मंगलवार, १३ आश्विन, २०८३

स्वर्गीय पितालाई पत्र

प्रिय बाबा,

आरामै छु, त्यही चाहन्छु, जहाँ हुनुहुन्छ, शान्तिमा हुनुहोस्।

धेरै वर्षपछि आज तपाईंलाई पत्र लेख्न बसेको छु। थाहा छ, यो पत्र तपाईंको हातसम्म पुग्ने छैन। डाकियाले तपाईंको ठेगाना खोजेर यो चिठी पुर्‍याउन सक्ने छैन। तर मनभित्र वर्षौंदेखि थुप्रिएका कुरा पोख्नुपर्दा कहिलेकाहीँ कागज नै सबैभन्दा नजिकको साथी हुँदो रहेछ। त्यसैले आज मन खोलेर तपाईंलाई लेख्दैछु, बाबा।

अक्षर कोर्दै गर्दा आँखाबाट झरेका आँसुले कतिपय शब्द भिजाइदिएका छन्। सायद यी अक्षरभन्दा बढी मेरा आँसुहरूले नै तपाईंलाई मेरो मनको कुरा सुनाउनेछन्।

बाबा, यहाँको संसार अलि अनौठो छ। प्रगति गर्नेको डाहा गर्ने र दुर्गति गर्नेको रमिता हेर्नेहरू पनि भेटिन्छन्। त्यसैले आफ्नो प्रगति सुनाउने ठाउँ पनि पाइनँ, आफ्नो पीडा सुनाउने साहस पनि गरिनँ। मनका कुरा मनमै राखेर हिँड्न सिकेँ। बाहिर मुस्कुराएँ, भित्र कतिपटक भक्कानिएँ। आफ्नो पीडा देखाउने समाजभन्दा पीडा लुकाएर हिँड्नुपर्ने समाजको बोझ झन् ठूलो हुँदो रहेछ।

तपाईंले मलाई छोडेर गएको पनि धेरै वर्ष भइसकेछ। २०५३ साल पुस १४ गते तपाईंले संसार छोड्दा म केवल १९ वर्षको थिएँ, बालापन र युवावस्थाको सीमामा उभिएको एउटा अपरिपक्व छोरो। त्यसबेला जीवनको अर्थ के हो, जिम्मेवारी के हो र अभिभावक हुनुको पीडा कति गहिरो हुन्छ भन्ने मलाई कहाँ थाहा थियो र!

त्यतिबेला मेरो संसार सानो थियो। खाऊँ, लाऊँ, रमाऊँ, मोज गरूँ भन्ने उमेर थियो। मैले केही मागेँ भने बाबुआमाले पूरा गर्नैपर्छ भन्ने बालसुलभ हठ थियो। ‘जन्माउन जान्नेले दिन पनि जान्नुपर्छ’ भन्ने अपरिपक्व सोच बोकेर हिँड्थेँ। आज सम्झँदा आफ्नै त्यो सोच सम्झेर लज्जित हुन्छु।

जबसम्म आमा–बाबु साथमा हुन्छन्, उनीहरूका कुरा कहिलेकाहीँ काँचाजस्ता लाग्दा रहेछन्। जब उनीहरू हुँदैनन्, उनीहरूको शून्यताले मुटु खाँदो रहेछ।

तपाईंको काँधमा चढेर हुर्किएँ, बाबा। तर तपाईंलाई मेरो काँधमा राखेर हिँड्ने बेला भने भाग्यले मलाई तपाईंको साथ दिएन। यही मेरो जीवनको सबैभन्दा ठूलो अधुरोपन र पछुतो बनेको छ।

बाल्यकाल सम्झँदा तपाईंको अनुहार, आवाज, बोली र सल्लाह सबै आँखाअगाडि आउँछन्। समयले धेरै कुरा बिर्साउँछ भन्छन्, तर बाबाको सम्झना भने समयसँगै मेटिँदो रहेनछ। बरु समय बित्दै जाँदा तपाईंको अभाव अझ गहिरो हुँदै गयो।

पहिले तपाईं हुनुहुन्थ्यो, त्यसैले तपाईंको महत्त्वको गहिराइ बुझिनँ। आज तपाईं हुनुहुन्न, त्यसैले तपाईंले छोडेर जानुभएको खाली ठाउँ कति ठूलो रहेछ भन्ने बल्ल बुझ्दैछु।

तपाईंको काँधमा परिवारको जिम्मेवारी मात्र थिएन। आर्थिक, सामाजिक, धार्मिक र शैक्षिक अनेकौँ बोझ थिए। सात भाइको लाबालस्करमा जन्मिएको जेठो छोरा भएर हुर्किनुभयो। समयक्रममा भाइहरू गुमाउँदै सन्तानका नाममा एक्लो अभिभावकजस्तो बन्नुभयो। घरको बोझ एकातिर थियो, सन्तानको भविष्यको अभिभारा अर्कोतिर। त्यसमाथि दमको व्यथाले थिचेको बूढो शरीर। दुई पाइला हिँड्नसमेत कठिन हुने अवस्था।

चार छोरी र दुई छोरासहितको परिवार, दुई श्रीमतीको जिम्मेवारी, पाखुरीको बल र छातीको भरमा गुजारा चलाउने संघर्ष, तपाईंको जीवन सामान्य थिएन। तर त्यही शरीरले दिनभरि ज्यालादारी काम गर्‍यो। आफ्ना पीडा लुकाएर सन्तानको भविष्यको सपना देख्नुभयो। त्यसलाई तपाईंले आफ्नो कर्तव्य ठान्नुभयो।

सानो छँदा बुझिएन। अहिले बुझ्दैछु। तर तपाईं मेरो छेउमा हुनुहुन्न।

आज तपाईंको प्रशंसा गर्न खोज्दा सुन्ने कान छैन। खुसीका परिणाम सुनाउन खोज्दा तपाईंको मुस्कान छैन। त्यसैले कहिलेकाहीँ मनमा एउटा कठोर सत्य आउँछ—चित्त दुखेपछि मागिएको माफी र श्वास नहुँदाखेरि गरिएको प्रशंसा दुवै ढिलो हुँदारहेछन्।

समय बित्यो। उमेर बढ्यो। जीवनले तपाईंका ती सामान्य लाग्ने व्यवहारभित्र लुकेका असाधारण पाठहरू बुझाउँदै गयो। तपाईंले कहिल्यै ठूलो दर्शनको भाषा प्रयोग गर्नुभएन। तर तपाईंको इमानदारी, मेहनत, अनुशासन, आत्मसम्मान र अरूको दुःख बुझ्ने संस्कार नै मेरा लागि जीवनका ठूला दर्शन बने।

तपाईं भन्नुहुन्थ्यो, ‘जीउन सिक, भोलि आफूमाथि आइपर्ला, त्यस बेला थाहा पाउँलास्।’

त्यो बेला तपाईंका कुरा सामान्य लाग्थे। आज जीवनका कठिन मोडमा आइपुग्दा ती शब्दहरू बारम्बार कानमा गुञ्जिन्छन्।

जीवनमा धेरै कठिनाइ आए। आर्थिक समस्या आए। सामाजिक व्यवहारले मन दुखायो। आफ्नै मानिसबाट अपेक्षित साथ पाइएन। कतिपय रात निद्राभन्दा चिन्ता ठूलो भयो। बाहिर हाँसेँ, भित्र रोएँ। भक्कानो फुटे पनि आँसु देखाइनँ। किनकि समाजमा आफ्नो पीडा देखायो भने त्यसैलाई कमजोरी ठान्नेहरू पनि धेरै छन्।

तर त्यस्ता क्षणमा तपाईंको छायाँ सम्झिन्छु। तपाईंको दुःखका प्रतिफलबाट मेरो सुखको गोरेटो तयार भएको रहेछ। तपाईं आफैँ हलो जोत्नुभयो, अरूका खेतमा काम गर्नुभयो, दिनभरि ज्यालादारी गर्नुभयो। तर मेरो हातमा कलम होस् भनेर विद्यालयको बाटो देखाउनुभयो। आफूले अक्षरको संसार धेरै देख्न नपाए पनि सन्तानको जीवन अक्षरले उज्यालो होस् भन्ने सपना देख्नुभयो।

मेरा प्रगतिका प्रत्येक पाइलामा तपाईंको पसिना मिसिएको छ, बाबा।

म कक्षा १० को परीक्षामा उत्तीर्ण भएको खबर लिएर घर फर्किंदाको त्यो क्षण आज पनि सम्झन्छु। त्यसबेला तपाईं दमको व्यथाले ओटालीमा थलिनुभएको थियो। मेरो सफलताको खबर सुन्दा तपाईंका आँखामा आएका खुसीका आँसु र भावविह्वलता आज पनि मेरो स्मृतिमा ताजै छन्। त्यो दृश्यले मलाई थप अघि बढ्ने ऊर्जा दिएको थियो।

तपाईंको जीवनको अन्तिम आकांक्षा नै मेरो प्रगतिको एउटा इँटा बन्यो। तपाईंले जीवनको अन्तिम क्षणसम्म छोराले एसएलसी पास गरेको देख्न नपाएको पीडा बोकेर बाँच्नुभयो। आमालाई भन्नुभएको त्यो अर्ती, ‘छोरालाई पढाउनु, उच्च शिक्षा हासिल गराउनु’ आज मेरो जीवनको अठोट र ऊर्जा बनेको छ।

तपाईंले संसार छोडेकै वर्ष मैले एसएलसी पास गरेँ। त्यसपछि पढाइलाई निरन्तरता दिएँ। उच्च शिक्षा हासिल गरेँ। आज मास्टर डिग्रीसम्मको शिक्षा पूरा गरेको छु। सरकारी सेवाको सम्मानित पेशा शिक्षकका रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु। कान्छी बहिनीलाई पनि यही पेशामा समेट्न सकेको छु। अन्य भाइबहिनीहरू पनि आ–आफ्नो ठाउँमा स्थापित छन्।

यो तपाईंको दूरदर्शिता थियो, बाबा। हामी त्यस सपनाका पात्र मात्र भयौँ। तर यी कुरा तपाईंलाई कसरी सुनाऊँ? फोन गर्न खोज्छु, नम्बर छैन। भेट्न खोज्छु, तपाईंको घरको त्यो पुरानो ढोका छैन। दुःख पोख्न खोज्छु, तपाईंको काँध छैन। खुसी बाँड्न खोज्छु, तपाईंको त्यो मुस्कान छैन।

मान्छे रहँदा उसको मूल्य बुझ्न नसक्नु र मूल्य बुझ्दा उसलाई भेट्न नसक्नु सायद संसारकै ठूलो विडम्बना हो। आज बाबा विनाको मेरो तड्पाइ पानीबिनाको माछाजस्तै भएको छ।

तपाईंले आफ्ना चाहना कति दबाउनुभयो होला? हाम्रा लागि कति रात निद्राविहीन बन्नुभयो होला? हामी बिरामी हुँदा जाग्राम बसेका ती रातहरूको हिसाब कहिल्यै भएन। हातका हत्केलामा परेका ठेला कहिल्यै बाँडिएनन्। तपाईंका पीडा हलुका बनाउन हामीले सकेनौँ। तपाईंले आफ्नो दुःखको मूल्यमा हाम्रो भविष्य किन्नुभयो, तर त्यो त्यागको पैँचो हामीले कहिल्यै तिर्न सकेनौँ।

आज बुझ्दैछु, बाबु बन्नु भनेको केवल घरको अभिभावक बन्नु होइन रहेछ। आफ्ना सपना सन्तानको भविष्यका लागि त्याग्नु पनि रहेछ।

आमा र बाबा परिवारका दुई आधार रहेछन्। बाबाले परिवारका लागि दिनदिनै आफूलाई खर्चिरहेका हुँदा रहेछन् भने आमा परिवारको सुखका लागि आफू बाँचेकी हुन्छिन्। आमाले ‘मेरो बच्चाले आज के खाला?’ भनेर सोचिरहेकी हुन्छिन् भने बाबाले ‘मेरो छोराछोरीले जिन्दगीभरि के खालान्?’ भनेर सोचिरहेका हुँदा रहेछन्।

यो मेरो कथा मात्र होइन। सम्पूर्ण सन्तानका लागि आमा–बाबाको भूमिका र माया बुझाउने सत्य हो। दुई अक्षरका ‘आमा’ र दुई अक्षरका ‘बाबा’ चार अक्षरको यो भगवान् शब्दभित्र संसारको सम्पूर्ण माया अटेको रहेछ। आज ती चार अक्षरमध्ये एउटा अक्षर हराउँदा जीवनको एउटा ठूलो वाक्य नै अपूरो भएको महसुस हुन्छ।

बाबा, तपाईंको शेषपछि मेरी दुई आमाले मेरो जीवन सम्हाल्नुभयो। जन्म दिने आमाको माया त स्वाभाविक रूपमा अमूल्य थियो नै, मेरो पालनपोषण गर्ने आमाले निर्वाह गर्नुभएको भूमिका सम्झँदा आज पनि हृदय कृतज्ञताले भरिन्छ।

समाजले ‘सौतेनी आमा’ भन्ने शब्दलाई कतिपय नकारात्मक अर्थमा प्रयोग गर्छ। तर मेरो जीवनकी ती ममतामयी आमाले त्यो धारणाभन्दा बिल्कुल फरक भएर आफ्नो कर्तव्य, धैर्य र ममताको परिचय दिनुभयो। उहाँको माया र त्यागलाई ‘सौतेनी’ भन्ने एउटा शब्दले परिभाषित गर्न सकिँदैन।

तपाईंको निधनको करिब बाह्र वर्षपछि उहाँले पनि संसार छोड्नुभयो। त्यस दिन म फेरि एकपटक टुहुरो भएँ।

जन्म दिने आमाले पनि सन्तानको प्रगति देख्दै, आफन्त र समाजको माया बोकेर जीवन बिताउनुभयो। अन्ततः २०८२ साल मंसिरमा उहाँले पनि संसारबाट बिदा लिनुभयो।

आज दुवै आमा र बाबासहित तीनै जना अभिभावकको अभाव महसुस गर्दा बुझ्छु, सम्पत्ति गुमाउनु ठूलो क्षति होइन रहेछ, आमा–बाबाको न्यानो छाया गुमाउनु सबैभन्दा ठूलो गरिबी रहेछ।

धनी त त्यो मान्छे रहेछ, जसका आमा बाबु काखमा छन्। तपाईंहरूबाट मैले सम्पत्ति कति पाएँ, त्यो आज महत्त्वपूर्ण छैन। मैले पाएको सबैभन्दा ठूलो सम्पत्ति तपाईंहरूले छोडेर जानुभएको संस्कार हो, इमानदारी, मेहनत, आत्मसम्मान, करुणा र असल मानिस बन्ने शिक्षा।

बाबा, तपाईंको एउटा सपना पूरा गर्ने प्रयास गरेको छु। तपाईंले मलाई जहाँसम्म पुर्‍याउनुभयो, त्यही परिधिभित्र रहेर मैले भाइबहिनी, आफ्ना छोराछोरी र सन्ततीलाई उच्च शिक्षा दिलाउने र परेको बेला काँध थाप्ने प्रयास गरेको छु। तपाईंको सपना अब मेरो व्यक्तिगत सपना मात्र रहेन, मेरो जिम्मेवारी बनेको छ।

सन्तानको शिर कतै झुक्न नदिने र बाबुआमाले छोडेर गएको इज्जतमा दाग नलाग्ने गरी जीवन जिउने मेरो अठोट छ। तपाईंको नाम जोडेर कसैले ‘तिम्रो बुबा त्यागी, सीपालु, इमानदार र असल मानिस थिए’ भन्दा मेरो आत्मबल बढ्छ। लाग्छ, तपाईंको छायाको शीतलता अझै पाइरहेको छु।

कहिलेकाहीँ लाग्छ, तपाईं आकाशको कुनै कुनाबाट मेरो प्रगति हेरिरहनुभएको छ। सबै सपना पूरा नगरे पनि म सही बाटोमा हिँड्दा मुस्कुराइरहनुभएको होला। म गलत बाटोमा जाँदा चिन्तित हुनुहुन्छ होला। म सफल हुँदा अरूभन्दा बढी खुसी हुनुहुन्छ होला।

बाबा, तपाईंले छोडेर गएको छोरो अझै तपाईंले सिकाएको बाटोमा हिँड्ने प्रयास गरिरहेको छ। आफ्ना सन्ततीलाई पनि त्यही गोरेटोमा हिँड्न सिकाउने प्रयत्नमा छ।

म पूर्ण छैन। मबाट गल्ती हुन सक्छ। कहिलेकाहीँ कमजोर हुन्छु। असफल हुँदा निराश पनि हुन्छु। तर तपाईंको सम्झनाले फेरि उठाउँछ। तपाईंका शब्दहरूले मलाई जागा बनाउँछन्। ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ जीवनका कठिनाइसँग जुध्दै अघि बढिरहेको छु।

मेरा उपलब्धिहरू संसारका लागि ठूलो नहोलान्। तर मेरो हरेक उपलब्धिको पछाडि तपाईंको पसिना छ। मैले एक पाइला अघि बढ्दा त्यसमा तपाईंको आशीर्वाद देख्छु। मैले कसैको आँसु पुछ्दा त्यस हातमा तपाईंको संस्कार भेट्छु। मैले अन्यायको विरोध गर्दा त्यसमा तपाईंले दिएको आत्मसम्मान सम्झन्छु।

अचम्मको छ संसार पनि, बाबा। मान्छेलाई हेलाहोचो गर्ने र ढुंगालाई पूजा गर्ने समाजमा पनि मैले मानवताको अर्थ तपाईंहरूबाटै सिकेँ।

आफूभन्दा सन्तान राम्रो भएको देख्न चाहनेहरू संसारमा थोरै हुन्छन्। बाबुआमा र गुरु त्यस्ता व्यक्ति हुन्, जो सन्तान र शिष्य आफूभन्दा माथि पुगेको देखेर पनि खुसी हुन्छन्। तपाईं त्यही महान् अभिभावक हुनुहुन्थ्यो, सन्तानको सपना, लक्ष्य र भविष्यको खुसीका लागि जीवनभर चिन्तित रहने।

निःस्वार्थ माया संसारमा कतै खोज्नुपर्दा आमा र बाबाको मायामा त्यसको सबैभन्दा गहिरो रूप भेटिँदो रहेछ। बाबाको पाउ छुने सन्तान संस्कारविहीन हुँदैन, आमाको पाउ छुने सन्तान मायाविहीन हुँदैन र गुरुको पाउ छुने विद्यार्थी ज्ञानविहीन हुँदैन, यो कुरा मैले समयसँगै बुझेँ।

तपाईंको पालाको समाज र आजको समाज पनि कति छिटो बदलिएको छ, बाबा! तपाईंहरूको समयमा घर साना थिए, परिवार ठूला थिए। आज घरहरू ठूला भएका छन्, तर कतिपय मनहरू साँघुरा भएका छन्। प्रविधिले मानिसलाई नजिक ल्याएको छ, तर कहिलेकाहीँ सम्बन्धलाई टाढा पनि बनाएको छ।

यी कुरा मनमा खेलिरहन्छन्। सानो छँदा अरूका कथा सुनेर निदाउँथेँ। आज आफ्नै कथा सम्झेर रातभर निद्रा नलाग्ने अवस्था आउँछ। खुसीले एकपटक हँसाउँछ, दुःखले कैयौँपटक रुवाउँछ। तर यही आँसुहरूले जीवनको मूल्य पनि सिकाएका छन्।

बाबा, म तपाईंको कथा र आफ्ना भोगाइका व्यथा मात्र लेखिरहेको छैन। म त आफूलाई यस्तै भोगाइ बोकेर हिँड्ने हजारौँ सन्तानको प्रतिनिधि पात्रजस्तो ठान्छु। मेरो कथाजस्तै कथा बोकेर हिँड्ने हजारौँ सन्तान होलान्। भूमिका एउटै हुन सक्छ, सन्दर्भ उस्तै बन्न सक्छ, पीडा उस्तै हुन सक्छ, केवल पात्र र प्रस्तुति फरक हुन सक्छ।

कसैले ‘बाबा’ भनेर बोलाउँदा फर्केर ‘हजुर’ भन्ने मान्छे हुनु कति ठूलो सम्पत्ति रहेछ! कसैले ‘आमा’ भनेर आफ्नो दुःख पोख्न पाउनु कति ठूलो सौभाग्य रहेछ! आफूसँग हुँदा सामान्य लाग्ने सम्बन्धहरू हराएपछि मात्रै तिनको वास्तविक मूल्य बुझिँदो रहेछ।

आज म मनलाई दरिलो बनाउन चाहन्छु। म तपाईंलाई केवल सम्झेर रोइरहने छैन। तपाईंको सम्झनालाई आफ्नो कर्ममा उतार्नेछु। तपाईंले देखाएको इमानदारीको बाटो छोड्ने छैन। कमजोरलाई सकेको सहयोग गर्नेछु। दुःखीलाई साथ दिनेछु। आफ्ना सन्तान र आगामी पुस्तालाई शिक्षा, संस्कार र आत्मसम्मानको बाटो देखाउनेछु।

विगतका दुःखका क्षणलाई शक्ति र आगामी परिस्थितिलाई सामर्थ्यमा बदल्ने प्रयास गर्नेछु। तपाईंको सन्तानप्रतिको सुन्दर सपनालाई सार्थक तुल्याउन अनवरत रहनेछु। सायद यही नै स्वर्गीय बाबुआमालाई सन्तानले दिन सक्ने साँचो श्रद्धाञ्जली हो।

बाबा, पत्र धेरै लामो भयो। तर मनका कुरा अझै सकिएका छैनन्। केही कुरा शब्दमा लेख्न सकिँदैन। केही पीडा आँसुले मात्र बोल्छ। केही सम्झना हृदयले मात्र बुझ्छ।

अन्त्यमा यति मात्र भन्न चाहन्छु, तपाईं मेरो आँखाअगाडि हुनुहुन्न, तर मेरो हरेक असल कर्ममा हुनुहुन्छ। तपाईं मेरो छेउमा हुनुहुन्न, तर मेरो हरेक संघर्षमा हुनुहुन्छ।

तपाईंको हात मेरो टाउकोमा छैन, तर तपाईंको आशीर्वादको अनुभूति अझै मेरो शिरमा छ। यदि आज तपाईं र आमा मेरो अगाडि हुनुहुन्थ्यो भने, सायद आमाले टाढैबाट मलाई हेरेर भन्नुहुन्थ्यो, ‘बाबु, धेरै दुःख नगर, आफ्नो स्वास्थ्यको पनि ख्याल गर।’

अनि तपाईं भन्नुहुन्थ्यो होला, ‘जिन्दगीमा जति माथि पुगे पनि आफ्नो जरा नभुल्नु।’ यी दुई वाक्य मेरा लागि कुनै ठूलो पुस्तकभन्दा कम हुने थिएनन्। आज पनि छैनन्।

जब म सफल हुन्छु, तपाईंलाई सम्झन्छु। जब असफल हुन्छु, तपाईंलाई सम्झन्छु। बाबा, तपाईं मेरो जीवनको एउटा अध्याय मात्र होइन, मेरो जीवनको त्यो आधार हुनुहुन्छ, जसलाई म कहिल्यै मेट्न सक्दिनँ।

जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस्, बाबा। कुनै दिन मेरो जीवनको यात्रा पनि समाप्त हुनेछ। त्यस दिन फेरि भेट हुने कुनै संसार रहेछ भने म सबैभन्दा पहिले तपाईंलाई खोज्नेछु। तपाईंको अगाडि उभिएर यति मात्र भन्नेछु, ‘बाबा, एकपटक मलाई अँगालो हाल्नुहोस्।’

अनि तपाईंको न्यानो काखमा टाँसिएर बस्न चाहन्छु। किनकि त्यसैमा मेरो सिंग संसार छबाबा, श्रद्धासुमन। तपाईंको सम्झनामा, तपाईंको त्यागको ऋणी छोरा,

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार