छु: प्रश्नबाट उत्तर आउँछ, र उत्तरबाट समाधान।

तर म देशलाई केवल प्रश्न मात्र गर्दिनँ। म उसलाई वाचा पनि गर्न चाहन्छु। म भन्छु: “म पढ्नेछु, इमानदार बन्नेछु, देशका लागि केही गर्नेछु। म तिमीलाई बदल्न चाहन्छु, तर त्यसको सुरुवात म आफैँबाट गर्नेछु।” साथै, जवाफ खोज्ने जिम्मेवारी पनि लिन्छु।

किनभने देशले मबाट पनि केही अपेक्षा राखेको छ। जब सबै नागरिकले यस्तै सोच राख्छन्, देशप्रेमसँगै सुधारको भावना बोक्छन्, त्यस दिन हाम्रो देश साँच्चै समृद्ध हुनेछ।

मेरो देश आज पनि अन्यायमा छ
मेरो देश सुन्दर, शान्त, र सपनाले भरिएको देश हो। हरियाली पहाड, बगिरहेका नदी–नाला, र अनेक जातजाति, भाषा, संस्कृतिले सजिएको हाम्रो नेपाल। तर आज पनि मेरो देश अन्यायले पीडित छ।

मैले इतिहासका पानाहरू पढेँ: वीर गोर्खालीहरू, आन्दोलनमा होमिएका जनताहरू, लोकतन्त्र ल्याउन बलिदान दिने शहीदहरू। उनीहरूको सपना थियो: एक न्यायपूर्ण, समान र सुखी नेपाल। तर आज, त्यो सपना कतै हराइरहेको जस्तो लाग्छ।

आज पनि गरीब किसानले आफूले उत्पादन गरेको अन्नको उचित मूल्य पाउँदैन। मजदुरहरूले पसिना बगाउँछन्, तर अधिकार पाउँदैनन्। के यही हो हाम्रो स्वतन्त्रता? आज पनि साना आवाजहरू ठूला आवाजले दबाइन्छन्। कमजोर वर्गका मानिसहरूले न्याय खोज्न सक्दैनन्।

दलित, महिला, जनजाति, र पिछडिएका समुदाय अझै पनि विभेद र अन्यायको भारी बोकेर हिँड्न बाध्य छन्। विद्यालयमा पढाइन्छ: “सबै नागरिक समान छन्।” तर जब अस्पतालमा धनीलाई तुरुन्त उपचार हुन्छ र गरीबले घण्टौँ पर्खनुपर्छ, तब मलाई लाग्छ, यो वाक्य किताबमा मात्र सीमित छ।

देशमा विकासको कुरा हुन्छ, ठूला पुल र सडकका कुरा हुन्छन्, तर किन त्यो विकास सबैसम्म पुग्दैन? किन गाउँका बाआमाले अझै पनि छोराछोरीलाई विदेश पठाउनु नै भविष्यको आधार ठान्छन्? के यो पनि अन्याय होइन? म देशलाई माया गर्छु, तर देशभित्र भइरहेका यी असमानता, विभेद, र अन्यायले मेरो मुटु दुख्छ। म चाहन्छु, यस्तो नेपाल, जहाँ सबै बालबालिकाले शिक्षा पाउन सकून्, सबै बाआमाले सम्मान पाउन सकून्, र सबै नागरिकले न्याय पाउन सकून्।

अन्त्यमा, म भन्छु,
“मेरो देश महान् छ, तर अझै न्यायको पर्खाइमा छ।
आज पनि अन्यायमा छ, तर भोलि हामीले नयाँ बिहान ल्याउनेछौँ।”
यही विश्वास बोकेर म अगाडि बढ्छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार