सोमबार, २ चैत्र, २०८२

चुनाव गराउन मेहेनत गर्ने राष्ट्रपति पौडेल र खापुङ, वाहवाही बटुल्ने प्रधानमन्त्री कार्की !

कानूनअनुसार प्रधानमन्त्री र मन्त्रीहरुले राष्ट्रपतिसमक्ष शपथ खाएको ३५ दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको कुर्सी सम्हालेको ६ महिना पूरा भएको छ । तर, उनले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेकी छैनन् । उनी नेतृत्वको क्याबिनेटका एउटै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

सम्पत्ति विवरण सार्वजनिक नगरिँदै चार जना मन्त्री राजीनामा दिएर चुनावमा होमि एभने तीन जनाले जितेका पनि छन् । यद्यपि, उनीहरुको मन्त्री बन्नुअघि कति सम्पत्ति थियो र बनेपछि कति पुग्यो ? जनता अन्जान छन् । प्रधानमन्त्री कार्की सेवा निवृत्त कर्मचारी हुन् । उनले पेन्सनसँगै प्रधानमन्त्रीको तलबभत्ता, सेवासुविधा पनि बुझिरहेकी छन् । उनको काठमाडौंको टोखामा घर छ ।

तीन–चार आना सरकारी जग्गा कब्जा गरेर प्रधानमन्त्री कार्कीले घर बनाएको आरोप छ । यिनी न्यायाधीश वा प्रधानन्यायाधीश हुँदा धेरै सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, राजपरिवारलगायतको जग्गा व्यक्तिलाई दिने फैसला सुनाएकी थिइन् । कहिले कांग्रेस त कहिले एमाले हुँदै उनी पदमा पुगेकी हुन् । प्रधानन्यायाधीश हुँदा भ्रष्टाचार गरेको भन्दै सदनमा उनीमाथि महाअभियोगको प्रस्तावसमेत आएको थियो ।

सेवा निवृत्त भएपछि कार्कीले नागरिक अभियान थालिन् । अभियानको नाममा कांग्रेस, एमालेलाई गालीगलौज गर्ने, भ्रष्टाचार र सुशासनका ठूल्ठुल्ला कुरा गर्ने र जनता उचाल्ने काम उनी गर्थिन् । कार्की एनजिओहरुमा आबद्ध रहेको पनि आरोप छ । यसैक्रममा भद्रौ २० गते तत्कालिन कांग्रेस र एमाले गठबन्धनमा बनेको केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

फेसबुक, युट्युबसहितका सञ्जाल बन्द गरिएको थियो । यी सञ्जाल बन्द गर्नुको एउटै कारण थियो– हाम्रो संविधान, ऐन, कानून मानेर करको दायरामा आउनु । बन्द गरिएका धेरैजसो सञ्जाल अमेरिकी प्लेटफर्म हुन् । सञ्जाल बन्दविरुद्ध भदौ २२ गते जेनजी पुस्ताले आन्दोलन घोषणा गरे । त्यसमा काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साह (बालेन) र नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समर्थन जनाए ।

बालेनले २८ वर्ष मुनिका सबैलाई आन्दोलनमा आउन आह्वान गरे त रविले विज्ञप्ति नै निकालेर समर्थन जनाएका थिए । भदौ २३ गते बिहानै माइतीघर मण्डलामा जेनजीहरु भेला भए । उनीहरुले शान्तिपूर्ण आन्दोलन गछौं भनेका थिए तर पछि संघीय संसद् भवन तोडफोड गर्न थालियो । सो दिन संसद् चलिरहेको थियो । कानूनमा स्पष्ट भनिएको छ–आन्दोलनको नाममा सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउन खोजिएमा प्रहरीले घुँडामुनि गोली चलाउन सक्छ ।

यही कानूनी अधिकारको प्रयोग गर्दै प्रहरीले जेनजीमाथि गोली चलायो । दुर्भाग्य, भीडका कारण कसैको टाउको त कसैको छातीमा लाग्यो । प्रहरीको गोलीबाट पहिलो दिन १९ जनाले ज्यान गुमाए । त्यसपछि देश शोकमा डुब्यो । तर, यसको फाइदा रवि, बालेन र सुशीला कार्कीजस्ताले उठाए । बालेनले आन्दोलनकारी र आफ्ना सन्तान गुमाएका परिवारलाई उक्साउनेगरी फेसबुकमा अराजक स्टाटस लेखे ।

रविले आफ्ना सांसदहरुले राजीनामा दिन लगाए । उता, कार्की सडकमै आइन् र एमाले–कांग्रेसलाई सरकारमा बस्न अधिकार नभएको बताइन् । भदौ २४ गते बिहानैदेखि सडकमा भीड जम्मा भयो । आन्दोलनकारीको एउटै माग थियो, प्रधानमन्त्री ओलीको राजीनामा । अन्ततः दिउँसो १२ बजे ओलीले पदबाट राजीनामा दिए । योसँगै आन्दोलनकारीको माग पूरा भयो तर आन्दोलन झनै अराजक बन्यो ।

आन्दोलनको नाममा सिंहदरबारसहित सरकारी तथा निजी सम्पत्ति जलाइयो । आन्दोलनकै मौका छोपेर रवि जेलबाट भागे । उनी भागेपछि देशभरका अदालत छानीछानी जलाइयो । भदौ २४ गते साँझ देश खरानी बनेपछि बालेनले फेसबुकमा फेरि स्टाटस लेख्दै जेनजीलाई रोकिन र संसद् विघटन गरेर मात्र सरकार गठन गर्न भने । जेनजी बालेनाई प्रधानमन्त्री बनाउन चाहन्थे । तर, बालेनको दाउ अर्कै थियो ।

उनको योजना रहेछ–अहिले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने पछि चुनावपछि आफू बन्ने । त्यही भयो । भदौ २७ गते कार्की प्रधानमन्त्रीमा नियुक्त भइन् । र, लगत्तै प्रतिनिधि सभा विघटन गरिन् । फागुन २१ गते चुनाव घोषणा गरिन् । उता, आन्दोलनको बेला भागेका रवि फेरि जेल फर्किए । तैपनि न्याय पाउने आशामा । रविको आशा पनि पूरा भयो ।

प्रधानमन्त्रीको दबाबमा अदालतले उनलाई छोडिदियो । रवि जेलबाट निस्किनेबित्तिकै बालेनसँग सहमति गरे । चुनावमा सँगै होमिने र प्रधानमन्त्री बालेनलाई बनाउने । बालेन मेयरबाट राजीनामा दिएर चुनावमा होमिए । र, जितेपनि । अब उनी प्रधानमन्त्री बन्ने तय भएको छ । अब भन्ने जेनजी आन्दोलनको योजनाकार को रहेछन् ? कलेज ड्रेसमा विद्यार्थीलाई सडकमा बोलाउने, उक्साउने अनि आरोप चाँहि ओलीमाथि मात्र थुपार्ने ? विदेशी प्लेटफर्मलाई आफ्नो देशको कानून मान्न लगाउनु, कर तिर्न लगाउनु अपराध हो ? ७६ जनाको लाशमाथि राजनीति गर्दै बालेन र रवि सत्तामा पुग्ने भएका त छन् तर यो सत्ता धेरै समय टिक्ने छैन ।

पाप अवश्य धुरीबाट कराउने नै छ । तब अहिलेजसरी जनताले सत्तामा पुर्याएका छन्, त्यसरी नै निकाल्ने पनि छन् । बालेन, रवि र सुदनले आफ्नो स्वार्थका निम्ति देश खरानी बनाएको प्रष्ट छ । नभए जेनजीहरु किन चुनावमा होमिएनन् । जेनजीको नक्कली खोल ओढेर उनीहरु सत्तामा पुगेका छन् । तर, झुट कहिल्यै धेरैसमय टिक्दैन भन्ने कुरा याद रहोस् ।

जनता मासेर सत्तामा पुग्नेहरु टिक्नसक्दैनन् भन्ने कुरा त इतिहास पनि देखाउँछ नि । त्यसैले, बालेन र रविको खुशी पनि धेरै समयसम्म रहने छैन । यता, चुनाव गराएको भन्दै प्रधानमन्त्री कार्कीको वाहवाही भइरहेको छ । तर, चुनाव उनको कारण भएको होइन, राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालिन प्रहरी महानिरीक्षक चन्द्रकुँवेर खापुङका कारण भएको हो । कार्कीले ओलीलाई पक्रन निर्देशन दिँदा आईजीपी खापुङले रक्तको भल बग्छ भन्दै राजीनामा दिन्छु नै भने ।

कार्कीले प्रधानमन्त्री बनेपछि महिनौंसम्म राजनीतिक दलसँग संवाद गरिनन् । राष्ट्रपति पौडेलले शीतल निवासमा सर्वदलीय बैठक बोलाएपछि कार्की र दलहरुबीच संवाद भएको थियो । त्यसपछि बल्ल चुनाव भएको हो । अनि चुनाव गराउने कार्की कि राष्ट्रपति पौडेल र खापुङ ? जनताले अब बुझ्नुपर्छ । यदि चुनाव नभएको भए अर्को गृहयुद्ध हुने अवश्य थियो । तर, भ्रम नपलाऔं । आफ्नै सम्पत्ति विवरण सार्वजनिक नगर्ने कार्कीले चुनाव गराइन् भन्नु हास्यास्पद छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार