दलालहरुले आफन्तलाई कमिसन खुवाएर आफन्तबाटै आफन्तलाई ठग्न लगाएका छन्। मानिसहरूले पनि आफ्नो धर्म वा मानवता बिर्सेर आफ्नालाई फसाइरहेका छन्। यहाँ हरेक क्षेत्रमा कमिसनको चलखेल हुन्छ। रोचक कुरा, कमिसनको लोभमा आफ्नाले नै आफ्नालाई फसाइरहेका छन्।
गाउँदेखि शहरसम्मका मानिसहरू विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका छन्। कोहीका छोराछोरी विदेशमा छन् भने कोहीका आमाबुवा। सन्तान विदेश गएपछि कतिपयले गाउँ छोडेर सदरमुकाम र सदरमुकाम छोडेर शहर पसेका छन्। आमाबुवा विदेशमा भए छोराछोरी शहरमा बसेर पढ्छन्।
तर, अहिले जग्गा दलालीहरूले विदेशमा रहेका मानिसका आफन्तको खोजी थालेका छन्। कहाँबाट कति मानिस विदेश गएका छन्? तिनका नेपालमा रहेका आफन्त कहाँ बस्छन्? उनीहरूले खोजतलास सुरु गरेका छन्। यसो गर्नुको एउटा कारण छ—जग्गा बेचबिखन। पछिल्लो समय घरजग्गा किनबेच ठप्प छ।
जसका कारण यो कारोबारबाट जीविकोपार्जन गर्ने दलालहरू मारमा परेका छन्। त्यसैले उनीहरूले सर्वसाधारणलाई ठग्ने नयाँ उपाय निकालेका छन्। विदेशमा रोजगारी गरिरहेकालाई महँगोमा जग्गा भिडाउने उनीहरूको योजना छ। यसका लागि दलालहरूले तिनका आफन्तको प्रयोग गर्न थालेका छन्।
आफन्तलाई कमिसन खुवाएर डाँडापाखा वा भीरको जग्गासमेत महँगोमा बेचिरहेका छन्। उता, विदेशमा रहेका व्यक्तिले आफन्तको विश्वासमा परेर जग्गा किन्छन्। तर उनलाई के थाहा, आफन्त नै शत्रु बनेका छन्। आफन्तले आफ्नो मात्रै सोच्छन्। यहाँ त आफन्तबाटै मानिसहरू सबैभन्दा बढी ठगिएको पाइन्छ।
विश्वासमा परेर उनीहरूले जीवनभर दुःख गरेर कमाएको पैसा आफन्तकै मिलेमतोमा लुटिएको वा ठगिएको छ। हिजो पनि आफन्तकै विश्वासमा विदेशमा कमाएको रकम सहकारीमा जम्मा गरे। अहिले सहकारी भाग्दा उनीहरूको बिजोग भएको छ। न पैसा छ, न फेरि कमाउन विदेश जान सकिन्छ।
किनभने कोही रोगले थलिएका छन् भने कोहीसँग विदेश जान पैसा छैन। मानिसहरूले विदेशमा पैसाको सुरक्षा हुँदैन भनेर त्यहाँ कमाएको रकम मासिक रूपमा नेपालमा रहेका परिवार वा आफन्तको खातामा जम्मा गरिदिए। आफन्तले त्यो रकम मीटरब्याजमा लगानी गरे। घरजग्गा, गाडी र सेयर किने। अन्य क्षेत्रमा पनि लगानी गरे।
अहिले सबैभन्दा बढी घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरू डुबेका छन्। यसको मूल्य ह्वात्तै घट्दा र किनबेचमा मन्दी आउँदा मानिसहरूको लगानी बालुवामा पानी भएको छ। पाँच वर्षअघि करोडौँमा किनेको घरजग्गाको मूल्य अहिले आधा पनि आउँदैन। जबकि यसको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्छ भन्ने आशामा लगानी गरिएको थियो। आफन्तले सोचविचार नगरी जथाभावी लगानी गरिदिँदा विदेशमा रगतपसिना बगाएर कमाएको पैसा स्वाहा भएको छ।
सरकारले प्रत्येक दस–दस वर्षमा जनगणना गर्छ। हरेक पाँच–पाँच वर्षमा चुनाव हुन्छ। जनगणनामा सरकारका कर्मचारी घरघरमा तथ्याङ्क सङ्कलन गर्न आउँछन्। एउटा घरमा कति मानिस बस्छन्? कसको कति परिवार छ? सबै विवरण सङ्कलन गरिन्छ।
यस्तै, चुनावमा राजनीतिक दलका नेता र उम्मेदवारहरू घरघरमा भोट माग्न आइपुग्छन्। त्यस क्रममा उनीहरूले मतदाता नामावली हेर्छन्। आफ्ना कति समर्थक घटे वा मरे? अहिले कति मतदाता बढे? त्यो हेरिन्छ। तर अहिले न जनगणना छ, न चुनाव। तैपनि, जग्गा दलालीहरू घरघरमा गएर विदेशमा रहेकाहरूको तथ्याङ्क सङ्कलन गरिरहेका छन्।
विदेशमा रहेकाहरूले दुःख र मेहनतले पैसा कमाउँछन्। आफ्नो कमाइ यति छ भनेर उनीहरू घरपरिवार वा आफन्तलाई बताउँछन्। धेरैले त्यहाँ कमाएको रकम आफन्तकै खातामा मासिक रूपमा पठाइदिन्छन्। यसैको फाइदा जग्गा दलालहरूले उठाइरहेका छन्। उदाहरणका लागि, छोराछोरी विदेशमा भएका आमाबुवालाई दलालहरूले फसाउँछन्।
त्यसका लागि चिनजान नभए पनि नजिकिएर चिया–पानी खुवाउने, घुमफिर गराउने अनि डाँडापाखाको जग्गा महँगोमा भिडाउँछन्। कतिपयलाई कमिसन खुवाइन्छ। भान्जा विदेशमा भए मामालाई दलालले कमिसन दिन्छ। कमिसन पाएपछि मामाले आफ्नै भान्जालाई फसाउँछ। नराम्रो जग्गालाई राम्रो भन्दै किनिदिन्छ।
उता, विदेशमा रहेको भान्जाले मामाको विश्वासमा परेर जग्गा किन्छ। उसलाई के थाहा, आफूलाई फसाइयो भनेर। उसले तब थाहा पाउँछ, जब नेपाल आएर त्यो जग्गा हेर्छ। तर, त्यतिबेलासम्म धेरै ढिलो भइसकेको हुन्छ। भनिन्छ, बाघ पनि खानाको लोभमा पर्छ। हामी त मानिस हौँ, लोभलालचमा पर्नु स्वाभाविक हो।
हो, दलालहरूले यसैको फाइदा उठाइरहेका छन्। आफन्तलाई कमिसन खुवाएर आफन्तबाटै आफन्तलाई ठग्न लगाएका छन्। मानिसहरूले पनि आफ्नो धर्म वा मानवता बिर्सेर आफ्नालाई फसाइरहेका छन्। यहाँ हरेक क्षेत्रमा कमिसनको चलखेल हुन्छ। रोचक कुरा, कमिसनको लोभमा आफ्नाले नै आफ्नालाई फसाइरहेका छन्।
बुढापाकाले भन्थे, “शत्रु खोज्न घरबाहिर जानुपर्दैन।” अहिले यो भनाइ व्यवहारमा लागू भएको छ। ठगिन र लुटिन अब घरबाहिर जानुपर्दैन, घरभित्रकै काफी छन्।
आफन्तको विश्वासमा परेर मानिसहरू नराम्ररी ठगिएका छन्। कमिसनको लोभमा दाजुले भाइलाई, बाउले छोराछोरीलाई ठगेका छन्। देशै कमिसनमा चलेको छ। सरकारी कार्यालयमा कमिसनबिना काम हुँदैन। नेताहरूले कमिसनकै लागि देश बेचिसके। व्यापारीहरूले आफ्नो स्वार्थका लागि सर्वसाधारणको ज्यान खतरामा पारेर गुणस्तरहीन सामान बेच्छन्।
कमिसनको लोभमा मानिसहरूले आफ्नालाई त छोडेनन् भने कर्मचारी, नेता र व्यापारीले त्यस्तै गर्नु नौलो भएन। भनिन्छ, “लोभले लाप, लापले विलाप।” कमिसनका लागि आफ्नालाई ठगेकाहरूले भविष्यमा यसको परिणाम भोग्नुपर्नेछ। किनभने आफन्त मर्दा–पर्दा काम लाग्छ। दलाल त सुखमा साथ दिन्छ, दुःखमा भाग्छ।
त्यसैले, अब आफ्नालाई ठग्न बन्द गरौँ। मानिसहरू पनि छिट्टै विश्वासमा नपरौँ। खासगरी विदेशमा रहेका दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरू। विदेशमा रगतपसिना बगाएर कमाएको पैसा आफन्तको विश्वासमा घरजग्गामा लगानी नगरौँ। लगानी गर्नै परे, आफैँ स्वदेश आएर राम्ररी हेरेर गरौँ।















