मंगलवार, १३ माघ, २०८२

बा पृथ्वी जतिको ओझिलो शब्द

हाम्रो समाजमा पुरुष भन्ने बित्तिकै कठोर कहिले नरुने सबै काम गर्न सक्ने सोचिन्छ। हाम्रो समाजमा बालाई खुलेर आफ्नो मनको पीडा पोख्ने ठाउँ छैन। खलेर रुन समेत छुट छैन।

साँच्चै बा नभएको भए? साँच्चै बाटोमा आउने हरेक परिस्थितिमा अगाडि लागेर बाले नै बाटो नदेखाएको भए? के हामी अहिले जे छौं त्यही हुन्थौं होला? बा बिना हाम्रो अस्तित्व छ र? लाग्छ आफैमा एक भारी शब्द हो। जसको ओज सिंगो पृथ्वी सरि छ।

बा शब्द मात्रै होइन संसार हो। बालाई बा, बुबा, ड्याड, बाबा जेसुकै भनियोस् त्यो व्यक्ति र उसको बुझाइमा भर पर्छ। बालाई जसले जुन तरिकाले सम्बोधन गरोस उसको कुरा हो। आज हामी बाबारे नै विमर्श गरौं।

मलाई याद छ सानो हुँदा बाले मलाई काठमा कालो मसी लगाएर बनाएको कालो पेटिमा चकले क, ख लेख्न र चिन्न सिकाएको। त्यति बेलासम्म मैले केही कुरा बोल्न भन्न जानेको थिए तर शब्द चिनेको थिइनँ।

अनौपचारिक रुपमा मेरो शिक्षा त आमाको गर्वमा हुँदैबाटै भएको हो। तर औपचारिक रूपामा त्यस दिन बाले लेख्न सिकाएपछि सुरु भएको थियो। त्यस दिने देखि मेरो पहिलो गुरु आमा र दोस्रो गुरु बा हुनुभयो।

म  बासँग अति डर मान्थेँ। अहिले लाग्छ डर हुन आवश्यक पनि छ। यसले मान्छेलाई अनुशासन र सही मार्गमा डोर्‍याउन मद्दत गर्छ। तर कहिले काहीँ खुलेर बोल्न नसक्दा कति गर्न पर्ने कुरा भन्न पर्ने कुरा नहुने रहेछन्।

हुन त बासँग नभन्न सकेको कुरा हाम्री आमालाई भन्छौं। त्यसैले हाम्रो कुरा बासँग सजिलै पुग्छ। मैले स्नातक गर्ने बेलासम्म धेरै सम्मानित गुरु, प्राज्ञिक व्यक्तित्व भेटेँ। देश विदेशका कुरा सुनेँ। अझ पनि सिक्दै जाने जाने प्रक्रियामा छु। यो सिकाइको जग बा हुनुहुन्छ।

हामी २/४ कक्षा धेरै पढेर थोरै सूचना सङ्कलन गरेर बा आमाको अगाडि घमण्ड, रिस, पोखेको, सम्मान नगरेको, गाली र तुच्छ शब्दको प्रयोग गरेको सुनिन्छ। के बा आमाले यसको लागि हामीलाई जीवन प्रदान गर्नुभएको हो?

के साँच्चै हामी बा आमा भन्दा शिक्षित छौं? शैक्षिक स्तरको मापन के हो? के किताबी ज्ञान मात्र शिक्षा हो? किताब नपढेको मान्छेलाई अशिक्षित भन्न मिल्छ? यसको जबाफ तपाई हामी सबैसँग छ। यदी यो प्रश्न जवाफ दिने बेला हामीले लबा सम्झिएनौं भने हामी फिक्का सावित हुन्छौं।

शिक्षित व्यक्तिको सबै भन्दा ठूलो गुण भनेको झुकाब हो। त्यो झुकाव सत्य प्रति हो। बा सत्य हुन। पक्कै पनि हामी उच्च शिक्षा वा कुनै विषयमा पोख्त हुँदा धेरै फाइदा हुन्छ। परिवार, समाज, देश परिवर्तनमा ठुलो योगदान हुन्छ। तर यति हुँदै गर्दा पनि यो ज्ञान बा र आमाको ज्ञानसँग तुलना गर्न सकिँदैन।

बाले किताब थोरै पढनु भएकोहोला। नपढेको पनि हुनुहुन्छ होला। तर उहाँसँग अपार अनुभवजन्य ज्ञान छ। जुन हामीसँग आजका दिनसम्म छैन।

सबै भन्दा ठुलो कुरा उहाँसँग अनुभव छ। जस्तै जीवन चलाउने, परिस्थितिसँग जुध्ने, समस्याको समाधान गर्न सक्ने, परिवार चलाउने, मिलाउने आदि। अझ भनौं उहाँसँग धैर्य गर्न सक्ने क्षमता छ। त्यहि भएर हो हामीले स्नातक गरि सकेर काम खोज्दा जागिर दिन चाहनेले अनुभव खोजिरहेको हुन्छ। यसकारण अनुभव जीवनको ठुलो ज्ञान हो।

हामी सानो हुँदा बाले किन काखमा नराखी काँधमा हालेको, भन्ने कथा सुनेका छौं। त्यसैले बालाई संसार भनिएको हो। जबजब ज्ञानले बा आमा भन्दा ठुलो बन्न र भन्न खोजिन्छ तब तब ज्ञान तह पातलिँदै जान्छ। त्यसलाई ज्ञान नभनी आहंकारको थुप्रो भनिन्छ। जो फोहरको ढंगुर जत्तिकै असम्मानित हुन्छ।

हरेक परिस्थितिको सामना गर्दै आफ्नो परिवारको लागि सकि नसकी काम गर्ने बालाई, अझ हामी उसैलाई गाली गर्छौं। हामीले केही नराम्रो भनीरहँदा ठुलो स्वरले कराउँदा बाको मन दुख्छ होला। तर बा हाँसेर टारिदिनु हुन्छ। त्यसैले बा विशाल हृदय पनि हो।

हामी बा कठोर हुनुहुन्छ भन्छौं। तर के हामीले कहिले उहाँको अवस्था र परिस्थिति बुझ्न खोजेका छौं? बेला बेला उहाँको मन पनि दुख्छ होला। रुन मन लाग्छ होला। साँच्चै बा रुन मन लागेको बेला कहाँ गएर रुनु हुन्छ होला? घर परिवारको अगाडि रोएको कहिल्यै देखिँदैन। परिवारको अगाडि रुँदा परिवारलाई गाह्रो होला भन्ने चिन्ता लाग्छ, सायद। कसैले देख्यो भने पुरुष भएर पनि कति रोएको होला भन्ने लाग्दो हो, सायद।

हाम्रो समाजमा पुरुष भन्ने बित्तिकै कठोर कहिले नरुने सबै काम गर्न सक्ने सोचिन्छ। हाम्रो समाजमा बालाई खुलेर आफ्नो मनको पीडा पोख्ने ठाउँ छैन। खलेर रुन समेत छुट छैन।

बा हरेक समस्यासँग जुध्नु हुन्छ। त्यसको समाधान गर्न प्रयास गर्दा आफ्ना रहर, इच्छा आकाश सबैलाई मार्नु हुन्छ। यो सबै परिवारको लागि गर्नु भएको कुरामा दुईमत छैन।

लाग्छ सबैका बा भगवानका रुप हुन। भगवान आफै आउन नपाएर बालाई जिम्मेवारी सुम्पिएको हो। दु:ख पर्दा थकाई मार्ने एउटा शितल चौतारी हो, बाको रुप।

सन्तानलाई काँधमा राख्दा राख्दा, आफू थिचिएको पत्तै नपाउने बा सन्तानकै लागि भनेर भोक, प्यास सबै बिर्सने, सन्तान रुँदा सँगै रोइदिने बा रुँदा को रुन्छ होला? सन्तानलाई दुख्छ, बालाई दुख्छ तर बालाई दुख्दा कसलाई दुख्छ होला? हामी सानो केही पर्दा थाकिहाल्छौं। तर बाले म थाकेको छु, अब सक्दिनँ भनेको कहिल्यै सुनिँदैन। त्यसैला बा सागर जति फराकिलो शब्द हो।

बाले सन्तानका लागि गरेको काम र उठाएको जिम्मेवारीको प्रतिउत्तर छैन। जब जब हामीमा घमण्ड आउँछ तब तब बाले आफ्नो भूमिका अझ फराकिलो पारेको देखिन्छ। अनि बाकै कारण हाम्रो घमण्ड एक निमेसमै फुटिजाने पानीको फोकाजस्तो हुन्छ।

बाले सिकाएको संस्कार, ज्ञान र देखाएको बाटोलाई सधै आत्मसात गर्दै हिँडेमा कहिले पनि नोक्सान वेहोर्नु पर्दैन। हामीले गरेका कति कुराहरु बालाई बुझाउन सकिँदैन होला। यी नै हाम्रा कमजोरी हुन। कमजोरी सुधारिदिने पनि बा नै हुन। बाको मुख हेर्ने दिन अर्थात् कुशै ओैंसीको हार्दिक मंगलमय शुभकामना।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार